Logo
|
Thursday 28th March 2024
Logo

epaper

राजा महेन्द्रको हृदयघातबाट निधन भएपछि शुरु भएको मुलुककोआई.सि. यू.सेवा



चितवनमा शिकार खेल्दै गर्दा सन् १९७२ मा ५१ वर्षको उमेरमा राजा महेन्द्रको हृदयघात भएर निधन भएपछि देशमा आईसियू  सेवाको आवश्यकता महसुस गरियो । त्यसको एक वर्षपछि सन् १९७३ मा वीर अस्पतालमा ५ वटा वेडबाट मेडिकल आईसियू शुरु गरियो । त्यो बेला राजपरिवारले मात्र आईसियू सेवा लिन पाउँथे । यो सेवा अन्य सर्वसाधारणका लागि बन्देज थियो ।
त्यतिबेलाको आईसियू राम्रो थिएन । भुर्इँ तलाको कुनाको कोठामा माया मारेर फाल्ने ठाउँ जस्तो थियो ।
नेपालमा दुई दशकसम्म त्यही आईसियूबाट काम चलाइयो । इन्स्टिच्युट अफ मेडिसिन (आई.ओ.एम.) अन्तर्गत महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा आएपछि आईसियू सेवाको विस्तार शुरु भयो ।
शुरुमा त्रि.बि. शिक्षण अस्पतालमा ८ वेडको मेडिकल आईसियू बनाइयो भने क्रिटिकल केयर युनिट पनि शुरु भयो । अहिले त्रि.बि.शिक्षण अस्पतालमा मात्र न्युरो आइसियु, वर्न आइसियू, सर्जिकल आइसियू, ट्रान्सप्लान्ट आइसियू, कार्डियोथोरासिस आइसियूलगायतका धेरै सेवा उपलब्ध छन् ।
देशभरमा अहिलेसम्म ६० आइसियू सेन्टर छन् । काठमाडौँ उपत्यकाभित्र मात्र ५० ओटा आईसियू सेन्टर सञ्चालनमा छन् । उपत्यका बाहिर विराटनगर, पोखरा , नेपालगञ्ज, बुटवल, भरतपुरमा १० वटा भन्दा बढी आईसियू सेन्टर सञ्चालनमा छन् ।
देशभर करिब ४५० देखि ५५० जति आइसियु बेड रहेका छन् । यही अनुपातमा नेपालमा प्रति १ लाख जनसंख्याका लागि करिब १५ वटा आई.सी.यू. बेड मात्र उपलब्ध छ । त्यस्तै १ लाख जनसंख्याका लागि करिब ७ ओटा भेन्टिलेटर सुविधा भएको आइसियू वेड उपलब्ध छ । जनसंख्याको दृष्टिकोणले यो निकै कम हो ।
आई.सि.यू. उपचार सेवा निकै खर्चिलो छ । प्रतिदिन १५ हजारदेखि २० हजारसम्म खर्च हुन्छ । लाइफ सपोर्टसम्बन्धि अन्य सुविधाका सामान प्रयोग गर्दा खर्च अझै बढ्छ ।
आई.सि.यू.मा पुगेका सबै बिरामी बाँच्न सक्दैनन् भन्ने हुँदैन । नेपाललगायत संसारको तथ्यांक हेर्दा अवस्थाअनुसार ८५ देखि ६० प्रतिशतसम्म आई.सि.यू. बिरामी बाँचेको तथ्यांक छ । आई.सि.यू मा पुगेका १५ देखि ४० प्रतिशत बिरामीको परिणाम राम्रो आउँदैन ।
अहिले सरकारी र निजी क्षेत्रको पहलमा आई.सि.यू. सेवा बढाएर केही हदसम्म मृत्युदर घटाउन सकिएपनि भनेजस्तो उपलब्धी हाँसिल गर्न सकिएको छैन । समयमा नेपाल मेडिसिटी हस्पिटलको आई.सि.यू.पुगेका १ सय जना बिरामीमध्ये ९० प्रतिशतको ज्यान बचाउन सकिएको छ ।
बढ्दो जनसंख्या, आई.सि.यू.को बढ्दो माग र सोफेस्टिकेसन अफ मेडिकल सर्भिसेसका कारण आई.सि.यू. सेवाहरुको माग बढ्दो छ । एक वर्षअघि नेपाल मेडिसिटीमा १२ बेडबाट आई.सि.यू. सेवा सुरु गरिएकोमा माग बढ्दै गएपछि अहिलेसम्म फरक फरक किसिमका ५० आई.सि.यू.वेड पुगिसकेको छ । त्यसमा मेडिकल आई.सि.यू, न्युरो आई.सि.यू., सर्जिकल आईसियू, कार्डियाक केयर युनिट (सि.सि.यू) पेडियाट्रिक आई.सि.यू.लगायतका धेरै किसिमका आई.सि.यू. वेड रहेका छन् ।
आई.सि.यू.का बिरामीको ज्यान कसरी बचाउन सकिन्छ?
आई.सी.यू.मा वेड, उपकरणका साथै राम्रो नर्सिङ केयरको जरुरत पर्छ । हामीले आई.सि.यू. एवं मेडिकल आई.सी.यू.मा बसेका दुवै बिरामीलाई एकजना बिरामी बराबर एकजना नर्स उपलब्ध गराउँदै आएका छौं । आई.सि.यू.मा २४ सै घण्टा एमडी तहको डाक्टरहरु हुनुपर्छ । आवश्यकता अनुसार मेडिकल अफिसर पनि राख्न सकिन्छ ।

