उच्चरक्तचापको औषधि राम्रोसँग सेवन नगर्दा पनि मस्तिष्कघात !

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-03-22 05:09:45

मस्तिष्कघात के कारणले हुन्छ ?
मस्तिष्कको रगतको नसा फुट्ने (ह्यामरेजिङ) र मस्तिष्क ओइलाउने (स्केमिक स्ट्रोक) गरी मस्तिष्कघात २ प्रकारका हुन्छन् । उच्चरक्तचाप र एन्युरिजमका कारण मस्तिष्कघात हुनसक्छ । उच्चरक्तचाप भएका बिरामीले राम्रोसँग औषधि सेवन नगर्दा पनि मस्तिष्कघात हुने सम्भावना हुन्छ । कुनै कुनै ब्रेन ट्युमरले पनि मस्तिष्कका रगतको नसा फुटाउनसक्छ । कलेजोको ट्युमर फैलिएमा मस्तिष्कघात हुनसक्छ । कोकिन जस्ता लागू औषध सेवन गर्नेहरुलाई पनि मस्तिष्कघात हुनसक्ने सम्भावना रहन्छ । स्केमिक स्ट्रोक भनेको मस्तिष्कलाई रगत दिने नसा ओइलाएर जाने समस्या हो । कुनै कारण मस्तिष्कको रगतको नसा ब्लक भएमा स्केमिक मस्तिष्कघात हुनसक्छ । स्केमिक मस्तिष्कघातमा मुटुबाट रगतका थेग्राहरु नसामा जम्मा भएर ब्लक हुन्छ । अस्वस्थ्यकर खानपान, अत्यधिक चुरोट, रक्सी, चिल्लो पदार्थको सेवन, शारीरिक ब्यायामको अभावले स्केमिक मस्तिष्कघात हुनसक्छ ।

‘‘कुनैपनि समयमा मस्तिष्कमा एक्कासी रगतको नसा फुटेर वा मस्तिष्कको भाग ओइलाएर रक्तसञ्चार नहुने समस्यालाई मष्तिष्कघात भनिन्छ । मस्तिष्कघातका कारण हुने पक्षघातलाई प्यारालाइसिस भनिन्छ । मष्तिष्कघात भित्र नै ब्रेन ह्यामरेज पनि पर्छ ।

डायग्नोसिस कसरी गरिन्छ ?
एक्कासी असह्य टाउको दुःखेमा, एकापट्टीको भागको हातखुट्टा लुलो भएमा र मुख बाङ्एिमा मस्तिष्कघात भएको बुझ्नुपर्छ । मस्तिष्कघातको प्रकार, कारण र अवस्था पत्ता लगाउन सिटिस्क्यान र एमआरआई गर्नुपर्छ । जस्तोः उच्चरक्तचाप वा रगतको नसा फुटेर वा के कारणले मस्तिष्कघात भएको हो भन्ने छुट्याउनुपर्छ ।
बिरामी बाँच्ने सम्भावना कति हुन्छ ?
जति सक्दो चाँडो बिरामी अस्पताल पुग्यो त्यति नै राम्रो हुन्छ । मस्तिष्कमा रक्तश्रावको मात्रा कति छ ? कहाँ रगतको नसा फुटेको छ ? रगतको थेग्लो कत्रो छ ? रगतले मस्तिष्कलाई कति थिचेको छ ? बिरामीको चेतना कस्तो छ ? आँखाको नानीको प्रतिक्रया कस्तो छ ? जस्ता कुराले बिरामी बाँच्ने या मर्ने भन्ने कुराको निर्धारण गर्छ ।
स्केमिक स्ट्रोक भएको बिरामीलाई तीन घण्टा भित्र अस्पताल पुर्याएर नसाबाट औषधि दिएर बन्द भएको रगतको नसा खोलेमा लुलो भएको हातखुट्टा राम्रो हुन्छ ।

‘‘मस्तिष्कमा रक्तश्रावको मात्रा कति छ ? कहाँ रगतको नसा फुटेको छ ? रगतको थेग्लो कत्रो छ ? रगतले मस्तिष्कलाई कति थिचेको छ ? बिरामीको चेतना कस्तो छ ? आँखाको नानीको प्रतिक्रया कस्तो छ ? जस्ता कुराले बिरामी बाँच्ने या मर्ने भन्ने कुराको निर्धारण गर्छ ।

आजकल ३० वर्ष भन्दामाथिका मानिसलाई पनि मस्तिष्कघात हुन थालेको छ । तर यो वंशाणुगत हुँदैन । यो सरुवा रोग पनि होइन ।

Transient ischemic attack (टिआइए)

यस प्रकारको समस्यामा एकै छिनका लागि रगतका नसा बन्द हुन्छ । त्यसले केहि कमजोरीपना ल्याउँछ । यो २४ घण्टा पछि पुनः सामान्य अवस्थामा आउँछ । यदि २४ घण्टा भन्दा लामो समय रहेमा मस्तिष्कका नसा ओलाउन थाल्छन् ।

बिरामीको स्वस्थ्यामा सुधार आउन कति समय लाग्छ ?
बिरामीलाई अस्पताल पुर्याएर बचाउन सकेको अवस्थामा सुधार आउन करिब ६ महिना जति लाग्छ । यो कुरा विभिन्न अनुसन्धानहरुले पनि देखाएका छन् । ६ महिनाभित्र बिरामीको ९० प्रतिशत सुधार देखिन्छ । करिब १० प्रतिशतलाई दुईवर्ष जति लाग्नसक्छ । बिरामी सुधार अवस्थामा फर्किन फिजियोथेरापी र बोली थेरापीको महत्वपूर्ण भूमिका रहन्छ ।
मस्तिष्कमा होस नियन्त्रण गर्ने र चेतना रहेका ठाउँमा रगत जमेमा बचाउन सक्ने सम्भावना असाध्यै गाह«ो हुन्छ । मस्तिष्कको अगाडिको भागले ब्यवहार र आचरण नियन्त्रण गर्छ । पछाडीको भागमा हातखुट्टा चल्ने केन्द्र हुने भएकाले यस भागमा रगत जमेमा हातखुट्टा चल्दैन ।
कस्तो अवस्थामा बिरामी मर्छन् ?
मस्तिष्कमा धेरै रगत जमेको, पानी बस्ने घरभित्र रगत जमेको, बिरामीको आँखाको नानी र चेतनाको स्तर राम्रो नभएको अवस्थामा बिरामीको ज्यान जान्छ । हातखुट्टा नचलेपनि मस्तिष्कमा थोरै रगत जमेर चेतनाको स्तर राम्रो भएको अवस्थामा बिरामी निको हुने सम्भावना रहन्छ । चेतनाको स्तर ३ लाई नराम्रो मानिन्छ भने १५ राम्रो हो । श्वासप्रश्वास र मुटुको केन्द्र रहेको मस्तिष्क र मेरुदण्ड जोड्ने भागमा रगत जमेको अवस्थामा बिरामीको ज्यान जान्छ ।

    Comment Here!