Logo
|
Saturday 20th April 2024
Logo

epaper

किन बढ्यो चिकित्सक र बीरामीबीच दूरी ?



नेपालजस्तो कम विकसित मुलुकमा सही उपचार, सही समयमा प्राप्त गर्न नसक्नु अर्को सामाजिक रोग हो । यति हुँदाहुँदै पनि हाम्रो मुलुकमा स्वास्थ्य उपचारका कुरामा धेरै नै विकास भइसकेको छ र जनताको क्रयशक्तिमा वृद्धि भएको छ भने चिकित्सा प्रविधिको बिकासले पनि नेपालमा ठूलो फड्को मारेको छ तर केही सानातिना सामाजिक बिसङ्गति हुर्कंदै आएको छ, जसको चपेटामा बिरामी तथा चिकित्सक र अन्य स्वास्थ्यकर्मी बारबार पर्दै आएका छन् । 

बिरामीले सही उपचार पाउने अधिकार हुँदाहुँदै पनि सही उपचार पाउन सकिराखेका छैनन् भने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले सही उपचार गर्दागर्दै पनि जस पाउन नसकिरहेको अवस्था यहाँ मौलाएको छ । बिरामी पक्ष र स्वास्थ्यकर्मीहरू बीच असझदारी तथा दूरी बढ्दै गइराखेको छ । यसमा दुवै पक्ष उत्तिकै जिम्मेवार देखिन्छन् । यस्तो समस्याको दिगो तथा सही समाधान हुनु जरुरी छ र कानून मात्रै बनाएर पुग्दैन, जनचेतनाको स्तर बढाएर दुवै पक्षबीच सौहार्दपूर्ण वातावरण बनाउनु अति जरुरी देखिन्छ । 

कुनै पनि बिरामीले अस्पताल गएर डाक्टरसँग सर–सल्लाह गर्दा वा गरिसकेपछि उसले केही निश्चित कुराको पालना गरेमा रोगबाट चाँडै छुट्कारा पाउन सकिन्छ । रोग निको पार्नका लागि खाली डाक्टरको मात्रै मेहनत र प्रयासले पुग्दैन । दुर्घटना हुनुमा कुनै एक पक्षको मात्रै दोष हुँदैन । दोष कसैको धेरै या कसैको थोरै मात्र हुने हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरू त उपचारको केवल एउटा पाटो मात्रै हुन्, रोगको निदान तथा उपचार गर्ने प्रक्रियाको अर्को ठूलो पाटो बिरामी पक्ष र हाम्रो समाज हुन्छ । रोगको सही निदान तथा उपचारका लागि बिरामी पक्षको स्वयंको मेहनत, प्रयास, सुझबुझ, धैर्यता आदिले ठूलो भूमिका खेलेको हुन्छ । सचेत बिरामीले रोगको निदान र उपचारको कुरा राम्ररी बुझ्दछ र शीघ्र स्वास्थ्यलाभ गर्दछ तर यसमा बिरामीको व्यक्तिगत प्रयासले मात्र पनि कहिलेकाहीँ पुग्दैन, त्यसमा उसको सामाजिक, आर्थिक, शैक्षिक र भौगोलिक कुराहरूले पनि त्यतिकै महìवपूर्ण भूमिका खेलेको हुनसक्छ । सफल उपाचारका लागि दुवै पक्षले मनन् गर्नुपर्ने केही महìवपूर्ण कुराहरू निम्नानुसार छन् ः

अभिवादन

अभिवादनको महìव र भूमिका कस्तो र कत्तिको हुन्छ भन्ने कुरा स्पष्ट छ । अभिवादनबाट नै दुई व्यक्तिबीचको सम्बन्ध स्थापित हुन्छ र अभिवादन गर्ने फरक तरिका र शैली हुनसक्छ । जुन शैली हाम्रो समाजमा सुहाउँदैन त्यस्तो शैली नअपनाएको राम्रो । चिकित्सकलाई हाई, हेल्लो, या हेल्लो डाक्टर भनेर अभिवादन गर्नु भन्दा नमस्कार गरेकै राम्रो होला र जवाफमा चिकित्सकले नमस्कार फर्काएर बस्नुस भनेमा बिमारीको उपचारको राम्रो शुरुवात त्यहीँबाट हुन्छ । त्यस्तै चिकित्सकलाई सम्बोधन गर्दा डाक्टर मात्रै भनेर सम्बोधन गर्नुभन्दा डाक्टरसाहेब, सर या म्याडम भनी सम्बोधन गरे उत्तम होला । त्यस्तै चिकित्सकले पनि दाजु, भाइ, दिदी, बहिनी, आमा, बुबा आदि भनी बिरामीलाई सम्बोधन गर्दा दुवैबीचको सम्बन्धमा घनिष्टता आउँछ । शहरका मानिसले भन्दा गाउँघरतिरका मानिसले चिकित्सकलाई राम्ररी सम्बोधन र अभिवादन गरेको देखिन्छ ।

