Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित



विगत तीन महीनादेखि नर्स नहँुदा बैतडी जिल्लामा प्रसुती सेवा प्रभावित हँुदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल गएको कात्तिक महीनादेखि नर्सविहीन छ ।

अस्पतालमा हाल एक जना पनि स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी । जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स तालीम प्राप्त हुन्छन् ।

तर अस्पतालमा एक जना पनि नर्स छैनन् । उहाँले भन्नुभयो, “गर्भवतीको ‘अल्ट्रासाउण्ड’ सेवा पनि म नभएको बेला ठप्प हुन्छ, अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ ।”

जिल्ला अस्पतालमा जटिलत प्रसूति सेवा पनि उपलब्ध छ अर्थात शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाहरुको लागि सेवा उपलब्ध छ । तर नर्सको अभावमा सो सेवासमेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शल्यक्रियाका लागि डाक्टरको सहयोगीका रुपमा स्टाफ नर्सहरुले काम गर्नुहुन्छ । हामी टीम मिलेर शल्यक्रिया गर्ने हो । तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर शल्यक्रिया गरिरहेका छौँ ।”

डा विष्ट अस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरु रित्तो हात फर्किने गरेका छन् । अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सहरुको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो । “डाक्टरहरुको पनि तीन जनाको दरबन्दी हो । तर म एक्लै छु । काम विशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सेवा पूर्णरुपमा अवरुद्ध हुने गरेको छ । यसले स्थानीयहरुलाई असहज भएको छ ।”

जिल्ला अस्पताल बैतडीमा जटिल प्रसूति सेवा लिन बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन् । जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ । एक एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा विष्टले बताउनुभयो ।

स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ । तर पदपूर्ति कहिले हुने हो ? केही थाहा छैन ।”

कर्मचारी समायोजनपश्चात स्टाफ नर्स आउनसक्ने अस्पताललले जनाएको छ । जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ ।

“स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारीको अभाव छ । सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन ।” दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भन्नुभयो, “स्थानीयस्तरमा भएका अस्पतालहरुको स्तरोन्नती गरी दरबन्दीअनुसार डाक्टर र नर्सको पूर्ति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । नत्र हामीले उपचारका लागि हजारौँ रुपैँया भारतमा तिर्नुपरिरहेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्