Logo
|
Tuesday 16th April 2024
Logo

epaper

रगत आवश्यक भएमा: रक्तसञ्चार केन्द्र ताहचलमा



बिरामीका आफन्त तथा सर्वसाधरणलाई रगत आवश्यक भएमा अब ताहचलस्थित रक्तसञ्चार केन्द्र जानुपर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले यसअघि ललितपुरको बालकुमारीबाट प्रदान गर्दै आएको सो सेवा आजदेखि ताहचलबाट शुरु गरिएको हो । 
सेवाग्राहीलाई टाढा र असुविधा भएकाले ताहचलस्थित सोसाइटीको केन्द्रीय कार्यालयबाट सेवा उपलब्ध गराइएको हो । सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सेवाग्राहीलाई रगतको थैलो दिएर कार्यक्रमको शुभारम्भ गर्दै बिरामीलाई उपचारका क्रममा आवश्यक पर्ने रगतलाई सुरक्षित रुपमा सङ्कलन गरी आवश्यकताअनुसारको रगतको प्लाज्मा विकास गरेर आपूर्तिको सेवा उपलब्ध गराइएको बताउनुभयो । 

विसं २०२० भदौमा स्थापना भएको उक्त सोसाइटीले विसं २०२३ देखि रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । रगत जमा गर्ने बैंकका रुपमा विकास गरिएको रक्तसञ्चार केन्दले विभिन्न आरोह–अवरोहपछि हाल देशका विभिन्न ७३ जिल्लामा सञ्जाल विस्तार गरी १०८ कार्यालयमार्फत सेवा प्रदान गरेको छ । तत्कालीन समयमा राजा महेन्द्रको रगत झिकेर रक्तदान कार्यको विधिवत् शुरुआत गरिएको थियो ।

केन्द्रका १६ कार्यालयमा रगतको प्लाज्मा विकास गर्न सक्ने जनशक्ति तथा सेवा सञ्चालन गरिएको छ । केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले केन्द्रले विभिन्न सङ्घसंस्थामार्फत रक्तदानको चेतना फैलाएर रगत सङ्कलन गर्ने गरेको बताउँदै देशभर वार्षिक तीन लाख ४४ हजार ९३३ पिन्ट रगत वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार रगतमा भएको रातो रक्तकणको परिपूर्ति तीन महीनामा हुन्छ । रक्तदान गरेर दातालाई कुनै कमजोरी तथा नोक्सानी हुँदैन ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सेवा प्रवाह गर्ने विषय संवेदनशील भएको बताउँदै यस क्षेत्रमा राम्रो र गुणस्तरीय सेवा प्रदान गर्न केन्द्रीय कार्यालयमा करीब रु एक करोड ७६ लाखको लागतमा भवन निर्माण, फर्निचर व्यवस्थापन र केही प्रविधि थप गरिएको जानकारी दिनुभयो । केन्द्रले दाताले निःशुल्क उपलब्ध गराएको रगत बिरामीलाई पनि निःशुल्क प्रदान गर्ने लक्ष्य लिएको छ ।

विसं २०४८ को स्वास्थ्य नीतिले सोसाइटीलाई रक्तदाताको रगत झिक्ने, सङ्कलन गर्ने, प्रवाह गर्नेलगायत रक्तसञ्चारसम्बन्धी सबै काम गर्न सक्ने अख्तियारी प्रदान गरेको थियो । केन्द्रले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअन्तर्गत रही कार्य सम्पादन गर्दै आएको छ । तापक्रमको घटबढमा रगत तथा त्यसबाट प्राप्त हुने तत्वलाई असर पुग्ने खतरा हुन्छ, त्यसलाई सुरक्षित राख्न ‘ब्लड कोल्ड चेन’ प्रणालीलाई प्रभावकारी बनाइएको छ ।

विगतमा प्रदर्शनीमार्गबाट सेवा प्रदान गरेको भए पनि विसं २०७२ वैशाखको भूकम्पपछि भवनमा जोखिम आएका कारण सोही वर्षको पुस १ गतेदेखि बालकुमारीबाट सेवा प्रदान गरिएको थियो । कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय तहका तालीम तथा रक्तसञ्चारसम्बन्धी ज्ञानसमेत उपलब्ध गराउँदै आएको संस्थाले प्रदर्शनीमार्गमा करीब रु २२ करोडको लागतमा भवन निर्माणको क्रममा छ ।

तीन वर्षअगाडि वसन्तपुरमा भइरहेको रक्तदान कार्यक्रममा भूकम्पमा परी ज्यान गुमाएका संस्थाका कर्मचारी लालामाया गुरुङ तथा भोलियन्टर्सद्वय सानुमैयाँ कपाली र सिम्रन डङ्गोलका आश्रित परिवारलाई केन्द्रले प्रतिपरिवार रु ५० हजार प्रदान गरी रेडक्रसको ग्लोबल फण्डबाट प्रतिपरिवार रु १० लाख उपलब्ध गराएको जनाइएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्