एचआइभी सङ्क्रमित युवतीलाई टेक्ने ठाउँ भएन

भूपेन्द्रसिंह विष्ट, बैतडी || प्रकाशित मिति :2019-03-01 10:04:06

बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए ।

बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा (नाम परिवर्तन) जन्मिइन् । आमाको अनुहार समेत चिन्न नपाउँदै आमाले उनलाई छोडेर गइन् । कहाँ गइन् उनलाई केही थाहा छैन ।

त्यसपछि रिजा र उनका बुबा भारतमा एक्लै रहे । श्रीमतीले छोडेर गएपछि रिजाकी बुबाले नेपाल फर्किने निधो गरे र फर्किए । आमाले बुबालाई किन छोडिन् थाहा छैन उनलाई । किनकि उनी सानै थिई । नेपाल फर्किएका उनका बुबाले अर्काकी श्रीमतीसँग दोस्रो बिहे गरे । रिजा पनि दिन प्रतिदिन हुर्किंदै गइन् ।

आफ्नी आमाले छोडेपछि उनको बाल्यावस्था राम्रो हुने त कुरै भएन । सौतेनी आमाले दिने दुःख भोग्नुसम्म भोगिन् उनले । किशोरावस्थामा पुग्दासम्म उनको जीवन जेनतेन चलिरहेको थियो । तर, सौतेनी आमाको मृत्यु र बुबाले फेरि तेस्रो बिहे गरेर घरबाट सम्पर्कविहीन भएपछि अहिले उनी सहाराविहीन भएकी छन् ।

उनी मात्रै सहाराविहीन भएकी छैनन् उनकै दोस्रो सौतेनी आमाबाट जन्मिएकी पाँच वर्षकी बहिनी पनि छिन् । उनलाई आफ्नो भन्दा बहिनीको चिन्ता बढी लाग्छ । सहाराविहीन बनेकी रिजा आफन्त खोज्दै फुपूको घर पुगिन् । “मेरो आमाको अनुहार कस्तो थियो मलाई थाहा छैन, मलाई बुबाले नेपाल ल्याउनु भएको हो,” उनले भनिन् – “मलाई कति वर्षको उमेरमा आमाले छोडिन् त्यो पनि मलाई थाहा छैन । आमाको माइत भारतको कुन ठाउँ हो त्यो पनि थाहा छैन ।”

नेपाल ल्याएपछि उनका बुबाले उनलाई माया नै गर्थे । तर, उनका बुबा रोजगारीका लागि भारत गइराख्नुपर्ने हुनाले उनी सौतिनी आमासँग घरमै बस्नु पथ्र्याे । उनी सौतिनी आमासँगै हुर्किइन् । विद्यालय जान खोज्दा पनि उनकी सौतेनी आमाले नजाउ भन्ने गरेको उनी सुनाउँछिन् ।

“सौतेनी आमाले गाली गर्नुहुन्थ्यो, तिमीले घरमा काम गर, विद्यालय जानु पर्दैन भन्थे,” उनले विगत सम्झँदै भनिन् – “विद्यालय जाने मन धेरै नै थियो ।” सौतेनी आमाले विद्यालय नजाउ भने पनि उनी जसरी भए पनि घरको काम सकेर विद्यालय भने कहिलेकाहीँ जान्थिन् । पढाइमा पनि उनी राम्रै थिइन् । सो¥ह वर्षको उमेर हुँदा उनी कक्षा ९ मा पुगिन् ।

यसअघि उनकी सौतेनी आमाको एचआइभी सङ्क्रमणबाट मृत्यु भयो । सात महिना अघि उनकी सौतेनी आमाको निधन भएको उनी बताउँछिन् । त्यसपछि उनको जीवन अन्धकार झै भयो । उनकी आमा उनका बुबासँग बिहे गर्नुअघिदेखि नै एचआइभी सङ्क्रमित रहेछिन् तर, विडम्बना उनका बुवालाई त्यो कुरा थाहा भएन । बुबासँगको बिहेपछि सौतेनी आमाले छोरी जन्माइन् र उनमा पनि एचआइभी सङ्क्रमण देखियो ।

