Logo
|
Friday 19th April 2024
Logo

epaper

नि:शुल्क औषधि बेच्दै सरकारी अस्पताल



जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको छ । कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारबाट निःशुल्क लिएर बिरामीलाई बेचेको हो । १५ वर्षमुनि उमेरका व्यक्तिलाई ४ र १५ वर्षमाथिकालाई ५ वटा सुई लगाउनुपर्छ । अस्पतालले प्रतिसुई सय रुपैयाँ लिने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले स्विकारे ।

‘अस्पताल विकास समितिबाट नियुक्त भएका २ सय ५० कर्मचारी छन् । उनीहरूको खर्च धान्न प्रतिसुई सय रुपैयाँ सेवाशुल्कको नाममा लिएका हौँ,’ डा. खनालले भने । अस्पतालले एउटा बिरामीबाट ४ देखि ५ सयसम्म असुल गरेको छ । केही समयअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले अस्पतालमा अनुगमन गरेको थियो ।

रेबिजविरुद्धको निःशुल्क सुईमा समेत रकम उठाउने गरेको अस्पतालले स्विकारेको अनुगमन टोलीका प्रमुख तथा महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए । ‘विकास समितिबाट नियुक्त भएका कर्मचारीले सेवा–सुविधाका लागि भन्दै औषधि बिक्री गरेको अस्पतालले स्विकारेको छ, तर कर्मचारीलाई तलब खुवाउन निःशुल्क औषधिको व्यापार गर्न मिल्दैन,’ पौडेलले भने, ‘हामीले तत्काल सच्याउन निर्देशन दिएका छौँ, स्थानीय तह र प्रदेशले पनि चासो दिनुपर्छ ।’ तर, सुपरिटेन्डेन्ट डा. खनाल भने सेवाबापतको रकम भएकाले नलिने निर्णय गर्न नसकिने बताउँछन् ।

अस्पतालको पदेन अध्यक्षसमेत रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश चापागाईंले भने निःशुल्क औषधि बेचेकोबारे आफू जानकार नभएको बताएका छन् । रकम नलिने निर्णय गर्न अस्पताल प्रशासन सकारात्मक भए आफू पनि तयार रहेको उनको भनाइ छ ।

मलेरियाको निःशुल्क औषधि दुई वर्षदेखि भण्डारमा, केन्द्रीय अनुगमनले भेट्टायो, तर म्याद अब एक महिना मात्र बाँकी

लुम्बिनी प्रादेशिक अस्पतालमै मलेरियाको निःशुल्क औषधि दुई वर्षदेखि अस्पतालकै भण्डारमा रहेको सार्वजनिक भएको छ । औषधिको म्याद सकिन एक महिना मात्रै बाँकी छ । तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनाल भने दुई वर्षदेखि मलेरियाको औषधि भण्डारमा थन्किएकोबारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘अहिले टोली आएर सोधपुछ गरेपछि मात्रै थाहा भयो, तर औषधिको म्याद जान जम्मा एक महिना बाँकी रहेछ,’ उनले भने, ‘अहिले निःशुल्क बाँड्न थालेका छौँ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले अस्पतालको गम्भीर लापरबाही भेटिएको बताए । मेडिकल सुपरिटेन्डेन्टले नै थाहा छैन भन्नु गैरजिम्मेवार जवाफ भएको उनको भनाइ छ । ‘आफ्नै स्टोरमा थन्किएको औषधिबारे जानकारी छैन भन्नु गैरजिम्मेवार जवाफ हो,’ पौडेलले भने ।

कालिकोट अस्पतालका प्रमुखलाई नै थाहा छैन कति औषधि निःशुल्क
जिल्ला अस्पताल कालिकोटमा निःशुल्क औषधि कति छन् र बिरामीलाई दिने निःशुल्क औषधि कुन–कुन हुन् अस्पताल प्रमुख डा. भीष्म पोखरेललाई नै थाहा छैन । ‘सरकारले निःशुल्क दिने औषधि कति प्रकारका छन् मलाई थाहा छैन,’ डा. पोखरेलले भने, ‘सबै प्रकारका निःशुल्क औषधि अस्पतालमा छन् कि छैनन् पनि हेर्न बाँकी नै छ । अहिलेसम्म लिस्ट नै हेरेको छैन ।’

तर, अस्पताल स्रोतका अनुसार अहिले ३० प्रकारका औषधि मात्रै निःशुल्क दिने गरिएको छ । कोही घाइते वा अन्य बिरामी आउँदा इमर्जेन्सीमा प्रयोग हुने सामान्य औषधि पनि अस्पतालमा छैन ।

