फादर अफ न्युरो सर्जन्स्: जो आज पनि बिरामीको हेरचाहमा सक्रिय

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-03-17 04:47:00

८६ वर्षीय डा. दिनेश नाथ गोंगल बिरामीको हेरचाहमा आज पनि त्यत्तिनै सक्रिय हुनुहुन्छ । बिहान ९ बजे हस्पिटल पुग्नुहुन्छ । दिनभर बिरामीको हेरचाहमा व्यस्त र बेलुका ४ बजे घर फर्किनुहुन्छ । उहाँ नेपालमा टाउको खोल्ने पहिलो चिकित्सक हुनुहुन्छ । त्यसैले डा. गोंगल नेपालको फादर अफ न्यूरो सर्जन्स्का रुपमा चिनिनुहुन्छ । उहाँले त्रिभुवन राजपथमा सवारी दुर्घटनामा परेर हेड इन्जुरी भएकी एकजना केटीको सन् १९६१ को डिसेम्भरमा पहिलोपटक बीर अस्पतालमा शल्यक्रिया गर्नुभएको थियो । डा. गोंगल न्यूरोको मात्र होइन, जनरल शल्यक्रियाहरु पनि गर्नुहुन्थ्यो । आफ्नो जीवनकालमा डा. गोंगलले साना ठूला गरी हजारौं शल्यक्रिया गर्नुभयो । उहाँले तालिम दिएका र बीर अस्पतालबाट तालिम लिन पठाएका धेरै चिकित्सकहरु देशका प्रतिष्ठित शल्यचिकित्सकका रुपमा परिचित छन् । लामो समय लाग्ने कारण धेरै चिकित्सकहरु न्यूरो शल्यक्रियाका लागि तयार हुँदैनथे । डा. गोंगलका चेला प्रा.डा. उपेन्द्र देवकोटा न्यूरो शल्यक्रियामा लगनशील सर्जन हुनुहुनुन्थ्यो । बेलायतमा न्युरो सर्जरीको उच्च तालिम लिएर सन् १९८९ मा नेपाल फर्केपछि मुलुकमा सफल न्युरो सर्जरी सेवा शुरु भयो । उहाँले मुलुकमा न्युरो सर्जरीमा तालिम शुरु गर्नुभयो । अहिले मुलुकमा न्यूरो सर्जरी सेवा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको छ । न्यूरो सर्जरी सेवा यतिखेर बिसालिएको छ । मुलुकमा न्युरो सर्जरी सेवाको विकास र

विस्तारबारे डा. गोगल के भन्नुहुन्छ ?
त्यो बेला न्यूरो शल्यक्रियाका लागि अहिलेको जस्तो अत्याधुनिक प्रविधि थिएन । बीर अस्पतालमा भएको ट्रेफ्यान उपकरणको मद्धतले मैले टाउकाको पहिलो शल्यक्रिया गरेको थिएँ । तर जटिल चोट भएका कारण बिरामी बचाउन सकिएन । त्यो बेला न्यूरो अनुसन्धानका लागि प्राप्त भएका सुविधाहरुमा एक्स—रे मेसिन मात्र थियो । एक्स—रेको भरमा क्लिनिकल परीक्षण गर्नुपथ्र्यो । सन् १९६२ मा टोखाका शंकर मानन्धरको दोस्रोपटक ब्रेन ट्यूमरको शल्यक्रिया गरेँ । यसपटक भने बिरामी बाँच्न सफल भयो । त्यो बेला उपकरण खरीद गर्ने अस्पतालको बजेट थिएन । राजदरबारका एकजना उपसचिवलाई उपचारका लागि मुम्बई लिएर गएको बेला व्यक्तिगत १० हजार आईसी खर्चेर न्यूरो शल्यक्रियाका केही उपकरण ल्याएको थिएँ । भारतको मुम्बइमा सन् १९५८—१९६१ सम्म सर्जरीमा मास्टर्स अध्ययनका क्रममा न्यूरो सर्जरीको तालिम लिने मौका पाएको थिएँ ।

मैले गरेका शल्यक्रियाहरु कति सफल भए कतिपय असफल पनि भए होलान् । तर मुलुकमा न्यूरो शल्यक्रियाले ठूलो फड्को मारेको छ । यो आम बिरामी र सिंगो मुलुकका लागि महत्वपूर्ण उपलब्धि हो ।

