Logo
|
Saturday 20th April 2024
Logo

epaper

विश्व मिर्गौला दिवस २०१९ः १० औं नेपाल प्रत्यारोपण खेलकुदको आयोजना



उच्चरक्तचाप, मधुमेह, संक्रमण, वंशाणुगत, पत्थरी, जथाभावी औषधि सेवन लगायत विभिन्न कारणले शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला विफल हुनेहरुको संख्या बढिरहेको छ । मिर्गौलाले पिसाब बनाउने, शरीर, रगत शुद्धिकरण गर्ने र शरीरको विशाक्त पदार्थ पिसाबबाट बाहिर निकाल्न मद्धत गर्छ । मिर्गौला विफल भएपछि यी सबै कार्यमा रोकावट आउँछ ।
यद्यपी मिर्गौला रोग धेरैलाई बोझको विषय बनेको छ । इन्टरनेशनल फेडरेसन अफ किड्नी फाउन्डेसनका अनुसार, विभिन्न कारणबाट विश्वभर ८५ करोड जनता मिर्गौला रोगी भएका छन् । त्यसमध्ये मिर्गौलाको दीर्घ रोगबाट बर्षेनी २४ लाखको मृत्यु हुने गरेको छ । एक्युट मिर्गौला रोगबाट बार्षिक १७ लाखको मृत्यु भइरहेको छ ।
फाउन्डेसनले व्यक्तिको मृत्यु बढाउने छैटौं कारण मिर्गौलाको दीर्घ रोगलाई लिइएको छ । मिर्गौलाको दीर्घ रोग गराउने एक्युट किड्नी इन्जुरीबाट विश्वभर १३ करोड व्यक्ति प्रभावित छन् । त्यसमध्ये ८५ प्रतिशत नेपाललगायत मध्यम तथा न्युन आय भएका मुलुकका जनता पर्दछन् ।
करिब १० प्रतिशत हरेक देशका नागरिकलाई मिर्गौलाको समस्या देखिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार लिँदा नेपालमा पनि करिब ३० लाखलाई मिर्गौलासम्बन्धि विभिन्न रोग भएको अनुमान गरिएको छ । मिर्गौला फेल भएर अहिले मुलुकमा ४ हजार पाँचसय भन्दा बढीले डायलाईसिस गरिरहेको र करिब १ हजार ३ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको जनाइएको छ ।
यसैलाई दृष्टिगत गरी विगत वर्षहरुझैं यस वर्ष पनि विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी विश्व मिर्गौला दिवस मनाइएको छ । सन् २०१८ मा मार्च ८ मा परेको साताव्यापी विश्व मिर्गौला दिवस सन् २०१९ मा मार्च १४ मा परेको छ । सन् २०१९ मा ‘सबैका लागि र सबैतिर मिर्गौला स्वास्थ्य’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइएको छ ।
विश्व मिर्गौला दिवस २०१९ का अवसरमा ‘अंगदान तथा अंग प्रत्यारोपणपछि हरेक व्यक्तिले सामान्य जीवनयापन गर्न सक्छ’ भन्ने सन्देश दिन धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानको पहलमा यस वर्षपनि १० औं नेपाल प्रत्यारोपण खेलकुद कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयको मैदानमा अंगदान तथा अंग प्रत्यारोपित व्यक्तिहरुबीच ब्याडमिन्टन तथा दौड प्रतियोगिता एवं अंग प्रत्यारोपित व्यक्तिहरु तथा डाक्टर, कलाकार तथा अन्य टोलीबीच फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । यस वर्ष भएको फुटबल प्रतियोगितामा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत चिकित्सकहरुको सहभागिता रहेको थियो ।
शरीर सुन्निने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने, खाना रुची कम हुने, वाक वाक लाग्ने, शरीरमा रगत कम भएर सेतो हुँदै जाने, शरीरको छाला गाढा कालो भएर जाने, श्वास फेर्न गारो हुने, छाति दुख्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा मिर्गौलामा समस्या हुनसक्ने विज्ञहरु बताउँछन् ।
मिर्गौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवम् आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला जाँच गर्नुपर्ने पनि उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्