जनकपुर अञ्चल अस्पतालमा १०–१५ प्रकारका मात्रै निःशुल्क औषधि
जनकपुर अञ्चल अस्पतालको औषधि वितरण शाखाको भित्तामा १४ आयुर्वेदिकसहित ६१ प्रकारको औषधि निःशुल्क उपलब्ध रहेको सूचना टाँसिएको छ । तर, औषधिको र्‍याकमा १०–१५ प्रकारका बाहेक औषधि देखिँदैनन् । औषधि वितरण शाखामा कार्यरत एक कर्मचारीले बिरामी निःशुल्क औषधि माग्न आउँदा दिन सक्ने अवस्था नरहेको बताउँछन् । यो अस्पतालमा एसिल्क १५० एमजी, मेगापेन २५० एमजी, एसिनेट (पेनकिलर) १०० एमजी, डाइलोना सुई अभाव भएको दुई महिनाभन्दा बढी भइसक्यो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादव केही औषधि सकिएकाले टेन्डर गरिएको बताउँछन् । तर, उनी अन्य अस्पतालमा भन्दा आफूहरूले बढी नै औषधि दिइरहेको दाबी गर्छन् ।

काभ्रे अस्पतालमा छैनन् ४५ प्रकारका निःशुल्क औषधि
काभ्रे जिल्लाको एक मात्र सरकारी अस्पताल मेथिन्कोटमा ४५ प्रकारका निःशुल्क औषधि अभाव छ । २५ प्रकारका औषधि मात्रै बिरामीलाई दिन सकिएको डा. शशीकुमार यादवले बताए । अस्पताल प्रमुख मुक्तिराम श्रेष्ठले ६ महिनाअघि नै राजीनामा दिएको र निमित्तको जिम्मेवारी कसैले नपाएकाले टेन्डर आह्वान गर्न नसक्दा औषधि अभाव भएको डा. यादवको दाबी छ ।

अस्पतालमा उनी मात्रै डाक्टर भएकाले बिरामीलाई उपचारमा त समस्या छ नै, घन्टौँ पालो कुरेर उपचार गरेपछि बिरामी औषधि नपाएर मेडिकलतिर जान बाध्य छन् । ‘निःशुल्क औषधि उपलब्ध गराउन नसक्दा उपचार गर्न आएका बिरामी फर्काउनुपरेको छ,’ डा. यादवले भने, ‘कर्मचारीको समेत अभावले यहाँ त डाक्टर पनि आफैँ, सुरक्षा गार्ड पनि आफैँ हुनुपरेको अवस्था छ ।’ मेथिन्कोट अस्पतालमा दरबन्दी भने पाँच डाक्टरको छ ।

तनहुँको दमौली अस्पतालमा एन्टिरेबिज भ्याक्सिन र सुगर, प्रेसरको औषधि शून्य
राज्यले ७० प्रकारका औषधि उपलब्ध गराएको भने पनि तनहुँको दमौली अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन एउटै छैन । सुगर र प्रेसरका औषधि पनि ठप्प छ । ग्यास्ट्रिकका बिरामीले खाने एसिलक पनि सकिएको मेडिकल सुपरिटेन्डेन्ट सुनील पौडेलले बताए । जब कि १५ बेडको अस्पताल विकास समितिको खर्चले ४२ बेडको बनाएर सञ्चालनमा छ । अहिले ३० प्रकारका निःशुल्क औषधि उपलब्ध भए पनि कुनै केही दिनमै सकिने अवस्थामा रहेको पौडेलले बताए ।

उदयपुर जिल्ला अस्पतालमा ४० निःशुल्क औषधि छैनन्, किन्न बजेट छैन 
उदयरपुर जिल्ला अस्पतालमा पनि ४० प्रकारका निःशुल्क औषधि छैनन् । बजेट अभावमा खरिद गर्न नसकेको अस्पतालका सूचना अधिकारी एवं स्टोरकिपर बृखबहादुर खत्रीले बताए । २० लाखबराबरको औषधि खरिदका लागि प्रदेश सरकारसँग माग गरेको भए पनि बजेट निकासा नभएको उनको भनाइ छ ।

‘कहिले नगरपालिकाले दिने, कहिले प्रदेश सरकारले दिने भन्छन्, कहिले संघबाटै आउने हल्लैहल्लाले आर्थिक वर्ष सकिन लाग्यो, तर औषधि आएन,’ उनले भने । हाल रहेको औषधि पनि सकिने अवस्थामा पुगेको खत्रीको भनाइ छ ।

अर्घाखाँचीको सन्धिखर्क अस्पतालमा इमर्जेन्सीका लागि पनि औषधिको संकट
अर्घाखाँचीको सन्धिखर्क जिल्ला अस्पतालमा ४० प्रकारका निःशुल्क औषधि छन् । तर, नगरपालिकाले खरिद गरेर दिने औषधिको परिमाण निकै कम भएकाले इमर्जेन्सी चलाउनसमेत गाह्रो भएको अस्पताल प्रमुख डा. जगन्नाथ तिवारी बताउँछन् । ‘स्थानीय तह बनेपछि, स्वास्थ्य संस्थाका लागि पर्याप्त बजेट विनियोजन भएको छैन, नगरपालिकाले खरिद गर्ने औषधिले इमर्जेन्सी चलाउनसमेत गाह्रो छ,’ उनले भने । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले गत वर्ष नौ लाख रुपैयाँको औषधि टेन्डर प्रक्रियाबाटै खरिद गरेको र यस वर्ष पनि १५ लाखको औषधि टेन्डरबाटै नै खरिद गरेको बताए ।नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्