त्यो बेला इथरको माध्यमबाट व्यक्तिलाई बेहोस गराइन्थ्यो । अहिलेको जस्तो सुविधा थिएन । ब्रेन ट्यूमरको शल्यक्रिया सफल हुन थालेपछि हौसला बढ्दै गयो । त्यसपछि स्पाइनको शल्यक्रिया शुरु गरेँ । यसमा पनि सफलता पाएँ । आफ्नो क्षमता, ज्ञानले भ्याएसम्म समस्या पहिचान गरेर शल्यक्रिया गर्दा प्राप्त भएका सफलता र असफलता दुवैले काम गर्ने क्षमतालाई निकै परिस्कृत बनाउँदै लग्यो । त्यो बेला युनाइटेड स्टेट मिसनमा काम गर्ने एक जना डा. क्रोञ्चले शल्यक्रियाका लागि धेरै गाइड गर्नुभएको थियो । सन् १९६४ तिर एकजना बच्चाको ब्रेन ट्यूमरको शल्यक्रिया गरेँ । बच्चा त बाँचेन तर यसको १६ मिलिमिटरको सिनेमा मुभी पनि मैले बनाएको थिएँ । वीर अस्पतालको नयाँ भवन बनेपछि हप्ताको दुई दिन बिहान जनरल सर्जरी र दिउँसो २ बजेपछि न्यूरो सर्जरीमा नै दिन बित्न थाल्यो । शल्यक्रियाका लागि आवश्यक पर्ने रगत परोपकारका स्वयंसेवकहरुले जुनसुकै बेला पनि उपलब्ध गराउँथे ।

डा. गोंगल मुटु र फोक्सोको शल्यक्रिया गर्ने पनि पहिलो चिकित्सक हुनुहुन्छ । उहाँले सन् १९६५ को जनवरीमा पहिलोपटक मुटु खोल्नुभएको थियो ।

त्यो बेला भेलोरका वरिष्ठ न्यूरो सर्जन डा. केभि पथाई पनि सघाउन आउनु हुन्थ्यो । न्यूरो सर्जरी युनिट खोल्दा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धेरै मद्दत गर्नुभएको थियो । उहाँले चिकित्सक तालिमका लागि विदेश पठाउने, चिकित्सक दरबन्दी थप्ने जस्ता कार्यक्रमा सहयोग गर्नुभएको थियो । मुलुकमा सिटी स्क्यान र एमआरआईजस्ता अत्याधुनिक सेवा भित्रिएपछि न्यूरो सर्जरी सेवाले महत्वपूर्ण सफलता प्राप्त गर्दै आएको छ ।
प्रा.डा. उपेन्द्र देवकोटा बेलायतमा तालिम सकेर सन् १९८९ मा नेपाल फर्किसकेपछि मुलुकमा न्युरो सर्जरी सेवाले धेरै नै राम्रो उपलब्धी हाँसिल गर्न सफल भयो । डा. देवकोटाको अभाव कसैले पनि पूर्ति गर्न सक्दैन । कतिपयले प्रा.डा. देवकोटालाई घमण्डी भन्लान् । तर त्यो होइन । प्रा.डा. देवकोटा सँग सन् १९७८ देखि संगत गरेको थिएँ । म उहाँको काम गराइबाट धेरै नै प्रभावित भएको छु । उहाँको दाँजोमा अरु कोहिपनि छैन । मुलुकलाई प्रा.डा. देवकोटाजस्तो चिकित्सक पाउन धेरै समय लाग्छ ।
मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । सबै कुरा तालिममा सिकाइदँैन । तर ‘गर्छु’ भन्ने डेडिकेसन हुनुपर्छ । न्युरो सर्जरी सेवामा जोखिम धेरै भएपनि जोखिम मोलेर काम गर्नुपर्छ । सफल न्युरो सर्जन बन्न दृढटा, लगनशिलता र मेहनत चाहिन्छ । बिरामीको सेवामा तल्लिन हुनुपर्छ । पछिल्लो समय आएका न्युरो सर्जनहरुको भविश्य धेरै राम्रो छ । उनीहरुले राम्रो गरिरहेका छन् । न्युरो सर्जनहरुलाई मैले सन्तानको रुपमा लिएको छु । ‘सन्तानले डाँडाकाडा ढाकुन्’ भन्ने चाहना थियो शहर त ढाक्यो । तर गाउँगाउँ सम्म न्युरो सर्जन पु¥याउन सकिएको छैन । यसप्रति राज्यको ध्यान जान जरुरी छ ।

डा. गोँगलको मिहनेत
डा. गोंगल फोक्सोको शल्यक्रिया गर्ने पनि पहिलो चिकित्सक हुनुहुन्छ । उहाँ मुटुको शल्यक्रिया गर्ने पनि पहिलो चिकित्सक हुनुहुन्छ । उहाँले सन् १९६५ को जनवरीमा पहिलोपटक मुटु खोल्नुभएको थियो । गोमा नाम गरेकी एकजना महिलाको उहाँले मुटुको शल्यक्रिया गर्नुभएको थियो तर यो शल्यक्रिया गरेकी महिला बाँच्न सकिनन् । त्यसपछि बीरबहादुर नाम गरेका एकजना पुरुषको मुटुको शल्यक्रिया गर्नुभयो । तर यो बिरामी बाँच्न सफल भयो । डा. गोंगल पेट एवं गल ब्लाडरको शल्यक्रिया त निरन्तर गरिरहनुहुन्थ्यो । उहाँ र डा. अञ्जनीकुमार शर्मा भएर गल ब्लाडरको शल्यक्रिया गर्नुहुन्थ्यो ।

