Logo
|
Saturday 20th April 2024
Logo

epaper

रामेछापको सुनापतिमा ३ सय ९० जना महिलाको निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर जाँच



ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले रामेछापको सुनापति गाउँपालिकामा ३ सय ९० जनाको निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर जाँच गरेको छ । ३ सय २० जनाको पाठेघरको मुखको क्यान्सर जाँचका लागि प्यापस्मियर संकलन गरिएको छ । प्यापस्मियर जाँचपछि २ हप्तामा उनीहरुलाई रिपोर्ट उपलब्ध गराइने हस्पिटलले जनाएको छ । रिपोर्टमा क्यान्सर देखिएकाहरुलाई हस्पिटल र सुनापति गाउँपालिकाले विशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराउने सहमति भएको हस्पिटलका ओपिडी इन्चार्ज राजकुमार गौतमले बताउनुभयो । शिविरमा सुनापति गाउँपालिकाका पाँच वटै वडाबाट जाँचका लागि स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । उनीहरुलाई फिजिसियन सेवालगायत मधुमेह समेत निःशुल्क जाँच गरिएको थियो । करिब १ सय जनाले आफूलाई मधुमेह भएनभएको जाँच गराएका थिए । नारी दिवसको अवसर पारेर नेपाल क्यान्सर हस्पिटलका वोर्ड अफ डाइरेक्टर स्वरुपा श्रेष्ठको नेतृत्वमा ३ जना डाक्टर, ८ जना नर्ससहित २३ जना स्वास्थ्यकर्मीको टोली सुनापति गाउँपालिका पुगेको थियो । कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष दिपा विष्ट, स्वास्थ्य संयोजक अर्जुन श्रेष्ठ र प्रशासकीय अधिकृत सुनिल निरौलाले ठूलो सहयोग गरेका थिए । ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने नारा लिएर काम गरिरहेको नेपाल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा नेपाल क्यान्सर सहयोग समूह र सुनापति गाउँपालिकाको सक्रिय सहकार्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्