Logo
|
Friday 19th April 2024
Logo

epaper

सन्दर्भः विश्व पार्किन्सन दिवस, पार्किन्सन रोग के हो ? रोग लागेको कसरी थाहा पाउने ?



सामान्यतया धेरै मानिसहरुको कुनै सामान उठाउँदा वा केही काम गर्दा हातका औंलाहरु काप्ने गर्दछन् । यसलाई हामीले अनेक किसिमबाट बुझ्ने र सामान्य रुपमा लिने गर्दछौं ।
यो पार्किन्सनको लक्षण हो । पार्किन्सन एक प्रकारको मस्तिष्क विकार हो । जसले मांसपेशीलाई नियन्त्रण गर्न छोड्दै जान्छ र समस्या पैदा हुन्छ । यसको लक्षण सुरुमा सामान्य देखिन्छ, जसले गर्दा हामी वेवास्ता गर्दछौं । तर, यस्तो लक्षण सामान्य होइन । सुरुमा औंलाहरु, हात, खुट्टाहरु काप्ने गर्दछ र बिस्तारै शरीरको अन्य भागमा फैलिएर हिडडुल गर्दा मांसपेशीहरु कडा हुने, गती कम हुने अगाडि तिर झुकेर हिड्ने जस्ता लक्षण देखिन्छ । यसपछि विस्तारै स्मरण क्षमतामा कमी, डिप्रेसन, दृष्टि भ्रम, ध्यान केन्द्रित नहुने, गन्ध थाहा नहुने, निद्रामा समस्या, पिसाब नियन्त्रणमा समस्या, बोलीमा समस्या आदि देखापर्दछन् । यो मस्तिष्क सम्बन्धी रोग हो र संसारभरि नै एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ ।

पार्किन्सन एक दीर्घ रोग हो, जुन बिस्तारै बढ्दै जाने गर्दछ । यो सिधै मस्तिष्कसँग सम्बन्धित छ । मस्तिष्कमा एक विशेष प्रकारको कोष हुन्छ जसलाई न्युरोन भनिन्छ । जसको काम सूचना प्रवाह गर्ने र मांसपेशीको चाललाई नियन्त्रण गर्न सहयोग गर्ने हुन्छ । त्यहि कोषले एक विशेष प्रकारको डोपामिन न्युरोन भन्ने रसायन पैदा गर्दछ र सो काम गर्दछ । त्यो कोष सक्रिय रहँदासम्म मानिसमा कुनै समस्या हुँदैन ।

जब पार्किन्सन सुरु हुन्छ तब मस्तिष्कमा रहेका डोपामिनर्जिक न्युरोनहरु क्रमिक रुपमा मर्ने गर्दछन् । मस्तिष्कमा डोपामिनको कमीले गर्दा शरीरका अंग, मांसपेशीमा रोगीको नियन्त्रण गुम्दै जान्छ र अन्ततः बिमारीहरु आफ्नो सामान्य दैनिक कामको लागि पनि पूर्ण रुपमा अरुको भर पर्नु पर्दछ ।
पार्किन्सन रोग जाँच गर्ने कुनै खास परीक्षण छैन । चिकित्सकले स्नायु प्रणालीको परीक्षण, शारीरिक परीक्षण र लक्षणहरुका आधारमा पार्किन्सन रोग पत्ता लगाउने गर्दछन् ।
अर्को बिमारीको अवस्था हेरेर अपरेसन गरेर मष्तिष्कमा एक उपकरण डीप ब्रेन स्टीमुलेशन (डीबीएस) जोडेर पनि बिरामीहरुको उपचार गर्ने गरिन्छ । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको उपचार यसै गरी गरिएको छ ।
विश्वमा करिब एक करोड मानिसलाई पार्किन्सन रोग भएको अनुमान गरिएको छ । यो रोग मुख्यतः वृद्ध अवस्थामा लाग्ने मानिए पनि लगभग ४ प्रतिशत पार्किन्सन बिमारीहरु ५० वर्ष भन्दा कम उमेरको पाइएको छ । अर्को महत्वपूर्ण कुरा के हो भने यो रोग महिलामा भन्दा पुरुषहरुमा धेरै लागेको पाइन्छ ।

नेपालमा पार्किन्सनका बिरामीहरुका बारेमा यथार्थ तथ्यांक पनि छैन र उपचारमा जानेहरुको संख्या निकै कम छ । एक सर्वेक्षणले सन् १९९० देखि यता पार्किन्सन रोगी ३५.७ प्रतिशतले बढेको देखाएको छ । यस्तै बार्षिक रुपमा १.६ प्रतिशतले बढदै छ । यि आँकडा र तथ्यबाट नेपालमा पनि यो रोग एक गम्भीर स्वास्थ्य समस्याको रुपमा रहेको बुझ्न सकिन्छ ।

अहिले सम्म पनि यो रोगको कारण पत्ता लागेको छैन । यो रोग वंशाणुगत कारणले हुन सक्ने भनिए पनि जम्मा १० प्रतिशत बिमारीहरुको परिवारमा मात्र पार्किन्सन भएको देखिएको छ । यसबाट प्रष्ट हुन्छ कि पार्किन्सन वंशानुगत कारणले भन्दा अरु नै कारणले धेरै हुने गर्दछ । जसको खोज गर्न अझै बाँकी छ ।
हामीले जान्नैपर्ने कुरा के हो भने अहिलेसम्म यो रोग निको पार्ने कुनै औषधि र उपचार प्रबिधि पत्ता लागेको छैन । अहिलेसम्म यो रोगको उपचार भनेको विभिन्न औषधिहरुको प्रयोगले मस्तिष्कमा डोपामिनको मात्र बढाउने र पार्किन्सनले गर्दा देखा परेका लक्षणहरु नियन्त्रण गर्ने मात्र रहेको छ ।
त्यसो भन्दैमा डराइहाल्नुपर्ने अवस्था भने छैन । पार्किन्सन रोग रोकथाम गर्ने उपाय पत्ता नलागे पनि नियमित रुपमा व्यायाम गर्नाले, हरियो सागसब्जी, फलफुल, भिटामिन, माछा आदिको सन्तुलित भोजनले यो रोग लाग्ने सम्भावना कम हुन्छ ।

विश्व पार्किन्सन दिवस हरेक वर्षको अप्रिल ११मा संसारभर विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम आयोजना गरेर मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्