डाक्टरलाई राम्ररी आफ्नो समस्या बताउने

बिरामीले आफ्नो शारीरिक समस्या डाक्टरलाई स्पष्ट भन्नु जरुरी हुन्छ । सबै समस्या एकैचोटि नभनेर क्रमैसँग भन्दै जानुपर्छ । साना–साना समस्या सवै डाक्टरलाई भन्नु जरुरी हुँदैन । कुनै पनि रोगले शरीरको टाउकोदेखि खुट्टासम्म असर पार्दैन । २÷४ वटा स्पष्ट लक्षणको आधारमा डाक्टरले बिरामीको शारीरिक समस्या अनुमान लगाउन सक्छ । त्यसैले सम्पूर्ण ठूला–साना समस्यालाई एकैचोटि मिसाएर भन्यो भने डाक्टर र तपाईं स्वयं अलमल्लमा पर्ने सम्भावना रहन्छ । त्यसो भएमा चाहिनेभन्दा नचाहिने उपचार बढी हुनसक्छ । 

रोगको प्रकृति बुझ्ने

डाक्टरसँग परामर्श गरिसकेपछि रोगको प्रकृति बुझ्न सक्नुपर्दछ । जस्तै यो चाँडै निको हुने रोग हो कि दीर्घ रोग हो अथवा निको नहुने रोग हो बुझ्न जरुरी हुन्छ । रोगको प्रकृति बुझेपछि त्यहीअनुरुप शारीरिक र मानसिकरूपमा आपूm बलियो हुनु जरुरी हुन्छ ।

शहनशीलता र धैर्यता

रोगको प्रकृति हेरिकन रोगसँग लड्ने, शहनशील हुने र धैर्य गर्ने क्षमताको विकास गर्नु जरुरी हुन्छ । कुनै रोग अचानक र छिटो खराबी बढ्दै जाने खालका हुन्छन् । त्यस्ता रोग प्रायः डाक्टरले पत्ता लगाएर बिरामीलाई अवगत गराएको हुन्छ । खराबी झन् बढ्दै गएको खण्डमा तुरुन्तै इमरजेन्सीमा गएर उपचार गराउनुपर्ने हुन्छ तर त्यसप्रकारको खराबी नभएमा डाक्टरको सल्लाह बमोजिम सहनशील हुने र धैर्यता गर्ने कोसिस गर्नुपर्दछ ।

स्वयं अध्ययन

स्वयं अध्ययन गर्नु राम्रो बानी हो र आफ्नोे समस्याका बारेमा पर्याप्त जानकारी राख्नु बुद्धिमानी हुन्छ । यसले बिरामीको उपचारमा पक्कै फाइदा पुग्दछ तर चाहिनेभन्दा बढी अध्ययन गरेमा त्यसले गलत बाटो समाउन पनि सक्छ । चाहिनेभन्दा बढी जानकारीले शङ्का र उपशङ्का गराई स्वयं बिरामी र डाक्टरलाई रनभुल्लमा पार्न सक्छ ।
 

डाक्टरलाई चिनौँ

बिरामीले डाक्टरलाई चिन्नु पनि एक महìवपूर्ण कुरा हो । डाक्टरलाई चिन्नु भन्नुको अर्थ व्यक्तिगत चिनजान या परिचय नभई डाक्टर कत्तिको अनुभवी र ज्ञानी छ बुझ्नु हो । पहिलो भेटमै डाक्टरको शीप, ज्ञान र अनुभवको बारेमा जानकारी राख्न सकेमा आपूm फेरि त्यही डाक्टर कहाँ आउने कि नआउने निर्णय गर्न सजिलो हुन्छ । टाई र सुट लगाउँदैमा डाक्टर राम्रो हुँदैन । बाक्लो चस्मा लगाएको र कपाल फुलेको भन्दैमा पनि हुँदैन । जुन डाक्टरले तपाईंको समस्या राम्ररी सुन्दछ, त्यही अनुसारको उपचार गर्दछ र भविष्यमा फेरि समस्या आएमा के गर्ने, त्यसको सही योजना बनाउँछ त्यही डाक्टर तपाईंका लागि उपयुक्त हुन्छ ।

