व्यवस्थित बन्दै वीर अस्पताल

पवित्रा सुनार, काठमाडौँ || प्रकाशित मिति :2019-02-05 06:22:35

कुनै समय ‘राम्रो उपचार हुँदैन, फोहोर छ’ भन्ने टिप्पणी सहन बाध्य वीर अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ। व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो।

आमालाई लिएर पहिलोपटक वीर अस्पताल पुगेकी सर्लाहीकी विष्णु लामाले अस्पताल धेरै राम्रो भएको बताइन्। बिहीबार उपचारका लागि आएका नुवाकोटका लेखनाथ नेपालले पहिलाभन्दा फरक पाए। उनको अनुभवमा पहिला अस्पतालको शौचालय जानै नसक्ने खालका थिए। ‘अहिले ट्वाइलेट जाँदा मुख थुन्नुपर्ने अवस्था रहेनछ,’ उनले भने। टिकट काउन्टर, ल्याब, बहिरंग विभागमा टोकन लिएर पालो पाउनेलगायत थुपै कुरा व्यवस्थित भएको देखे। ‘क्यास काउन्टरमा पनि छिटो, ल्याबमा अझ सजिलो भएको रहेछ,’ नेपालले भने।

यी दुई बिरामीबाहेक अस्पताल व्यवस्थित भएको देख्ने अरू धेरै बिरामी भेटिए। साढे दुई वर्षदेखि अस्पतालको निर्देशक जिम्मेवारी सम्हालेका डा। भूपेन्द्र बस्नेतले प्राप्त स्रोतसाधनको प्रभावकारी उपयोग गरेर अस्पताल व्यवस्थित बनाएको दाबी गरे। उनका अनुसार अस्पतालले अहिले बैंकिङ क्यास काउन्टर, टिकट काउन्टर, ल्याब, बहिरंग सेवामा समेत टोकनको व्यवस्था गरेको छ। यसले बिरामीलाई लाइनमा उभिनुपर्ने समस्याबाट छुटकारा दिएको छ। गत वर्ष अस्पतालमा बाथरोग, हेमाटोलोजी सेवा, चेस्ट क्लिनिक, थाइराइड तथा मधुमेह क्लिनिकलगायत विशेषज्ञ सेवा थपिएका थिए।

यही अवधिमा अस्पतालमा शल्यक्रिया सेवालाई पनि व्यवस्थित गरिएको छ। पहिला सामान्य शल्यक्रियाकै लागि तीनदेखि चार महिना पालो कुर्नुपथ्र्यो। अहिले त्यसका लागि दुईदेखि चार सातामै पालो आइसक्ने निर्देशकको दाबी छ। शल्यक्रिया सेवा बढाउन अस्पतालले सात चिकित्सक थप गरेको उनले बताए। अस्पतालमा अहिले कुल १० वटा शल्यक्रिया टेबुल चालू अवस्थामा छन्। अस्पतालमा यो अवधिमै विभिन्न आधुनिक उपकरण थप गरिएकाले आधुनिक प्रविधिबाट उपचार गर्न सम्भव भएको छ। गत वर्ष अस्पतालले एक अर्बबराबरको आधुनिक उपकरण भित्र्याएकोछ। विशेषज्ञ चिकित्सकबाटै सबै रोगको उपचार हुने गरेको अस्पतालको दाबी छ। ‘सिधै विशेषज्ञ क्लिनिकमा उपचार लिन पाउँछन्,’ डा। बस्नेतले भने। कतिपय विशेषज्ञ सेवा सातामा प्रत्येक दिन मिल्नेगरी विस्तार गरेको अस्पतालले जनाएको छ। ‘सेवाको अवधि विस्तारले बिरामीलाई सजिलो भएको छ, ल्याबमा गरेको व्यवस्थाले उपचार झनै छिटो भएको छ,’ निर्देशक बस्नेतले भने।