सन् १९६१ को डिसेम्भरमा पहिलोपटक बीर अस्पतालमा शल्यक्रिया गर्नुभएको थियो । यो नेपालका लागि मस्तिष्कको पहिलो शल्यक्रिया थियो ।

डा. गोंगल जनरल जर्सरी गर्न दिउँसोको समयमा भ्याउनुहुन्नथ्यो । तर न्यूरो सर्जरी भने दिउँसोको समयमा गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ—अहिले मुलुकमा धेरै शल्यचिकित्साको विकास भएकाले खुशी लाग्छ । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिष्ट डा. भवानी भक्त सिंह, नरेन्द्र नारायण निकै समन्वय गर्ने चिकित्सक हुनुहुन्थ्यो । रेडियोलोजीमा डा. रघुवीर बैद्य हुनुहुन्थ्यो । उहाँहरु शल्यक्रियाका लागि डा. गंगोललाई निकै प्रोत्साहन गरिरहनुहुन्थ्यो । उहाँहरु डा. गोंगलको अग्रज हुनुहुन्छ । डा. गोंगलको पालामा बीर अस्पतालमा कहिलेकाँही बिहान ८ बजेदेखि शुरु भएको शल्यक्रिया भोलिपल्ट बिहान ३ बजेसम्म पनि चलिरहन्थ्यो । यसमा नर्सिङ स्टाफहरुको सहयोग पनि अतुलनीय छ ।
त्यो बेला बीर अस्पतालमा डा.गोंगल र डा. अञ्जनीकुमार शर्मा शल्यचिकित्सक हुनुहुन्थ्यो । डा गोंगलले आफ्नो तालिमको समयमा देख्नुभएको र अनुभव गर्नुभएको अध्ययन र अभ्यासको आधारमा मस्तिष्क, मुटुजस्ता शल्यक्रियालाई आफ्नो देशमा लागू गर्नुभयो । अहिले शल्यचिकित्साको क्षेत्रमा भएको सुपर स्पेशालिटीले निकै फड्को मारेको छ । मुटु, मस्तिष्कजस्ता समस्याको शल्यक्रियाका लागि छुट्टा छुट्टै अस्पतालहरु खुलेका छन् ।
अहिले न्युरो उपचार गर्ने धेरै अस्पतालहरुको वृद्धि भएकोमा डा. गोंगल खुशी हुनुहुन्छ ।
सरकारले स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा खर्च नगर्नु दुःख भएको डा. गोंगलको ठम्याइ छ । मैलै सन् १९५१ मा बीएस्सी पास गरेर भारतमा मेडिकल शिक्षा अध्ययन गर्दा वर्षमा १ हजार ट्यापिटेसन फि तिर्नुपथ्र्यो । तर पछि मलाई मिनाहा भयो । अहिले एमबीबीएस पढ्न करिब ४५ लाख रुपियाँ खर्चिनुपर्छ । स्पेशियालिष्ट गर्न एक डेढ करोड रुपियाँ लाग्ने सुन्नमा आउँछ । यति धेरै महँगो खर्च गरेर अध्ययन गरेपछि स्वास्थ्य सेवाबाट आम्दानी गर्नुपर्छ भन्ने धारणा विकास भएको छ —डा. गोंगल भन्नुहुन्छ— त्यसपछि सेवा भन्दा पनि कमाउने ठाउँको रुपमा स्वास्थ्य सेवा विकास हुन थालेको जस्तो लाग्छ । यो सरकारको कमजोरी हो । सरकारले मेडिकल अध्ययन गर्न सहुलियत दिएको अवस्थामा स्वास्थ्य सेवा यति धेरै महँगिदैनथ्यो ।
पुरानो नेपालमा तत्कालीन राज परिवारहरु बीर अस्पतालमा विभिन्न उपचार र शल्यक्रियाका लागि आउने गर्थे । अहिलेका नेताहरु कुनै रोग लागेमा दिल्ली वा बैंककमा उपचार सेवा लिन जान्छन् । डा. गंगोलले गर्नुभएको सबैभन्दा धेरै शल्यक्रिया गल ब्लाडरको हो । डा. गोंगल भन्नुहुन्छ—मैले गरेका उपचार र शल्यक्रियाप्रति म निकै सन्तुष्ट छु । तर मलाई अहिलेको अवस्था देखेर दुख लाग्छ । अब मैले यो भन्दा धेरै उपलब्धी प्राप्त गर्नु छैन । मैले देशमा सर्जरीमा एफआरसिएस सम्मको अध्ययन ल्याउन सफल भएँ । यसले मुलुकमा एमडी एमएसको शुरुवात् भयो । यसले मलाई निकै सन्तोष लागेको छ । राजनीतिमा भागबण्डाको सिस्टम रहेसम्म स्वास्थ्यमा सुधार आउनसक्ने अवस्था रहेको डा. गोंगलको भनाइ छ ।

    Comment Here!