Logo
|
Saturday 20th April 2024
Logo

epaper

त्रि.बि.शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणको स्वीकृति, एक महिनाभित्र कलेजो प्रत्यारोपण भइसक्ने



काठमाडौंको महाराजगञ्जस्थित त्रि.बि.शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणका लागि स्वीकृति पाएको छ । बिभिन्न कारणले कलेजो बिग्रिएका बिरामीहरुले अब त्रि.बि.शिक्षण अस्पतालबाट पनि कलेजो प्रत्यारोपण सेवा लिएर नयाँ जीवन प्राप्त गर्न सक्नेछन् ।

‘अहिले सरकारबाट लाइसेन्स पनि पायौं । कलेजो प्रत्यारोपणका लागि हामी तयार छौं । एक महिनाभित्र जसरी पनि कलेजो प्रत्यारोपण गरिसक्नेछौं । अब हामीलाई बिरामी चाहिएको छ ।’ कलेजो प्रत्यारोपण विभागका प्रमुख एवं वरिष्ठ जिआई एवं कलेजो प्रत्यारोणविद् प्रा.डा. रमेश सिंह भण्डारीले भन्नुभयो—‘स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिले कलेजो प्रत्यारोपणका स्वीकृति दिएकाले केही दिनभित्र नै कलेजो प्रत्यारोपण गर्नेछौं । अहिले महिनामा १ देखि २ वटा सम्म कलेजो प्रत्यारोपण हुने लक्ष्य रहेको छ ।अस्पतालमा सबै विधाका गरी अहिले २४—२५ जनाको टीम छ ।

यस कार्यक्रमलाई सफल बनाउन प्रारम्भिक चरणमा एपोलो हस्पिटलका लिभर प्रत्यारोपणविद् डा. निरव गोयलगायतका एपोलो कलेजो प्रत्यारोपण टिमले सहयोग गर्नेछ । ‘एपोलो कलेजो प्रत्यारोपण’ टिमले भारतमा धेरै कलेजो प्रत्यारोपण गरिसकेको छ । ‘हामीलाई विश्वास गर्नुहोस, हाम्रो सक्षम टिममाथि भरोसा राख्नुस् र प्रत्यारोपणका लागि सम्भावित उम्मेदवार रिफर गर्नुहोस् ।’—प्रा.डा. भण्डारीले भन्नुभयो— ‘शुरुको अवस्थामा हामी लाइभ डोनरबाट कलेजो प्रत्यारोपण गर्नेछौं ।’ निकट भविष्यमा नै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट कलेजो लिएर प्रत्यारोपण गर्ने तयारीमा रहेको प्रा.डा. भण्डारीले जानकारी दिनुभयो ।

हरेक हप्ताको आइतबार र बुधबार बिहान ग्याँस्ट्रोइन्टेस्टाइन (जिआई) र हेपाटो प्याँक्रियाटो बाइलरी (एचपिवी) सर्जरीको ओपिडी सञ्चालन भइरहेको छ । यसका साथै कलेजोसम्बन्धि छुट्टै ओपिडी पनि सञ्चालन गर्ने प्रा.डा. भण्डारीले जानकारी दिनुभयो ।

एक वर्षको तयारीपछि धेरै बाधाहरुको बावजूद त्रि.बि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण टीम अन्ततः कलेजो प्रत्यारोपण शुरु गर्न एक चरणमा पुग्यो । यो चरणमा आइपुग्न विशेष भूमिका खेल्ने् सबैलाई प्रा.डा. भण्डारीले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्