अस्पताललाई सफा राख्न पुराना स्थायी सफाइ कर्मचारीको सट्टा ठेक्काबाट लिइएको निर्देशक बस्नेत बनाए। ‘पहिला सफाइ कर्मचारी अवकाश हुँदै गएपछि ठेक्काबाट राख्न थाल्यौं,’ उनले भने। अस्पतालमा दाँत, क्यान्सर, मुटु, मिर्गौला, हेमोडाइलोसिस, कलेजो, नसा, छाती तथा श्वासप्रश्वास, मधुमेह, थाइराइड, न्युरो सर्जरी, न्युरो मेडिसिन, चर्म तथा यौन रोग, क्षयरोग, ग्यास्ट्रोलोजी, मेडिकल सेवा, युरोेलोजी, ज्येष्ठ नागरिक सेवा, आकस्मिक कक्ष, हेमाटोलोजी, बाथरोग, आँखा, नाक–कान तथा घाँटी सेवालगायत सेवा सञ्चालनमा छन्। आधुनिक ल्याब, सिटी स्क्यान, एमआरआई, आधुनिक एक्सरे, क्यान्सरमा आवश्यक किमोथेरापी, रेडियोथेरापी, टोमोटेरापी मेसिन, शल्यक्रियामा आवश्यक आधुनिक उपकरण सबै सञ्चालनमा रहेको र सबै रोग परीक्षणका लागि आवश्यक उपकरणसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार सेवा र सुविधा विस्तारसँगै अस्पतालमा दोब्बर संख्यामा बिरामी आएका छन्। पहिला जाडो मौसममा दैनिक सातदेखि आठ सय बिरामी आउने गरेकोमा यो जाडोमा दोब्बर बिरामी आएका छन्। यो संख्या गर्मीमा २२ सयदेखि २५ सय पुग्ने अस्पतालको आँकलन छ। बिरामीको चापअनुसार कतिपय स्रोतसाधन नहुँदा सेवामा बाधा पुग्ने स्थिति देखिएको निर्देशक बस्नेतले बताए। उनका अनुसार यो वर्ष गत वर्षको तुलनामा स्वास्थ्यको बजेट कम विनियोजन गरिएको असर वीर अस्पतालमा पनि परेको छ। पहिलाभन्दा ११ करोड कम गरी बजेट आउनु, बिरामी संख्या दोब्बर आउनुले अस्पतालले दिने सेवामा छिट्टै बाधा आउने स्थिति देखिएको छ। ‘पुरानो सिटी स्क्यान मेसिन बिग्रेकाले त्यसको मर्मतका लागि एक करोड बजेट आवश्यक पर्छ भने ल्याब र युरोटेस्कोप अपे्रसन उपकरणमा आवश्यक कच्चा सामग्रीसहित थप २१ करोड बजेट चालू आर्थिक वर्षभित्र आवश्यक छ,’ उनले भने, ‘अबको तीन महिनाभित्र त्यति बजेट विनियोजन हुन सकेन भने सेवा दिन सक्ने स्थिति रहँदैन।’ अस्पतालले दिएको सेवाअनुसार सबै बिरामीबाट शुल्क नउठ्ने कारण सरकारले बजेटमा सहयोग गर्नुपर्ने बस्नेतको भनाइ छ।

अस्पतालको युरोलोजी विभाग तथा फार्मेसीमा जनशक्ति र चिकित्सकको कमीले यी विभागमा छिटो सेवा दिन नसकेको अस्पतालले जनाएको छ। अस्पताललाई थप व्यवस्थित गराउन सरकारले बीचबीचमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा सहयोग गरे अझ व्यवस्थित गर्न सम्भव भएको निर्देशक बस्नेतले बताए। अस्पतालका सबै सेवा थप सजिलो बनाउन निर्माणाधीन भवन पूरा भएपछि सम्भव हुने जनाइएको छ। यसका लागि आवश्यक सिटी स्क्यान, एमआरआईजस्ता उपकरण ल्याइनुका साथै १४ वटा शल्यक्रिया टेबुल थपिनेछन्। आइसियु पनि थपिने बस्नेतको भनाइ छ। यो भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ।नागरिकन्युज

    Comment Here!