त्यस्तै तपाईंको डाक्टर कुन–कुन अस्पतालमा काम गर्दछ थाहा पाउनु पनि राम्रै हुन्छ । जो डाक्टर एउटै अस्पतालमा बिहानदेखि बेलुकासम्म काम गर्छ, त्यो डाक्टर तपाईंका लागि उपयुक्त हुन सक्छ किनभने तपाईंले त्यस डाक्टरलाई कुनै पनि बेला भेट्न सक्नुहुनेछ । तपाईंको डाक्टरले काम गर्ने एक÷दुई ठाउँहरूको जानकारी लिई राखेमा उपयुक्त ठाउँमा गई उपचार गराउन पनि सक्नुहुन्छ । अरु डाक्टरलाई गाली गर्ने, आपैm मात्र ठूलो र राम्रो हुँ भन्ने, अरु डाक्टरले गरेको उपचार सबै काटेर आफ्नोे मात्र उपचार तरीका लेख्ने डाक्टर राम्रो हुँदैन । त्यस्तै तपाईंको पुर्जामा डाक्टरको नाम, विशेषज्ञता र नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर, उपचारको मिति छ कि छैन राम्ररी हेर्नु र बुझ्नु जरुरी हुन्छ ।

डाक्टरको उपचारमा गलत अर्थ नलगाऔँ

कतिपय बिरामीले डाक्टरले दिएको औषधिको गलत अर्थ लगाई औषधि सेवन नगर्ने गरेको पाइन्छ । कतिपय औषधिको एकभन्दा बढी काम हुन्छ तर औषधि पसलेले त्यसको गलत अर्थ बिरामीलाई बुझाईदिँदा बिरामीमा डाक्टरप्रति गलत प्रभाव पर्ने गरेको छ । उदाहरणका लागि कतिपय नशा रोगका औषधिको दुष्प्रभाव निद्रा लगाउने वा एकछिन झुम्म पार्ने हुन्छ । त्यसलाई औषधि पसलेले डाक्टरले तपाईंलाई त निद्राको गोली दिएछ अथवा मानसिक रोगको औषधि दिएछ भनेर गलत जानकारी दिने गर्छन् । फलस्वरुप बिरामीले त्यो औषधिको सेवन नै नगरी अर्को डाक्टरकहाँ जाने गर्दछ । त्यसले गर्दा बिरामी स्वयंले दुःख पाउने गर्छ । त्यस्तै कतिपय बिरामीले फलानो औषधि खाएर मेरो बिमारी झन् बढ्यो भन्ने गर्छन् । वास्तवमा त्यो औषधिले बिमारी बढाएको नभई रोग नै बढ्दै गएको हुन सक्दछ । त्यस अवस्थामा औषधि बन्द नगरी निरन्तर प्रयोग गर्नुपर्ने हुन्छ ।

रोगको बारेमा अन्धविश्वास हटाऔँ

यस वैज्ञानिक युगमा अझै पनि कतिपय मानिसमा रोग र उपचारको बारेमा भ्रम रहेको छ । फलानो रोगको फलानो उपचार गरेमा रोग झन् बढ्छ अथवा मान्छे नै मर्छ भन्ने भ्रम पालेका मानिस ज्यादै भेटिन्छन् । त्यसैले कुनै रोगको उपचारका लागि अन्य डाक्टर वा आफन्त वा औषधि पसलेको कुरा सुनेर होइन कि त्यही रोगको विशेषज्ञको कुरा सुनी उपचार गरौँ ।

मनोबल नगुमाऔँ

बिरामी हुँदा कोही पनि व्यक्ति शारीरिक र मानसिकरूपले कमजोर हुनु स्वभाविक हो तर त्यस कमजोरीलाई विस्तारै हटाई सशङ्का, उपशङ्का त्यागी बलियो हुँदै आउनु पर्दछ । जसको मनोबल बलियो हुन्छ, त्यस व्यक्तिको रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ ।

औषधिको सही प्रयोग

आपूmले खाने औषधि सही र पर्याप्त मात्रामा प्रयोग गरौँ । कतिपय बिमारी दुई÷चार दिन औषधि खाएपछि निको हुन्छ । तर त्यसको अर्थ रोग निर्मूल हुन्छ भन्ने होइन । त्यस्तै नेपाली समाजमा आफूले प्रयोग गर्दै आएको औषधिको बारेमा बिस्तृत ज्ञान तथा हेक्का राख्ने चलन निकै कम छ । मकै, भटमास खाए जसरी औषधि खाएपछि आफ्नो काम सकियो भन्ने हामी धेरैले ठान्ने गर्दछौँ । औषधिको न्यूनतम जानकारी भन्नाले आपूmले खाने गरेको औषधिको नाम, संरचना र शक्ति भन्ने बुझिन्छ । जुन राम्ररी सम्झिराख्नु पर्दछ । त्यसरी सम्झेमा कहिले पनि औषधि फरक पर्दैन । आफूले खाने गरेको औषधि चिकित्सकलाई राम्ररी बताउन सकेमा बिरामी र चिकित्सक दुबैलाई धेरै नै सजिलो हुन्छ ।
अस्पतालभित्रै औषधि किनौँ

