Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

रक्तदान कार्यक्रम आयोजना



ब्लड डोनर्स एशोसिएशन नेपालले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवद्र्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको सो संस्थाले शनिबार पत्रकार सम्मेलनमा जनाएको छ ।

संस्थाका उपाध्यक्ष सूर्यलाल महर्जनले नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताउँदै रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने बताउनुभयो । देशभरि रक्त अभाव हुन नदिन र रगतको मागलाई परिपूर्ति गर्ने गरी संस्थाले जनचेतनामूलक कार्यक्रम अघि सारेको पनि महर्जनले बताउनुभयो । महर्जनले अहिलेसम्म १०० पटक रक्तदान गरिसक्नुभएको छ ।

संस्थाको काठमाडौँ शाखाका सचिव अनिलरत्न तुलाधरले नेपाल मात्रै नभएर भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीले नेपालबाट रगत दान गरिसकेका छौँ । हाम्रो संस्थाकै समकक्षी भारतीय संस्थाको सहयोगमा रगत उपलब्ध गराउने काम भइरहेको छ ।” तुलाधरले आफूले भाइवर, इमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्