संसारमा क्लोज्ड आई.सी.यू. र ओपन आई.सी.यू. भन्ने  हुन्छ । क्लोज्ड आई.सी.यू.मा बिरामी पुगेपछि भित्रकै  डाक्टरबाट केयरको व्यवस्था हुन्छ । तर ओपन    आई.सी.यू.मा भित्रको डाक्टर र बाहिरको डाक्टर मिलेर काम गर्छन् । आई.सी.यू.मा आउने बिरामीको रोग अनुसार प्रयोग गर्ने औषधिको प्रोटोकल बनाउनुपर्छ ।

नेपाल मेडिसिटीमा एक दुई वटा सोफिस्टिकेटेड मेसिनको व्यवस्था छ । जस्तोः ब्लड प्रेसर ‘लो’ भई जीर्ण अवस्थामा पुगेको मुटु सर्पोट गर्ने आई.ए.बि.पि. र एक्मो मेसिनको उपलब्धता आदि । क्रिटिकल केयरमा पुगेका बिरामीको मुटुको पम्पीङ पावर बढाउन विभिन्न औषधि चलाउनुपर्ने हुन्छ भने संक्रमण र सेप्सिस रोक्न हाइ डोजमा एन्टिबायोटिक औषधि चलाउनुपर्छ । यस्ता औषधि एकैपटक दिन नमिल्ने कारण स्लाइनबाट बिस्तारै समय लगाएर दिनुपर्छ । कतिपय औषधि बाफबाट दिनुपर्छ । फरक फरक बिधाका डाक्टर सँगै बसेर मल्टिडिसिपिलिनरी सेवा प्रदान गर्नुपर्छ । जस्तोः न्यूरो सर्जन, कार्डियोलोजिस्ट, क्रिटिकल केयर स्पेसलिस्ट आदि ।
आई.सी.यू.मा संक्रमण रोकथाममा निकै ध्यान दिनुपर्छ । आई.सी.यू.मा बिरामी भेट्न आउने व्यक्तिहरुमा निमोनिया, पेट, आन्द्राको इन्फेक्सन पनि हुनसक्ने भएकाले उनीहरुबाट बिरामीमा पनि सर्नसक्ने सम्भावना भएकाले यसबारे विशेष ख्याल गर्नुपर्छ । डाक्टर र नर्सले एउटा बिरामीलाई छोएपछि अर्कोलाई हात सफा गरेर मात्र छुनुपर्छ ।
                               

क्रिटिकल केयर युनिट व्यवस्थित नभएमाबिरामीको   ज्यान तलमाथि हुनसक्ने भएकाले आई.सी.यू.मा बसेका हरेक  जनशक्ति सर्तक हुनुपर्छ । समयमा समस्या पत्ता लागेमा      छिटै समाधान गर्न सकिन्छ ।

कस्तो अवस्थाका बिरामीलाई कार्डियाक केयरको आवश्यकता पर्दछ ?
विशेषगरी हृदयघात, हार्ट फेलियर, प्रेसर अचानक बढी भएर आएका बिरामी, मुटुको चाल खराबी भएका, पहिला अपरेशन गरेर पुःन मुटुमा समस्या भएका बिरामीहरुलाई क्रिटिकल कार्डियाक केयरको जरुरत पर्छ ।

प्रतिक्रिया दिनुहोस्