Logo
|
Thursday 25th April 2024
Logo

epaper

फेरि बिग्रियो सीटी स्क्यान



केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेका सर्लाहीवासी उक्तमलाल मोत्तानलाई ट्रमा सेन्टर लगियो । अस्पतालमा सीटी स्क्यान सेवा नहुने भनिएपछि दिनैभर उनको उपचार रोकियो । बिरामीकी आफन्त अञ्जली तिमल्सिनाले भनिन्, ‘सीटी स्क्यान गर्न भनेर दिनैभर एम्बुलेन्समा यताउता गर्‍यौं । बिरामीले धेरै पीडा खेप्नुभयो ।’ ट्रमामा ८ हजारमा हुने सीटी स्क्यानका लागि निजी अस्पतालमा पुगेर उनले १६ हजार तिर्न बाध्य हुनुपर्‍यो ।

ट्रमाको सीटी स्क्यान उपकरण चार महिनादेखि बिग्रिएर थन्किँदा बिरामी मारमा परेका छन् । पहिले यहाँको उपकरण बिग्रँदा बिरामी वीर अस्पतालमा रिफर हुँदै आइरहेकाथिए । तीन दिनयता वीरको पनि उपकरण बिग्रिएपछि दुवै अस्पतालमा उपचार गर्न आएका बिरामी सास्ती खेप्न बाध्य छन् । अस्पतालमा सीटी स्क्यान नहुँदा बिरामीले बाहिरबाट दोब्बरभन्दा महँगो शुल्क तिरेर सेवा लिइरहेका छन् ।

रेडियोलोजिस्ट डा.सरोज शर्माका अनुसार दुर्घटनामा परेका, टाउकोमा रगत जमेका लगायत हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई सीटी स्क्यान आवश्यक पर्छ । ‘शरीरका अंगभित्र के–कस्तो असर परेको छ र उपचार के गर्ने सीटी स्क्यानबाटै थाहा हुन्छ । हाम्रो उपकरण बिग्रिएपछि बिरामी अन्य सरकारी अस्पतालमा रिफर गरिरहेका छौं ।’

वीरबाट अन्य सरकारी अस्पतालमा रिफर गरिए तापनि बिरामीलेत्यहाँबाट सजिलै उपचार पाउँदैनन् । अधिकांशले महँगो शुल्क तिरेर निजीबाटै सेवा लिइरहेका हुन्छन् । ट्रमामा दैनिक २० जनाको शल्यक्रिया हुन्छ । अधिकांश बिरामी दुर्घटनामा परेर आउने हुँदा सीटी स्क्यान नगरी नहुने चिकित्सक बताउँछन् ।

हाडजोर्नी विशेषज्ञ डा.दीपेन्द्र पाण्डेका अनुसार ढाड भाँचिएको, घुँडामा घाउ लागेको, जोर्नी चुँडिएको, लगायत टाउकाको चोटपटकको अवस्था परीक्षण गर्न सीटी स्क्यान अत्यावश्यक हुन्छ । गम्भीर दुर्घटनामा परेका बिरामीको सीटी स्क्यानबिना उपचार सुरु नहुने बताउँदै उनले भने, ‘सामान्य एक्सरेले बिरामीको भित्री चोटपटक देखिँदैन । सीटी स्क्यानमार्फत भित्री भागमा के–कस्तो असर परेको छ थाहा हुन्छ, सीटी स्क्यान नगरी शल्यक्रिया पनि गर्न मिल्दैन ।’

देशकै केन्द्रीय अस्पताल र एक मात्र ट्रमा सेन्टरमा सीटी स्क्यान जस्तो अत्यावश्यक उपकरण दुई सातासम्म बिग्रेर बस्दा बिरामीले आर्थिक र शारीरिक सास्ती भोग्नुपरेको छ । विशेषज्ञका अनुसार यस्ता दुर्घटनामा परेका संवेदनशील बिरामीलाई सकभर हलचल गर्न मिल्दैन । हलचल गर्दा हाडजोर्नी भाँचिएको भए झन् बिग्रन्छ । उपचार थप जटिल बन्छ ।

सीटी स्क्यान उपकरण बिग्रिएका कारण वीर अस्पताल र ट्रमाका सेन्टर कर्मचारी बिरामी पक्षबाट दिनहुँ गाली खान्छन् । ‘यत्रो ठूलो अस्पतालमा सीटी स्क्यान छैन, बिग्रिए बनाइहाल्नु पर्दैन ? जहिले पनि लापरबाही ।’ बिरामी पक्षबाट आउने यस्ता भनाइले आफैं दिक्क भएको कर्मचारी गुनासो गर्छन् ।

वीरमा पुरानो सीटी स्क्यान उपकरण कामै नलाग्ने गरी बिग्रिएपछि गत पुसमा आठ करोड लगानीमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्र्याएको थियो । छोटो समयमै यो उपकरण पनि बिग्रिएपछि बिरामी रिफर भएर उपचार गराइरहेका छन् । ट्रमामा दैनिक ४० देखि ५० बिरामी सीटी स्क्यान गर्नैपर्ने खालका हुन्छन् । आकस्मिक छैन भने एक साता पालो पर्खिनुपर्ने पनि हुन्छ ।

वीर अस्पतालमा पनि सीटी स्क्यान गर्नुपर्ने बिरामीको संख्या उत्तिकै छ । नयाँ उपकरणको दैनिक ७० वटासम्म सीटी स्क्यान गर्ने क्षमता थियो । वीर र ट्रमा दुवै अस्पतालका बिरामीको स्क्यान गर्नुपर्ने भएपछि अत्यधिक लोडका कारण उपकरण बिग्रिएको रेडियोलोजी विभागका कर्मचारी बताउँछन् । कर्मचारी भन्छन्, ‘वीरमै सीटी स्क्यानका लागि बिरामीको थामिनसक्नु चाप हुन्छ, उताबाट रिफर भएपछि जति पनि गर्नुपर्नेभयो र बिग्रियो ।’

अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार प्राविधिक समस्याका कारण सीटी स्क्यानमा समस्या आएको हो । विदेशबाटै सामान झिकाएर मर्मत गर्नुपर्ने भएकाले उपकरण बन्न केही दिन लाग्ने उनले बताए । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ५८ हजारमा उपकरण बन्ने कोटेसन भइसकेको बताए । उनले भने, ‘निर्देशक भएर भर्खरै आएको छु, अस्पतालको अवस्था बुझ्दै छु, बिग्रिएका उपकरण सक्दो चाँडो मर्मत हुने व्यवस्था मिलाउँछु ।’कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्