उपचार खर्च २० हजार, बस्न दुई लाख

सुरेन्द्र काफ्ले/  खगेन्द्र भण्डारी, काठमाडौँ || प्रकाशित मिति :2019-03-05 04:28:40

दृश्य: १

आइतबार बिहान ९ः१५ बजे वीर अस्पताल परिसरको दृश्य हाटबजारको जस्तै थियो । अस्पताल प्रांगणमा खुट्टा राख्ने ठाउँ थिएन । अस्पतालसँगै जोडिएको ट्रमा सेन्टरसम्म थियो टिकट काट्नेको लाम । नयाँ, पुराना बिरामी अनि आफन्तको लाम थियो त्यो । त्यही बीचमा कसैले भन्यो, ‘पुराना बिरामी लाममा बस्नुपर्दैन ।’ अनि भयो कुदाकुद । पुराना बिरामी लाम बस्न छाडेर दगुर्दै अस्पतालभित्र गए । चप्पल नै छाडेर दगुरे केही त ।

दृश्य : २

अपराह्न ३ बजेको थियो । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतको कार्यकक्षबाहिर चारपाँचजना बिरामी उनको पर्खाइमा थिए । बस्नेतको ‘नेमप्लेट’ मा बाहिर लेखिएको थियो । हातमा फाइल समातेर बिरामी र तिनका आफन्त बस्नेत सर कतिबेला आउँछन् भनेर उभिइरहेका थिए । सरकारले दिने भनेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बिमा) का लागि निर्देशककै हस्ताक्षर आवश्यक हुन्छ । त्यसैका लागि उनीहरू बस्नेतको पर्खाइमा थिए ।एक कर्मचारी हस्याङफस्याङ गर्दै निर्देशक बस्नेतको कार्यकक्षमा गए । बाहिर उभिएका ७१ वर्षीय वीरबहादुर माझीले बस्नेत सरको सोधीखोजी गर्दा ती कर्मचारीको प्रस्तुतिमा शिष्टता थिएन । वृद्ध माझीले हातमा रहेको फाइल ती कर्मचारीलाई देखाएका मात्र के थिए, ती कर्मचारी ठूलो स्वरमा जंगिए । मानौं, ती वृद्धले ठूलै गल्ती गरेका थिए । ‘यत्रा छोराछोरी भएको मान्छे यहाँ आएर जात्रा गर्ने हो ? ’ ती कर्मचारीले माझीलाई हपारे, ‘यहाँबाट गइहाल्नुहोस्, तपाईंको केही हुँदैन ।’ सरकारले दिएको सुविधा पाउन आग्रह गर्दा उल्टै हप्की खाएका ती वृद्धको केही चलेन । उनी मलिन अनुहार लिएर फर्किए ।

लाम बस्दै बिरामीको दिन बित्छ

वीर अस्पतालमा देखिने लाइनले बिरामी थप बिरामी होला भन्ने चिन्ता हुन्छ । उपचारका लागि अस्पताल पुगेको बिरामीले चिकित्सककहाँ पुग्न कम्तीमा पनि आधा दर्जन लाम छिचोल्नुपर्छ । एउटै ठाउँमा एकाध घन्टा लाम लाग्नु सामान्य हो । टोकन लिन लाम, टिकट काट्न लाम, पैसा तिर्न लाम, दर्ता गर्न लाम, डाक्टरसम्म पुग्न लाम, ल्याबका लागि लाम अनि रिपोर्ट लिन लाम । लाम बस्दैमा बिरामीको दिन बित्छ ।

