सरकारी चिकित्सक पुन: आन्दोलनमा

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-02-12 05:53:58

सरकारी चिकित्सकहरू सहमति कार्यान्वयन गर्न माग गर्दै चरणबद्घ आन्दोलनमा उत्रिएका छन् । गत पुस ३० गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ (गोदान) बीच ८ बुँदे लिखित सहमति भएको चार साता नबित्दै चिकित्सकहरू पुन: आन्दोलनमा उत्रेका हुन् ।

स्वास्थ्य मन्त्रालयले गोदानसँग अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगवाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्ने गरी आवश्यक व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सहमति गरेको थियो ।

यही सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरू आन्दोलनमा ओर्लेका हुन् । सोमबार करिब १ सय ५० सरकारी चिकित्सकहरू वीर अस्पतालबाट र्‍यालीसहित स्वास्थ्य मन्त्रालय प्रवेश गर्न खोजे पनि प्रहरीले जान दिएन । ‘प्रहरीले स्वास्थ्य मन्त्रालय प्रवेश गर्न नदिएपछि हामी माइतीघरमै ११ देखि २ बजेसम्म धर्नामा बस्यौं,’ गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘भोलि (मंगलबार) समेत हाम्रो र्‍याली छ ।’

सरकारी चिकित्सकहरूले फागुन ३ सम्म शान्तिपूर्ण धर्नालगायत चरणबद्घ आन्दोलनलाई सरकारलाई वास्ता नगरे कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ । मुलुकभरहाल करिब एक हजार ६ सय सरकारीचिकित्सक छन् ।कान्तिपुरदैनिकबाट

    Comment Here!