Logo
|
Friday 19th April 2024
Logo

epaper

सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पो चितवनमा शुरु, स्वदेशी औषधिलाई प्राथमिकता दिन आग्रह



मरणोपरान्त अंगदानका लागि सामाजिक अभियान सहितको तीन दिने (१७—१९ गते) सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पो चिनवनमा शुरु भएको छ । हरेक दुइवर्षमा हुने एक्स्पो पहिलो पटक उपत्यका बाहिर भएको हो । एक्स्पोमा करिब ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने र एक हजार भन्दा बढिले अंगदान गर्ने आशा गरिएको छ । एक्स्पोमा २ सय स्टल रहेका छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० ओटा बहुर्राष्ट्रिय कम्पनि, १ सय २० भारतीय, चिनिया १० कम्पनी एक्पोमा सहभागी रहेका छन् । नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिएका छन् ।     एक्स्पोमा विभिन्न टेक्निकल सेमिनारका साथै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको समेत व्यवस्था गरिएको छ । एक्पोको प्लाटिनम स्पोन्सर प्यासिफिक कमर्सियल कम्पनी प्राइभेट लिमिटेड रहेको छ । यसैगरी डायमण्ड स्पोन्सरमा सन्साई फर्मा र एलम्याक टेक्नोलोजी रहेका छन् । एक्स्पोको गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपीएम मेसिनरी र एजिलेन्ट टेक्नोलोजी प्रुडेन्ट मेडिटेक रहेका छन् ।
नेपाल औषधि उत्पादन संघको आयोजनामा भएको एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्नुभयो । उहाँले स्वदेशी औषधिबाट मुलुकलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन सरकार र उद्योगीहरुको समन्वय आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो—‘अनि मात्र मुलुकमा स्वदेशी औषधिले वर्चस्व जमाउन सक्नेछ ।’
यसैगरी औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सरकारको नीति नियम अवलम्बन गर्दै अघि बढ्न स्वदेशी औषधि कम्पनिहरुलाई आग्रह गर्नुभयो । उहाँले स्वदेशी औषधिहरुको विकास र विस्तारमा सबैको हातेमालो आवश्यक भएको बताउनुभयो । सो अवसरमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपक प्रसाद दाहालले सरकारले सहयोग गरेमा मुलुक स्वदेशी औषधिमा आत्मनिर्भर हुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरका औषधिसँग स्वदेशी कम्पनिबाट उत्पादित औषधिहरु सक्षम रहेको जानकारी गराउनुभयो ।
एक्स्पोका संयोजक जि.नारायण बहादुर क्षेत्रीले नेपालमा उत्पादन भइरहेका औषधि उत्पादनका प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारे सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पोको आयोजना गरिदै आएको बताउनुभयो । नेपालमा प्रत्येक वर्ष ३५ वटा प्राविधिक कलेजबाट करिब १ हजार ५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिष्ट उत्पादन हुँदै आएका छन् । सचेतनाका लागि आज बिहान चितवनमा औषधि उद्यमीहरुले प्रभातफेरिको समेत आयोजना गरेका छन् ।
यस वर्ष औषधि उत्पादक संघले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पहिलो पटक मरणोपरान्त अंगदानको अभियानलाई संस्थागत गर्ने निर्णय अनुरुप भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रसँग सहकार्य गरेको छ । एक्स्पोलाई सफल बनाउन औषधि व्यवस्था विभाग, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल औषधि व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल्स एसोसिएसन र ग्राजुयट फर्मासिष्ट एसोसिएन अफ नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युएसन अफ नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्