बिरामीको लाइन थेगिनसक्नु हुन्छ तर कर्मचारीहरू विभिन्न बहानामा जिम्मेवारीबाट फुत्किरहेका हुन्छन् । बिरामी झन्डै एक घन्टा लाम लागेर झ्यालमा के पुगेका थिए ‘अब एक घन्टापछि आउनुस्’ भन्दै कर्मचारी निस्किए । लाममा रहेका बिरामी र आफन्त अक्कनबक्क भए । ‘के गर्ने के न गर्ने सर, अब यत्रो लाम लागेर पालो आयो भनेको, खाजा खाने समय रे’, लाममा उभिएका बिरामीका आफन्त केशवराज बिष्टले छेउमै रहेका अर्का बिरामीसँग भन्दै थिए, ‘होइन, यहाँका कर्मचारीले बिरामीको पीडा बुझ्दैनन् कि क्यो हो ? खाजा खाने समय भए पनि कामै बन्द गरेर त नगए हुने नि । पालैपालो जान सकिँदैन होला ? ’ अस्पतालमा एकदेखि दुई बजेसम्म खाजा खाने समय तोकिएको छ । त्यो समयमा काम बन्द गरेर कर्मचारी खाजा खान जाँदा बिरामी मर्कामा पर्ने गरेका छन् ।

हरेकपटक लाम लाग्नुपर्ने बाध्यताले पनि बिरामी हैरान हुन्छन् । ‘जहाँ पनि लाम, लाम लाग्दालाग्दै दिन बित्छ’, लाममा बसेका एक बिरामीले भने, ‘कति दुःख दिन सक्या होला ? ’ भीड व्यवस्थित गर्न टोकनको व्यवस्था त गरिएको छ तर बिरामीको भीडका कारण गेटदेखि उपचार कक्षसम्म अस्तव्यस्त देखिन्छ । भीड व्यवस्थापन निकै चुनौतीपूर्ण छ अस्पतालका लागि । चौबिसै घन्टा खुला हुने अस्पतालभित्रकै औषधि पसलमा आइतबार दिनभर भीड थियो ।

बिरामीको आक्रोश

शौचालयमा समेत लामो समयसम्म लाम लाग्नुपरेपछि बिरामी भन्दै थिए, ‘मन्त्री, प्रधानमन्त्री समृद्धिका कुरा गर्नुहुन्छ, देशकै जेठो र पुरानो अस्पतालको यस्तो बेहाल छ । मन्त्रीहरूलाई यहाँ ल्याएर लाइन लाउन पाए थाहा हुन्थ्यो सर्वसाधारणको पीडा ।’ सहरका मध्यम वर्गमुनिका र गाउँका बिरामीको भरोसा हो वीर अस्पताल । तर बिरामीको थेगिनसक्नुको भीडले न त सोचेजस्तो उपचार सेवा पाइन्छ, न त चिकित्सकले नै समय दिएर बिरामीको कुरा सुन्छन् ।

उपचारका लागि दार्चुलादेखि आएका एक बिरामीको पीडा थियो, ‘बल्लबल्ल डाक्टरसाप्लाई देखाउने पालो आयो तर दुई मिनेट पनि कुरा सुनेनन् । बेकारमा आइयो यहाँ ।’ वीर अस्पताल पुग्ने उनीजस्ता धेरै बिरामीको साझा गुनासो हो यो । कर्मचारीदेखि चिकित्सकसम्मले झर्केर बोल्ने व्यवहारले बिरामी र आफन्त असन्तुष्ट छन् ।

अस्पतालको भुइँतलामा सूचना कक्ष छ । त्यहाँ खटिएका एक कर्मचारीलाई भ्याइनभ्याइ छ । टिकट काट्ने ठाउँ सोध्नेदेखि चिकित्सकबारे जानकारी लिनेको भीडले ती कर्मचारी आजित हुन्छन् । एउटै कुरा पटकपटक दोहो¥याइँरहदा उनलाई झर्काेलाग्दो हो । सबैका गुनासा सुन्ने समय पनि हुन्न उनलाई । त्यसैले कतिपय बिरामी आवश्यक जानकारी नपाउँदा अलमलमा परेका देखिन्थे ।

