सवाल क्रिटिकल केयरका जनशक्ति उत्पादन र व्यवस्थापन कै

पुरुषोत्तम घिमिरे / जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2019-02-20 11:16:33

‘क्रिटिकल’ शव्दबाट नझस्किनै कमै होलान् । जीवन मरणको दोसाँधमा पुगेका बिरामीहरुलाई क्रिटिकल केयर युनिटमा राखेर उपचार गर्नुपर्छ । बिरामीको अवस्था अनुसार उपचारका क्रममा कति मर्छन् त कतिले नयाँ जीवन पाउँछन् । चिकित्सकहरुका अनुसार, मेडिकल बिरामीको मृत्युदर बढि हुन्छ भने सर्जिकल बिरामीको कम । अमेरिका, जापान, वेलायतलगायतका विकसित मुलुकका आई.सी.यू.मा हुने बिरामीको मृत्युदर १० प्रतिशत छ । भारतका कर्पोरेट अस्पतालहरुमा आई.सी.यू.मा हुने बिरामीको मृत्युदर १५ देखि २० प्रतिशत सम्म छ । तर नेपालमा भने ३०—४० प्रतिशत पाइन्छ ।
नेपालमा आई.सी.यू. वेड सञ्चालनका लागि दक्ष जनशक्ति छैन । डा. रविराम श्रेष्ठले सन् २०११ मा ५० वेड भन्दा माथिका अस्पतालका आई.सी.यू.अध्ययन गर्दा देशभर करिब ७ सय र काठमाडौँ उपत्यकाभित्र मात्र ४ सय ५० आई.सी.यू बेड भएको पाइएको थियो । त्यो अनुपात हेर्दा अहिले हाम्रो देशमा करिब १ हजार भन्दा बढी आई.सी.यू. वेड छ भने सन् २०२० सम्म हाम्रो देशलाई करिब १ हजार ७ सय बेड आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
भेन्टिलेटरमा रहेका बिरामीमा क्रस इन्फेक्सन हुने धेरै संभावना भएकाले लेवल थ्री आई.सी.यू.मा एक जना बरामीका लागि एक जना नर्सको जरुरत पर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर कतिपय अस्पतालहरुमा एकजना नर्सले २ जनासम्म क्रिटिक युनिटमा बिरामीको हेरचाह गर्नुपर्छ । यसैगरी हाम्रो देशमा आई.सि.यू. इन्टेन्सिभिष्टहरुको पनि अभाव छ । नेपालमा पहिलोपटक त्रि.वि. शिक्षण असपतालमा सन् २०१३ बाट क्रिटिकल केयर मेडिसिनमा डीएम कोर्ष शुरु गरिएको भएपनि धेरै जनशक्ति उत्पादन हुन सकेका छैनन् । पाँच वर्षको अवधिमा ३ जनाले मात्र डीएम कोर्ष गर्न सफल भएका छन् भने अन्य १ जना अध्ययनरत छन् । नेपाल मेडिकल काउन्सिलले वर्षमा एक जना विद्यार्थीलाई मात्र क्रिटिकल केयर मेडिसिनमा डीएम भर्नाका लागि स्वीकृति दिने गरेकाले समस्या भएको हो । यस्तो अवस्थामा १ सय जना आई.सी.यू. इन्टेन्सिभिष्ट उत्पादन हुन त्रि.बि. शिक्षण अस्पतालबाट एक सय वर्ष कुर्नुपर्ने देखिन्छ ।
त्यसैले यसको विकल्पमा सरकारले १ देखि २ वर्षसम्मको फेलोसिप कोर्ष सञ्चालनका लागि स्वीकृत दिनुपर्छ । वर्षमा करिब १० जना मात्र क्रिटिकल केयर इन्टेन्सिभिष्ट उत्पादन गर्न सकिएमा दूरदराजमा रहेका जनताले पनि क्रिटिकल केयर मेडिसिनको सुविधा प्राप्त गर्न सक्छन् । त्रि.बि. शिक्षण अस्पताल जस्तो पब्लिक इन्स्टिच्युटहरुको लक्ष्य पैसा कमाउने नभई बिरामीलाई राम्रो उपचार सेवा दिने भएकाले सरकारले पर्याप्त बजेट छुट्याउन जरुरी हुन्छ ।
देशका नेता, मन्त्री सबैलाई त्रि.बि. शिक्षण अस्पतालमा आई.सी.यू. वेड संख्या कम भएको थाहा छ । तर उहाँहरु वेड संख्या थप्न पहल गर्नुहुन्न । उल्टै अस्पतालका सम्बन्धित व्यक्तिहरुलाई फोन गरेर आफ्नो मान्छेलाई वेड मिलाइदिन दवाव दिनुहुन्छ । के आई.सी.यू. वेड बिस्तारका लागि राजनीतिक सपोर्ट हुनुपर्दैन ? गतवर्ष मात्र त्रि.बि. शिक्षण अस्पतालको आई.सी.यू. वेडको स्तर र संख्या वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १५ करोड माग गरिएकोमा यसको कार्यान्वयन अघि बढाइएन । त्रि.बि.शिक्षण अस्पतालको आई.सी.यू.युनिटलाई सुविधासम्पन्न किन नबनाउने ? यसप्रति सरकार गम्भीर हुनुपर्ने देखिन्छ ।

    Comment Here!