Logo
|
Friday 19th April 2024
Logo

epaper

प्याथोलोजीमा डाक्टर पाठकको करियर



डा. राकेश पाठकले साइन्समा प्लस टू सकेपछि एक वर्षजति त्रिचन्द कलेजमा माइक्रोबायोलोजी पनि अध्ययन गर्नुभएको थियो । यसलाई छोडेर उहाँले सन् २००० मा काठमाडौं मेडिकल कलेजमा चौथो ब्याचका रुपमा एमबीबीएसमा भर्ना हुनुभयो । सन् २००५ मा एमबीबीएस सकेपछि उहाँले करिब ३ वर्ष जति मेडिकल अफिसर भएर काम गर्नुभयो । सन् २००८ मा एमडी प्याथोलोजी अध्ययनका लागि त्रि.बि.शिक्षण अस्पतालमा नाम निकाल्न सफल हुनुभयो । सन् २०११ मा प्याथालोजीमा एमडी सकेपछि उहाँले नेपाल मेडिकल कलेजमा काम गर्न शुरु गर्नुभयो । अहिले उहाँ नेपाल मेडिकल कलेजमा प्याथोलोजी डिपार्टमेन्टको असिस्टेन्ट प्रोफेसरका रुपमा काम गर्नुहुन्छ । त्यसका साथै उहाँ भक्तपुर क्यान्सर हस्पिटल, दीर्घायू गुरु हस्पिटल, डा. इवामुरा हस्पिटल आदिमा कन्सल्टेन्ट प्याथोलोजिष्ट हुनुहुन्छ ।

यहाँले प्रदान गर्ने सेवाहरु के कस्ता रहेका छन् ?
डा. पाठक भन्नुहुन्छ —ठाउँ अनुसार मेरो सेवा फरक छ । डा. पाठक नेपाल मेडिकल कलेजमा पढाउनुहुन्छ । खासगरी ल्याबमा शल्यक्रिया गरिसकेका व्यक्तिको हिस्टो प्याथालोजीसम्बन्धि रिपोर्ट हेर्ने गर्नुहुन्छ । यसका साथै एफएनएसी, प्यापस्मियर र ल्याबसम्बन्धि कुनै पनि समस्या समाधानमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ । भक्तपुर क्यान्सर हस्पिटलमा वायोप्सीबाट क्यान्सर डायग्नोसिस हुने गोल्ड स्टैन्डर्ड भएकाले बायोप्सी, एफएनएसी र प्यापस्मेयर धेरै हुने उहाँको भनाइ छ । दीर्घायू गुरु र डा. इबामुरा हस्पिटल, नेपाल नेशनल हस्पिटलमा हरेक हस्पिटलमा बायोप्सी परीक्षण सम्भव नहुने भएकाले यी अस्पतालहरुबाट बायोप्सी, एफएनएसी र प्यास्मेयरहरु एकै ठाउँमा केन्द्रित गरेर सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ —वायोप्सी गर्न नमुनाहरु धेरै आवश्यक पर्छ । उपकरण र रि—एजेन्ट्स करोडौं रुपियाँ पर्ने भएकाले एउटै ठाउँमा थोरै गर्नुभन्दा केन्द्रिकृत गरेर गर्दा सस्तोमा उत्कृष्ठ सेवा प्रदान गर्न सकिन्छ ।

ल्याबमा के कस्ता चुनौतिहरु सामना गर्नुपरेको छ ?
ल्याब डाक्टरको पनि डाक्टर हो । क्यान्सरको घटनामा खासगरेर पत्ता त लगाउँछौं तर त्यसमा विभिन्न मोलिक्युलर, जेनेटिक्स तहका इम्युनोहिस्टोकेस्ट्री, फ्लो साइटोमेट्री जस्ता नयाँ टेक्नोलोजी आएका छन् । अहिलेसम्म त्यो तहमा सेट अफ नभइसकेकाले कहिलेकाँही गारो हुन्छ । अहिलेसम्म आँखाले हेरेर माइक्रोस्कोपबाट नै प्रकार छुट्याउनुपर्ने बाद्यता छ । अझ एडभान्सड्ड सेटअप नभइसकेकाले कहिलेकाँही पनि गारो पर्छ । त्यसैले अरुसँग राय लिने, एडिस्नल टेष्टहरु गराउनुपर्छ । बिरामीहरुलाई चाँडो रिपोर्ट उपलब्ध गराउनुपनि चुनौति छ ।

ग्रामीण क्षेत्रमा प्याथोलोजी सेवा विस्तार हुन नसक्नुको कारण
यसमा प्रविधि र जनशक्ति दुवैको ठूलो भूमिका हुन्छ । प्याथोलोजीमा ल्याबसँगसम्बन्धित सबै टेष्ट गर्नेदेखि रिपोर्टिङ गर्ने सम्मका कुरा जोडिएका हुन्छन् । यी सबै प्याथोलोजिष्ट डाक्टरले मात्र गर्न सम्भव हुँदैन । ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजिष्टलगायतका जनशक्तिले ल्याब टेष्ट गर्ने र यसलाई भेरिफाइ र क्लिनिकल म्याच भएनभको हेर्ने काम प्याथोलोजिष्ट डाक्टरको हो । यसका लागि अवश्यक राम्रो उपकरण र प्रविधिको जरुरत पर्छ । प्रविधि र उपकरण नभएका ठाउँमा साधारण रिपोर्टिङबाट गरेको ल्याब रिपोर्टमा प्याथोलोजिष्टको खासै भूमिका रहँदैन । प्याथोलोजिष्ट राम्रो सेन्टरमा मात्र काम गर्न सक्छन् । किनभने त्यहाँ वायोप्सी, एफएनएसी, प्यापस्मियर, बोनम्यारोलगायतका टेष्ट गर्ने प्रविधि र उपकरणको सुविधा रहेको हुन्छ । अफ्ट्यारा घटनाहरुमा प्याथोलोजिष्ट डाक्टरको भूमिका महत्वपूर्ण हुन्छ ।