चिकित्सकको चासो एमआरतर्फ

तेस्रो तलाको कलेजो तथा पित्ताशय तथा ग्यास्ट्रोलोजी कक्षको अगाडि मेडिकल रिप्रेजेन्टिभ (एमआर) को भीड लागेको थियो । १२ बजेर ५० मिनेटपछि एमआरलाई भेट्ने समय लेखिएको सूचना टाँसिएको थियो । एमआरहरू त्यसअघि नै चिकित्सकको कोठामा पुगिसकेका थिए । बिरामी भने बाहिर पालो कुरेर बसेका थिए । चिकित्सकको प्राथमिकतामा पनि बिरामीभन्दा एमआर नै थिए ।

उपचार खर्च २० हजार, बस्न दुई लाख

दैलेखको डाँडीमाडीका ७० वर्षीय जर्सी थापा वीर अस्पतालमा उपचारका लागि आएको तीन महिना भयो । उनको उपचार खर्चभन्दा बसाइ खर्च दस गुणा बढी छ । निरन्तर वीर अस्पताल धाइरहेका उनको उपचारमा २० हजार रुपैयाँ खर्च भयो तर बसाइ लम्बिँदा थप दुई लाख रुपैयाँ खर्च भएको छ उनको । ‘आउन, जान र बस्न धेरै खर्च भयो,’ उनले भने, ‘कहिले के भन्या छ, कहिले के खान बस्नमै पैसा सकियो ।’

बिग्रिरहन्छन् उपकरण

मिर्गौला परीक्षण गर्न आवश्यक ‘गामा इमेजिङ मेसिन’ बिग्रिरहन्छ । वीरको मेसिन सधैं बिग्रिरहने भएकाले बिरामीहरू निजी अस्पतालमा जान बाध्य छन् ।

निजीसँग ‘सेटिङ’ का कारण वीर अस्पतालका अत्यावश्यक मेसिन बिगार्ने गरिएको बिरामीको आरोप छ । ‘जहिले पनि मेसिन बिग्रेको भन्छन् । यस्तो नि हुन्छ? ’, बिरामी भन्छन्, ‘यहाँका कर्मचारी नै उता जाऊ भनेर पठाउँछन् । यो त सीधै मिलेमतो हो ।’ कतिपय ल्याब परीक्षण महिनामा दुई दिनमात्रै हन्छ भने बाथरो लगायतको परीक्षण पनि महिनामा दुई पटक मात्रै हुने गरेको बिरामी बताउँछन् ।

सिटी स्क्यान, एमआरआई मेसिन, भिडियो एक्सरेको पनि हालत उस्तै छ । ‘दुई दिन ठिकठाक हुन्छ अनि बिग्रिहाल्छ । हामीले महँगोमा निजीमा जानुपर्छ’, बिरामी राजु तामाङले भने । सिटी स्क्यान मेसिनलगायतका महँगा उपकरण खरिदमा अनियमितता भएको रिपोर्ट राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरिसकेको छ । उपकरण खरिदमा भएको भ्रष्टाचारका सम्बन्धमा अख्तियारले पनि छानबिन गरिरहेको छ ।

भर्ना पाउन कठिन

बिरामीको उपचार गर्न जति कठिन छ, त्योभन्दा बढी संघर्ष गर्नुपर्छ यहाँ भर्ना हुन । बिरामीको चाप अत्यधिक हुने भएकाले वीरमा बिरामी हतपत भर्ना नै पाइन्न । पहुँच नहुनेका लागि वीर बिरानो लाग्छ । कि अस्पतालमै आफन्त हुनुपर्छ, नभए सोर्सफोर्स चाहिन्छ नत्र कम्तीमा तीनचार महिना कुर्नुपर्छ शल्यक्रियाका लागि ।

इमरजेन्सी कक्ष अत्यन्त साँघरो छ । सीमित शड्ढया भएकाले सबैलाई सहजै उपलब्ध गराउन अस्पताल प्रशासनले सकेको छैन । इमरजेन्सी कक्ष विस्तार सुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

