Logo
|
Thursday 28th March 2024
Logo

epaper

पाठेघरको मुखको क्यान्सर: किन लगाउने एचपिभी भ्याक्सिन ?



हाम्रो मुलुकमा न्युन आय भएका मानिस धेरै छन् । ग्रामीण भेगका अधिकांश महिलाहरु अशिक्षित छन् । आफैं कमाएर आफ्नो लागि खर्च गर्न सक्ने क्षमता भएका महिलाहरुको संख्या निकै कम छ ।
अहिलेसम्मको तथ्यांकले पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा भएको देखाउँछ । तर पाठेघरको मुखको क्यान्सरबाट बच्न भ्याक्सिन, प्यापस्मेयर टेष्टलगायतका थुप्रै प्रविधि आइसकेको छ । शुरुको अवस्थामा पत्ता लगाएर उपचार गरेमा क्यान्सर हुन पाउँदैन ।
यसप्रकारको टेष्ट गर्ने सुविधा गाउँघरमा उपलब्ध नभएका कारण पनि महिलाहरुलाई गाह«ो छ । शहरमा बस्ने महिलाहरु पनि नजिकैको अस्पताल गएर टेष्ट गराउँदैनन् । यसबाट समस्या जटिल भएर दुःख पाएका धेरै उदाहरणहरु छन् ।
शहरमा बसेका महिलाहरु पनि आफ्नो स्वास्थ्यलाई त्यति चासो दिँनैनन् । जबसम्म आफू भान्सामा गएर खाना पकाउन नसक्ने हुँदैनन् तबसम्म अस्पताल जान खोज्दैनन् । पाठेघरको क्यान्सर सुरुको अवस्थामा केहिपनि थाहा हुँदैन । यसले पीडा दिँदैन । लक्षण देखेर तपाईं जब अस्पताल आउनुहुृन्छ त्यो बेलासम्म ढिला भइसकेको हुन्छ ।

केहि नभएपनि जँचाउन जाने महिलाहरु एकदमै थोरै छन् । सुरुमा जँचाएमा यसबाट बच्न सकिने कुरा धेरैलाई ज्ञान नै छैन । पढेलेखेका महिलाहरु पनि बुझ्दैनन् । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिएर जाँचका लागि बजेट छुट्याएको हुँदैन ।
यौन सम्पर्क नगरेका ९ देखि २६ वर्ष उमेर समुहका महिलाहरुले एचपिभी भ्याक्सिन लगाएमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । भ्याक्सिनले ७० प्रतिशत सम्म क्यान्सर बचाउन मद्धत गर्छ । धेरैजसोमा पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) ले गराउने धेरै अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ । पहिला ४० वर्ष भन्दा माथिका व्यक्तिलाई प्यापस्मियर गरिन्थ्यो । तर आजकल ३० वर्षको उमेरपछि शरीरमा एचपिभी भएनभएको जाँच्न गर्न सकिन्छ । एचपिभी भएमा कुनै पनि बेला क्यान्सर हुनसक्छ । यदि भाइरस नभएमा पनि पाँच वर्षको अन्तरमा जाँच गराउनुपर्छ ।

एचपिभी भ्याक्सिन विवाह हुन अगावै अर्थात यौन सम्पर्क नभइसकेका महिलाहरुले लगाउनुपर्छ । बिवाह भएपछि यो भाइरस लाग्नु सामान्य हो । ३० वर्ष अघि शरीरको इम्युनिटीले रुघा निको पारेजस्तै गरेर भइरसलाई हटाउँछ । तर ३० वर्षपछि पनि यो भाइरस रहिरहेमा यसले क्यान्सर गराउने जोखिम बढाउँछ । पाठेघरको मुखको क्यान्सर यौन सम्पर्क नभएकाहरुलाई हुने खतरा एकदमै कम हुन्छ ।
एचपिभी सेक्सुअल्ली ट्रान्समिटेड डिजिज हो । यो भाइरस सबै महिलामा सामान्य हुन्छ । यो सामान्य रुघाखोकीको भाइरस जस्तै हो । ३० वर्षपछि पनि शरीरमा यो भाइरस रहिरहेमा तपाईंलाई क्यान्सरको खतरा बढि हुन्छ । यो जटिल भाइरस होइन । कतिपयमा यसलाई हाम्रो शरीरको इम्युनिटी शक्तिले मारिदिन्छ ।
धेरै बच्चा जन्माउने, चुरोट खाने, इम्युनिटी पावर कम, कलिलै उमेरमा बच्चा जन्माउने, कुपोषण, एचआइभी भएका महिलाहरुमा एचपिभी भाइरस रहिरहन्छ । यस्ता महिलाहरुले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल राख्नुपर्छ ।
(डा. श्रेष्ठ नेपाल क्यान्सर हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्