Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. केसीको स्वास्थ्य जोखिममा



चिकित्सकहरूले २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्त जोखिममा रहेको बताएका छन् । ‘यस्तै स्थिति रह्यो भने उहाँलाई कुन बेला के हुन्छ थाहा छैन,’ त्रिवि शिक्षण अस्पताल आईसीयूका प्रमुख एवं डा. केसीको मेडिकल टिमका संयोजक डा. सुवासप्रसाद आचार्यले  भने, ‘जतिखेर पनि अप्रिय अवस्था आउन सक्छ ।’

केसीले उपचार गराउन नमानेकाले सामान्य स्लाइन मात्र दिइएको उनले बताए । ‘उहाँले नमान्नुभएकाले अहिलेसम्म कुनै उपचार गरिएको छैन,’ डा. आचार्यले भने । उनका अनुसार केसीको शरीर अत्यन्त कमजोर भएको छ, छाती दुख्ने समस्या बढेको छ । मुटुको समस्याका लागि नियमित रूपमा खाइरहेको औषधिसमेत उनले अनशन अवधिमा खाएका छैनन् । यसले गर्दा स्वास्थ्यमा थपजटिलता देखिएको छ ।

उनको ईसीजीमा परिवर्तन देखिएपछि पहिले पनि दुईपटक ‘कोरोनरी एन्जियोग्राफी’ गरिएको थियो । त्यसयता केसीले यो औषधि खाइरहेका थिए । ‘दुईपटक एन्जियोग्राफी गरेपछि मुटुरोग विशेषज्ञले नियमित रूपमा खान भनेको ‘विटा ब्लकर’ औषधि अहिले खानुभएको छैन,’ केसीको उपचारमा संलग्न डा. प्रमेशसुन्दर श्रेष्ठले भने । केसीले चेत भएसम्म उपचार गर्न स्वीकृति नदिने डा. आचार्यले बताए । ‘अहिले उहाँलाई टुलुटुलु हेर्नुबाहेक हामीले केही गरेका छैनौं, उहाँको होस नभएको अवस्थामा मात्र हामीले निर्णय गरेर उपचार गर्न सक्छौं,’ उनले भने ।

हाल केसीको रगतमा म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटेसियमको मात्रा निकै कम भएको छ । सोडियम, क्याल्सियमको कमीले मस्तिष्कमा असर पार्छ भने पोटेसियम र म्याग्नेसियमको कमीले मुटुमा असर गर्छ । उनको रक्तचाप बेलाबेला ८०/५० सम्म पुग्ने गरेको छ । चिकित्सकका अनुसार मुटुको मांसपेशीमा रगत, अक्सिजन, ग्लुकोज कम भएर डा. केसीमा छाती दुख्ने समस्या देखिएको हो र यो हृदयाघातभन्दा अगावै हुने दुखाइजस्तै हो । यस्तो अवस्थामा जुनसुकै समय मुटुको चाल गडबड हुन सक्छ । यो प्रक्रियालाई चिकित्सकीय भाषामा ‘इरिदमिया’ भनिन्छ ।

‘इरिदमिया’ भएपछि हृदयाघातको उच्च जोखिम हुन्छ । हाल डा. केसीको मुटुको चाल कम भएर ४० को हाराहारीमा पुग्ने गरेको छ । केसीलाई इलाममा रहँदै छातीमा निमोनियाँ देखिएको थियो । यो समस्या निको भए पनि उनलाई अक्सिजन कम भएर बाहिरबाट अक्सिजन दिइराखिएको छ । अक्सिजन कमीले समेत हृदयाघात गराउन सक्ने उनको उपचारमा संलग्न चिकित्सक बताउँछन् । १६ औं अनशन बसिरहेका डा.केसीले २० दिनदेखि खाना नखाएकाले उनको शरीरमा किटोन बडिज (नकारात्मक वस्तु)सञ्चिति बढदै गएको छ ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्