चिकित्सक आन्दोलनले बिरामीलाई मर्का

चिकित्सक आन्दोलनले पनि वीरमा पुगेका बिरामीलाई ठूलै मर्का हुने गरेको छ । दूरदराजबाट उपचारका लागि आउने बिरामी अस्पताल पुग्दा चिकित्सक आन्दोलनका कारण उपचार पाउन वञ्चित हुन्छन् । सरकारी अस्पतालमा हुने चिकित्सक आन्दोलन नयाँ र आश्चर्यको विषय रहेन । अहिले पनि समायोजनका नाममा चिकित्सकहरू आन्दोलनमा छन् ।

बिरामी कुरुवाको पीडा उस्तै

अस्पतालमा बिरामी कुरुवाको सास्ती पनि उस्तै छ । कुरुवालाई बस्ने सीमित ठाउँ छ तर त्यसले पुग्दैन उनीहरुलाई । अस्पताल प्रांगणमै सुत्नेहरूपनि भेटिन्छन् दिउँसो पनि ।

पार्किङ स्थलको समस्या

अस्पतालमा सबैभन्दा ठूलो समस्या पार्किङको हो । वीर अस्पतालभित्र पार्किङ स्थल छैन । आफ्नै सवारीसाधन लिएर अस्पताल पुग्ने बिरामीका आफन्तलाई सबैभन्दा टाउको दुखाइ नै बन्ने गरेको छ पार्किङ । अस्पतालबाहिरको महाबौद्ध जाने बाटोमा पार्किङ गर्नुपर्छ । त्यहाँ पनि सहजै ठाउँ पाइँदैन । सडकछेउमा राखे ट्राफिक कारबाहीको डर हुन्छ ।डा. केसी खुल्न चाहेनन्अन्नपूर्ण टिम अस्पताल पुग्दा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि त्यहीं भेटिए । चिकित्सा शिक्षाको गुणस्तर सुधारको माग राखेर डा. केसी जुम्लादेखि इलामसम्म पुगेर अनशन बसे । बिहान १० बजेतिर वीर पुगेका डा. केसी करिब १ घन्टाजति त्यहाँ बसेर निस्किए । उनले चिकित्सकसँग गफ गरे र सँगै चिया पनि खाए । उनलाई वीर अस्पतालमा देखिएका समस्याबारे प्रतिक्रिया लिन खोज्दा खुलेर बोल्न चाहेनन् । ‘यहाँको समस्या के छ, मैले बुझेको छैन, बरु दुई तीन सिनियर डाक्टरलाई सोध्नुहोला । अहिले म केही पनि भन्दिनँ’ उनले भने । उनको कुरा सुनेका एक बिरामीले भने, ‘डा. केसी पनि किन सरकारी अस्पतालको दुरवस्थाबारे बोल्दैनन् ? खाली मेडिकल कलेजका कुरा मात्र मात्र गर्छन् ।’

बाहिर चिटिक्क, भित्र बेहाल

बाहिरबाट हेर्दा वीर अस्पताल सुन्दर देखिन्छ । रङरोगन लगाएर सजाइएको छ अस्पताल । हास्यकलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नै पहलमा अस्पतालमा रङरोगन गरेका थिए । अहिले अस्पताल बाहिरबाट हेर्दा चिटिक्क देखिन्छ, तर भित्र भने त्यस्तो छैन । शौचालय र भुइँ निकै फोहोर देखिन्छ ।

राणा प्रधानमन्त्री वीरशमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा जेठो र ठूलो अस्पताल हो । अस्पताल सन् २००३ पछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत सञ्चालित छ । अस्पतालमा ४५८ शड्ढया छन् । वीरले अत्याधुनिक प्रविधिको प्रयोगका साथै निरन्तर सेवा विस्तार गरिरहेको छ । यहाँ छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध छ ।आजको अन्नपूर्णपोष्टबाट

    Comment Here!