Logo
|
Friday 29th March 2024
Logo

epaper

बाल गुरु आदित्य र प्रधानमन्त्रीलाइ साक्षी राखेर नेपाल मेडिसिटीले लियो उत्कृष्ठ अस्पतालको ‘एनएबीएच’ प्रमाणपत्र



ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

राष्ट्रिय गौरवको रुपमा मुलुकमा नयाँ बेन्चमार्क कायम राख्न सफल भएको भन्दै हस्पिटलले खुशी व्यक्त गरेको छ । अस्पताल र स्वास्थ्यसेवा प्रदायकको लागि भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड एनएबीएच (नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थकेयर प्रोभाइडर), गुणस्तर परिषद्को बोर्ड हो जसको उद्धेश्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई मान्यता प्रदान गरी सोही अनुसार व्यवस्थित गर्ने रहेको छ । भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.हरिश नडकर्मीले राजधानीमा आयोजित एक कार्यक्रममा हस्पिटललाई एचएबीएचको प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा वलीको प्रमुख आतिथ्य एवं मुख्य अतिथि उप—प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, बाल गुरु आदित्यलगायतका प्रतिष्ठित व्यक्तिहरुको समुपस्थितिमा सो प्रमाणपत्र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले ग्रहण गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताउनुभएको छ । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएविएच) मा सूचीकृत भएको अवसरमा उहाँले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन, स्वस्थ्य हुनुपर्छ भन्ने कुरा स्पष्ट राख्नुभयो ।
राजनीति स्थायित्व पछि मुलुक आर्थिक समृद्धिको यात्रामा द्रुतरुपमा अगाडि बढेको चर्चा गर्दै उहाँले अब गरीबी र अभाव अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो—‘लोकतान्त्रिक विधि र पद्धति, कानूनी शासन, जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक र सामाजिक जीवन माथि उकास्न लागिपरेको छ । गरीबी, पछौटेपन अन्त्य गर्न सरकार दृढ सङ्कल्प गर्दछ ।’

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उहाँले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको छ बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हाँसिल तथा विकासमा चमत्कार गर्न लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले यहाँको हावापानी, वातावरण विश्वमा कमै मात्रमा पाइने हुँदा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा शिक्षा र स्वास्थ्यका क्षेत्रको उत्कृष्ट गन्तव्य केन्द्रका रुपमा विकसित गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेका पुरानो र ठूला वीर, शिक्षण अस्पताल, धरान अस्पतालले किन अन्तर्राष्ट्रिय मान्यता पाएनन् भन्ने प्रश्न गर्दै सार्वजनिक सम्पत्तिलाई अपनत्व ठान्दै जनताको सेवामा अधिकतम् उपयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गाैला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले समृद्धिको आधार नै स्वास्थ्य भएकाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको जानकारी दिँदै पछिल्लो समय नसर्ने रोग नियन्त्रणमा चुनौति थपिएको बताउनुभयो । उप—प्रधानमन्त्री यादवले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना, नयाँ स्वास्थ्य नीति, सरकारी स्वास्थ्य संस्थालाई उपकरण, जनशक्ति तथा पूर्वाधारका क्षेत्रमा बलियो बनाउन लागिएको जानकारी दिनुभयो ।
सो अवसरमा नेशनल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक डा.हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । बालगुरु आदित्यले ‘मूल्यबापत् मात्र सेवा दान होइन, उपचार सेवाबापत् जीवन उपहार देऊ’ भन्ने लिखित आशीर्वचन प्रदान गर्नुभएको थियो ।

अध्यक्ष डा. महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको र अस्पताल अगामी दिनमा बिरामीको सेवामा तल्लीन रहने बताउनुभयो । उहाँले भन्नुभयो—‘समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थक बनाउन अरुको मुख ताक्नु हुँदैन । आफैँले केही गर्नुपर्छ ।’

सो अवसरमा एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले नेपालको स्वास्थ्य सेवा अन्तर्रा्ष्ट्रियस्तरमा पुगेकामा बधाई दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक चिकित्सक समता प्रसादले अस्पतालका सेवाका बारेमा जानकारी दिनुभएको थियो ।
के हो एनएविएच ?
अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, प्रविधि, बिरामी मैत्री पूर्वाधार तथा मापदण्ड लगायतका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सूचीकृत एनएविएचले गर्दछ । नेपालको तर्फबाट सो सूचीमा पाउने नेपाल मेडिसिटी अस्पताल पहिलो बन्न पुगेको छ ।
यसले अस्पताल र स्वास्थ्य सेवा प्रदायकको विभिन्न पद्धति र विधिबाट सूक्ष्म अनुगमन गरी स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरको हो भन्ने प्रत्याभूति गर्दछ । भारतका ठूला १७ हजार अस्पतालमध्ये ५ सय ९२ अस्पतालले मात्र एनएविएच प्राप्त गरेका छन् ।
भारत बाहिर फिलिपिन्सपछि नेपालको सो अस्पतालले एनएविएच प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धि निर्देशिका २०७० अनुसार पनि सो अस्पताल उत्कृष्ट बनेको छ । जनशक्ति, पूर्वाधार र प्रविधिको उत्कृष्ट समायोजनले गर्दा अस्पतालले सो उपाधि प्राप्त गर्न सफल रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्