कतिपय अवस्थामा शहरमा त प्रविधि र उपकरण महँगो भएका कारण सम्बन्धित टेष्टहरु केन्द्रिकृत गरेर सुविधाहरु प्रदान भइरहेको अवस्थामा ग्रामीण क्षेत्रमा त यो सम्भवन नै हुँदैन । सुविधा, ल्याव टेक्निसियन, टेक्नोलोजिष्टको पर्याप्तता, बायोप्सी, एफएनएसीलगायतका सुविधा भएको अवस्थामा मात्र प्याथोलोजिष्ट ग्रामीण क्षेत्रसम्म पुगेर सेवा दिन सक्छ ।

अन्यथा उसले अध्ययन गरेका कुनैपनि विधि प्रयोगमा आउन सक्दैन र उसले बिर्सने सम्भावना रहन्छ । प्याथोलोजिष्ट डाक्टरको शैक्षिक अध्ययन अध्यापनका कुरा पनि जोडिएको हुन्छ । सरकारी दरवन्दी भएपनि असुविधाका कारण प्याथोलोजी डाक्टर जान रुचाउँदैनन् ।

एफएनएसी बायोप्सी के हो ?
शरीर वा शरीरको कुनै पनि गाँठो असामान्य तरिकाले बढेमा त्यसभित्र सिरिञ्ज लगाएर फाइन तरिकाले नमुना लिएर सेलको मर्फोलोजी अर्थात स्ट्रक्चर हेरिन्छ । सेलको असामान्य अवस्था पहिचान गरेर क्यान्सर भएनभएको वा अरु कुनै समस्या हो वा होइन छुट्याउने डा. पाठक बताउनुहुन्छ । यसलाई एफएनएसी भनिन्छ । यो सेलको स्टडी हो । यो फाइन निडिल एस्पिरेसन साइटोलोजी (एफएनएसी) हो । वायोप्सी र हिस्टोप्याथोलोजी त्यो भन्दा पनि अझ राम्रो परिणाम आउने प्रविधि हो । एफएनसीमा सुईले सेल निकालेर अध्ययन गरिन्छ भने बायोप्सीमा समस्याग्रस्त भागको मासुको ढिक्को निकालेर अध्ययन गरिन्छ । बायोप्सी गोल्ड स्टैण्र्डको हुन्छ । समस्या पत्ता लगाउन अगाडि र शल्यक्रिया गरिसकेपछि स्टेजिङ र ग्रेडिङ थाहा पाउन वायोप्सीको भूमिका महत्वपूर्ण हुन्छ । वायोप्सीमा लाखौं सेलहरुको अध्ययन गरिन्छ । यसबाट क्यान्सर भएनभएको राम्रोसँग पत्ता लाग्छ ।

क्यान्सर भएको कसरी थाहा हुन्छ ?
यसमा सेलको स्ट्रक्चर र साइटोप्लाजम र न्युक्लियसको अवस्था हेरिहन्छ । सेल बिग्रिएर न्युक्लियस ठूलो भएको अवस्थामा क्यान्सर भएको हुनसक्छ । सामान्य त शरीरमा साइटोप्लाजम ठूलो र न्युक्लियस सानो हुन्छ । सेल बिग्रिएपछि साइटोप्लाजम सानो र न्युक्लियस ठूलो हुँदै गएको देखिन्छ । न्युक्लियसभित्र पनि न्युकोलाई भनिने विभिन्न बच्चाहरु विकास भइरहेको हुन्छ । त्यो नै क्यान्सर हो । क्यान्सर भनेको दुई चार आठ सोर बत्तीस हुँदै बढ्ने हो । क्यान्सर समस्या पहिचानमा दक्ष जनशक्ति, उपकरण र रिएजेन्ट्सको भूमिका महत्वपूर्ण हुन्छ । क्यान्सर पहिचानमा सामान्य रगत जाँचदेखि ठूलो टेष्टसम्म हुन्छ । प्याथोलोजी जाँचमा प्रीएनलाइटिकल, एनलाइटिकल र पोष्ट एनलाइटिकल जस्ता कुरामा ख्याल राख्नुपर्छ । शुरुदेखि अन्तिम अवस्थासम्म प्याथोलोजिष्ट र टेक्नोलोजिष्टको भूमिका महत्वपूर्ण हुन्छ । यसबाट क्वालिटीको रिपोर्ट दिन सकिन्छ ।
(डा. पाठक एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट नेपालमा सह—सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्