Logo
|
Friday 29th March 2024
Logo

epaper

डा. केसी संक्रमणको ‘उच्च जोखिममा’



चिकित्सा शिक्षा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । केसी त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएका छन् ।उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ।

संक्रमणको जोखिम ध्यानमा राखी केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन। ‘अहिले उहाँलाई आईसीयूमा आइसोलेसनजस्तै राखेका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँको अवस्था स्थिर छ।’ अस्पतालका अनुसार केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिँदै छ। शनिबार पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल गएर केसीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

चिकित्सकको चेतावनी

नेपाल चिकित्सक संघले केसीको जीवनरक्षा माग्दै आन्दोलनमा उत्रने चेतावनी दिएको छ। संघले शनिबार विज्ञप्तिमार्फत केसीका माग अक्षरश: पालना गर्न सरकारसँग आग्रह गरेको छ। केसी संघका आजीवन सदस्य हुन्। १६औं पटक अनशन बसेको ११औं दिन बित्दासमेत सरकारले कुनै चासो नदेखाएको उल्लेख गर्दै संघले यसअघिको सम्झौतालाई आफूअनुकूल व्याख्या गरी भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेको छ।

विज्ञप्तिमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा सम्झौता गरिए पनि उनीबाटै अलग परिस्थितिमा सम्झौता भएकाले संसद्लाई आदेश गर्न नसक्ने भनी आएको गैरजिम्मेवार अभिव्यक्ति’ ले मुलुकको इज्जत र प्रतिष्ठामा आँच पुगेको दाबी गरिएको छ। संघले केसीको जीवनरक्षाका लागि जुनसुकै बेला अप्रिय कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिएको छ।स्रोतः कान्तिपुरदैनिक

प्रतिक्रिया दिनुहोस्