Logo
|
Thursday 28th March 2024
Logo

epaper

आधुनिक न्यूरो चिकित्सामा प्रा.डा. देवकोटाको देन




वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाले न्यूरो सर्जरीको विकास र बिस्तारमा उहाँले पु¥याएको योगदान अतुलनीय छ । उहाँ दक्षिण एसियामा नै उत्कृष्ठ न्यूरो सर्जनका रुपमा परिचित हुनुहुन्थ्यो । मुलुकमा न्यूरो सर्जरीको आधुनिक विकासमा प्रा.डा. देवकोटाको योगदानलाई अन्य न्यूरो सर्जनहरुले आत्मसात गर्छन् । प्रा.डा. देवकोटाले मुलुकमा न्यूरो सर्जरीको आधुनिक विकासलाई कर्तव्यको रुपमा लिनुहुन्थ्यो । न्यूरो सर्जरी सेवालाई नै किन माया गर्नुभयो ? भन्ने प्रश्नमा उहाँको जवाफ हुन्थ्यो—‘यो मेरो कर्तव्य प्रेम हो । बीर अस्पतालमा डा. दिनेश नाथ गोंगलसँग काम गर्दा त्यो बेला न्यूरो सर्जरी गर्नुपर्ने अवस्थाका बिरामीले पाएको दुःख, बिरामी बचाउन नसकेको पीडाले उहाँले यसको आधुनिकीकरणलाई कर्तव्यको रुपमा लिनुभएको थियो ।
न्यूरो सर्जरीको विकासमा प्रा.डा देवकोटा कमिटमेन्ट र मिसनका साथ अघि बढ्नुभयो । आधुनिक न्यूरो सर्जरी सेवा नेपालमा विकास गर्दै जाने, दक्ष जनशक्ति उत्पादन गर्ने, देशका कुनाकुनामा जनशक्ति परिचालन गर्ने न्यूरो सम्बन्धि तथ्यपरक अध्ययन अनुसन्धान गर्ने उहाँको मिसन थियो ।
प्रा.डा. देवकोटा न्यूरो सर्जरीमा नेपालको पहिलो प्राध्यापक हो । सन् २००१ मा मुलुकमा पहिलोपटक बीर अस्पतालमा न्यूरो सर्जरी सेवाको तालिम सञ्चालन गर्न प्रा.डा देवकोटा सफल हुनुभयो । यसबाट धेरै चिकित्सकहरुले न्यूरो सर्जरीमा आफ्नो दक्षता र क्षमतालाई धेरै परिस्कृत बनाउने मौका पाए । त्यो बेला नेपालमा डिग्री दिने प्रावधान थिएन । प्रा.डा. देवकोटाको अगुवाइमा कतिपय चिकित्सकहरुलाई न्यूरो सर्जरीमा डिग्री मात्र लिन विदेश पठाएको थियो ।
अहिले नेपालमा न्यूरो सर्जरीको विकास तीब्र गतिमा भएको छ । यो मुलुकका लागि ठूलो उपलब्धि हो । देशमा न्यूरो सर्जरीसम्बन्धि एडभान्स तालिम र शल्यक्रिया भइरहेका छन् । न्यूरोका तथ्यपरक अनुसन्धान र शोधपत्रहरु प्रशस्त मात्रामा आइरहेका छन् । काठमाडौं उपत्याबाहिर पनि न्यूरो सर्जरी सेवाको विस्तार भएको छ ।

प्रा.डा देवकोटाले नेपालमा सन् १९८९—१९९० मा पहिलोपटक एन्युरिजम सर्जरी गर्नुभएको थियो । त्यसपछि उहाँले आफूसँगै काम गर्ने थुप्रै न्यूरो सर्जनहरुलाई एन्युरिजम सर्जरी सिकाउनुभयो । यो सर्जरी त्यति सजिलो थिएन । डा. दिनेश नाथ गोंगलले नेपालमा पहिलोपटक एन्जिओग्राम गर्नुभएको थियो । उहाँबाट २०३५ सालमा डा. देवकोटाले एन्जिओग्राम सिक्नुभएको थियो । त्यसपछि रेडियोलोजिष्ट डाक्टरहरुले यो सेवा शुरु गरे । डा. देवकोटाले बेलायतबाट फर्किएपछि बीर अस्पतालमा करिब २८ वटा एन्युरिजम सर्जरी उहाँ आफैंले एन्जिओग्राम गरेर सम्पन्न गर्नुभएको थियो । एन्जिओग्राम सकेपछि डा. देवकोटा क्लिपिङ गर्नुहुन्थ्यो । नेपालमा पहिलोपटक प्रा.डा. देवकोटाले गरेको इन्युरिजम सर्जरीको अनुभव बारेको लेख सन् २००१ मा ब्रिटिस जर्ननलमासमेत प्रकाशित छ । उहाँसँग एन्युरिजम तालिम लिनुभएका धेरै चिकित्सकहरुले अहिले राम्रो सेवा दिन सफल हुनुभएको छ ।

सिटी एन्जिओग्रामको सुविधा मुलुकमा भित्रिएपछि एन्युरिजम सर्जरीले व्यापकता पाउँदै गयो । हाल यो सेवा मुलुकका ठाउँमा उपलब्ध छ । सिटीको भरमा काम गर्दा कुनै बेला धोका हुनसक्ने भएकाले एन्युरिजम सर्जरीमा एन्जिओग्रामको सुविधा हुन आवश्यक छ । काठमाडौ भन्दा बाहिर पोखरा, चितवन, विराटनगरलगायतका धेरै ठाउँमा एन्युरिजम क्लिपिङ हुने थालेकोछ ।
यसका साथै प्रा.डा. देवकोटाले एभिएम सर्जरी गरेको पहिलो बिरामी अपार गुरुङ अहिले पनि बीर अस्पतालमा स्वयंसेवकका रुपमा कार्यरत छन् । बीर अस्पतालमा उहाँले पहिलोपटक बि.सं.२०४६ माघ एन्युरिजम सर्जरी गरेकी जग्नुमाया श्रेष्ठ खुशी भएर दिएको उपहार फ्रिज बीर अस्पतालमा छँदै छ ।
न्यूरो सर्जरीमा कमिन्टमेन्ट र भिजन स्पष्ट हुन जरुरी छ । अफ्ट्यारो परिस्थितिमा पनि आत्मविश्वासका साथ काम गर्दै रहनुपर्छ । कम्प्लिकेसन हुनसक्ने खतराका बिरामीहरुलाई विशेष ख्याल गर्नुपर्छ । नयाँ नयाँ प्रविधि र उपरकणको जमाना आएको छ । सोही अनुरुप न्यूरो सर्जरीमा युगान्तकारी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्