Logo
|
Friday 19th April 2024
Logo

epaper

मोबाइल हस्पिटलमा निःशुल्क शल्यक्रिया



मोबाइल हस्पिटलमा निःशुल्क शल्यक्रिया

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त सहकार्यमा विपन्न बिरामीको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न लागिएको हो । सप्तरीस्थित सगरमाथा अञ्चल अस्पतालमा फागुन पहिलो साता निःशुल्क शिविर गरी अभियान सुरुवात गरिने छ ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.विकास देवकोटाका अनुसार आर्थिक अवस्था न्यून भएका बिरामीलाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको हो । पेट, आँखा, नाक, कान घाँटी, आँखा, जनरल सर्जरी, मिर्गौला, नसा तथा हड्डी, स्त्री रोग, हाइड्रोशील, हर्नियाका बिरामीले शिविरमा लाभ लिन सक्ने छन् । बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बहिरंग विभाग (ओपीडी) सञ्चालन गरिने छ ।

सेनाका सहायक रथी यामप्रसाद ढकालका अनुसार, सातहजारदेखि बाह्र हजार जना बिरामीले उपचार सेवा पाउने अपेक्षा गरिएको छ । ‘सेनाको मोबाइल हस्पिटल पुरै जानेछ । शल्यक्रिया पछि बिरामीलाई आरामका लागि पनि शड्ढयाको व्यवस्था छ’, उनले भने । बरिष्ठ चिकित्सकको संयुक्त टोलीले १ सय भन्दा बढी बिरामीको शल्यक्रिया गर्नेछन् । दैनिक एक हजार बिरामी बहिरंग विभागमा उपचार गर्न आउने अपेक्षा गरिएको सहायक रथी ढकालले बताए ।

मुख्य शल्यक्रिया दैनिक ६ वटासम्म गर्ने लक्ष्य राखिएको छ । साधारण खालको शल्यक्रिया तीसवटासम्म गर्ने योजना छ । मुलुकका सातवटै प्रदेशका स्वास्थ्य सूचक कमजोर रहेका जिल्लामा निःशुल्क शल्यक्रिया सञ्चालन गरिने मन्त्रालयको योजना छ ।

शिविरमा प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा उपलब्ध हुनेछ । बिरामीको संख्या धेरै भए केही दिन थप गर्न सकिने सेनाका प्रवक्ता सहायक रथी ढकालले जानकारी दिए । सेनाको मेडिकल कोरबाट १३६ जना र स्थानीय युनिटबाट १ सय गरी २३६ जना स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालन हुनेछन् ।

‘बिरामी आउने बित्तिकै शल्यक्रिया गर्न सकियोस् भनेर व्यवस्थित गर्न लागिरहेका छौं’, डा.देवकोटाले भने । स्वास्थ्य सूचकहरू न्यून रहेको स्थानमा शिविर गर्ने सरकारी योजना हो ।

अन्य प्रदेशमा पनि सहकार्य गरी शिविर सञ्चालन गरिने छ । शिविरमा विशेषज्ञसहितको विशेष समूह रहने भएकोले शल्यक्रिया गर्नुपर्ने खालका बिरामीलाई सेवा लिन आव्हान गरिएको उनले बताए । यस खालको शिविर अन्य प्रदेशमा पनि गरिने सेनाका प्रवक्ता सहायक रथी ढकालले जानकारी दिए ।अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्