डाक्टरलाई भेटिसकेपछि त्यसै अस्पतालको फार्मेसीबाट औषधि किनेको राम्रो हुन्छ । अस्पतालभित्रकै औषधि पसलको मान्छेले त्यही अस्पतालको डाक्टरको औषधि लेख्ने तरीका राम्ररी बुझेको हुन्छ । जुन अरु औषधि पसलको मान्छेले बुझेको नहुनसक्छ । त्यस्तै कहिलेकाहीँ डाक्टरको अक्षर नबुझिने गरी वा गल्तीले गलत लेखिने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा अस्पताल भित्रकै औषधि पसलेले राम्ररी बुझेर सही औषधि दिई परामर्श पनि दिन्छ । याद रहोस् बाहिरका औषधि पसलमा औषधि किन्दा औषधि र त्यसको शक्ति फरक परी बिरामीले धेरै दुःख पाएको उदाहरण प्रसस्तै छन् । त्यस्तो भएको खण्डमा स्वयं बिरामीले दुःख भोग्नु पर्ने हुन्छ । औषधि किन्ने मात्रै होइन अन्य जाँचपड्ताल पनि त्यही अस्पतालमै गर्नुहोला । यदि रिपोर्टमा कुनै शङ्का भएमा चिकित्सकले सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष कुराकानी गरी अथवा सम्बन्धित व्यक्तिले चिकित्सकलाई प्रत्यक्ष जानकारी गराई शङ्का निवारण गर्न सक्छ । 

औषधिको बिल सुरक्षित राखौँ

औषधि खरीद गरिसकेपछि औषधिको बिल लिई सुरक्षित राख्ने बानी गरौँ । कहिलेकाहीँ डाक्टरको पुर्जी हराए पनि औषधिको बिलबाट कुन कुन औषधि खाएको हो थाहा हुनसक्छ । त्यसमाथि बिरामीले यही औषधि किनेको छ कि छैन भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । निरन्तर खानुपर्ने औषधि बीचमै छुटेपछि फेरि त्यही औषधिले काम नगर्न सक्छ । पहिलेकोभन्दा कडा र ज्यादा डोजको औषधि खानुपर्ने हुन्छ ।

डाक्टरको पुर्जा सुरक्षित राखौँ

डाक्टरले दिएको औषधिको पुर्जा र अन्य रिपोर्टहरू सुरक्षित राख्ने गर्नुपर्छ । पहिला जुनसुकै डाक्टरले जाँचेको भए पनि नयाँ डाक्टरकहाँ जाँदा पुरानो रिपोर्टको आधारमा थप जाँच र उपचार के गर्ने भनेर डाक्टरलाई निर्णय गर्न सजिलो हुन्छ ।
त्यस्तै जुन बिरामीले चिकित्सकको पुर्जा, रिपोर्ट आदि राम्ररी जतन गरी राख्दछ, त्यस बिरामीप्रति चिकित्सकको राम्रो धारणा बन्छ । जसले पुर्जा तथा अन्य कागजपत्र लापरबाही तरिकाले राख्दछ, त्यस्तो बिरामीप्रति डाक्टरमा गलत धारणा बन्ने सम्भावना हुन्छ ।

डाक्टरसँग फोनमा सल्लाह नगर्ने

प्रायः बिरामीले डाक्टरको फोन नम्बर माग्ने गर्छन् । फोनबाट सल्लाह गर्न पाए अस्पताल जानु पर्दैन भन्ने बिरामीको बुझाई हुन्छ तर फोनबाट गरेको सल्लाहले सही उपचार पाउन सकिन्छ भन्ने नठान्नुहोस् । फोनबाट गरेका कुराको गलत अर्थ लागि बिरामीलाई फाइदाभन्दा बेफाइदा भएको घट्ना थुप्रै छन् ।

(डा. श्रेष्ठ बी एण्ड बी हस्पिटल र काठमाडौं न्युरो एण्ड जनरल अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्