सौतेनी आमाले आफूलाई एचआइभी सङ्क्रमण देखिएको कुरा छोरी र श्रीमान्लाई बताएकी थिइनन् । उनी भन्छिन् – “मलाई त्यस्तो रोग छ भनेर आमाले बताउनु भएन । उहाँ बिरामी हुनुहुन्थ्यो । उहाँ जिल्ला अस्पतालमा जाँच गर्न जानुभयो । त्यहाँबाट सङ्क्रमित भएको रिपोर्ट दिइएको रहेछ । तर, उहाँले आफू सङ्क्रमित नभएको बताउनुहुन्थ्योे ।”

सौतेनी आमाले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको उनको भनाइ छ । “आमाले बहिनीलाई त राम्रो मान्नु हुन्थ्यो तर, मलाई कुट्नु हुन्थ्यो,” उनले भनिन् – “खाना पनि राम्रोसँग दिनुहुन्नथ्यो ।” युवतीलाई सौतेनी आमाले महिनावारी भएका बेला लगाएका लुगाकपडाहरु धुन लगाउँथिन् । उनी भन्छिन् – “उहाँका महिनावारी भएका बेला लगाएका लुगा मलाई धुन दिनुहुन्थ्यो । म ती लुगा धुन्थे ।”

सङ्क्रमित भएको यसरी थाहा पाइन् 

युवतीले आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएको एक महिना मात्रै भएको छ । सौतेनी आमाको मृत्यु र बुबा बेपत्ता भएपछि सहाराविहीन युवती आफन्त खोज्दै फुपूको घर पुगिन् । फुपूको घरमा बस्ने र त्यहीँ काम गर्ने गर्थिन् । एक दिनको कुरो हो, फुपूको घरमा उनकी आमाको एचआइभी सङ्क्रमणबाट मृत्यु भएको थाहा पाएपछि कतै युवतीमा पनि एचआइभी त छैन भनेर उनलाई जाँच गर्न पठाइयो ।

उनी स्वास्थ्य परीक्षण गर्न बैतडीबाट डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल पुगिन् । उनलाई एकजना दिदीले उपक्षेत्रीय अस्पताल ल्याएकी हुन् । त्यहाँ स्वास्थ्य जाँच गराएर उनी फूपुको घर गइन् । प्रतिवेदन आएको थिएन । पछि ती दिदीले प्रतिवेदन ल्याउनुभएको रहेछ । ती दिदीले केही जानकारी नदिई उनकी फुपूलाई त्यो कुरा भनेछन् । उनले भनिन् – “अनि फूपुको घरमा मलाई नराम्रो व्यवहार गर्न थालियो र मलाई त्यसपछि थाहा भयो कि म एचआइभी सङ्क्रमित भएको ।” युवतीमा एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि फुपूले उनलाई आफ्नै घर पठाइदिइन् । अहिले उनी आफ्नै घरमा बस्दैआएकी छन् ।

रिजा र उनकी पाँच वर्षीया बहिनी अहिले सहाराविहीन छन् । जाँच गरेको एक महिना पुग्दा समेत उनले औषधि उपचार गरेकी छैनन् । आर्थिक अवस्था पनि निकै नै कमजोर छ । उनलाई सहयोग गर्ने र बाटो देखाउने पनि कोही छैनन् । उनी भन्छिन् – “अब पढ्ने पनि कसरी ? पढाउने मान्छे पनि छैनन् । तर, पढेर ठूलो मान्छे बन्ने विचार त छ ।” सहारा खोज्दै उनी भौँतारिरहेकी छन् । तर, उनलाई कसले हेरिदिने ? उनीसँग एक बहिनी पनि छन् । बहिनीलाई के खुवाउनु ? कसरी पढाउनु ? आफैं पनि समस्याले गाँजिएको छ । समाज, गाउँघर सबैको नजरमा फरक बनेकी उनले महशुस गरेकी छन् । सबैले थाहा पाएपछि हेलाँ मात्र गरेका छन् । म र मेरो बहिनीलाई बचाउन मलाई आर्थिक सहयोग गरिदिनोस् भन्दै उनी गुहार्छिन् । उनलाई केही दिन अघि एड्स सङ्कमितहरुलाई सहयोग गर्ने संस्था डडेल्धुरा प्लस पु¥याइएको थियो ।   रासस

    Comment Here!