Logo
|
Wednesday 24th April 2024
Logo

epaper

‘उच्च प्राथमिकतामा शुद्ध खानेपानी’



bina magar

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले अहिले कुल जनसंख्यामध्ये २० प्रतिशतले मात्रै प्रशोधित खानेपानी प्राप्त गरेकाले अबको ११ वर्षमा सबै नेपालीले प्रशोधित खानेपानी उपलब्ध गराउने बताउनुभएको छ ।
वर्तमान सरकारले संविधानको मौलिक हकमा व्यवस्थालाई साकार पार्न दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्ममा सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ को घट्टेपाखामा आयोजित खानेपानी ट्यांकीको मंगलबार शिलान्यास गर्नुहुँदै मन्त्री थापाले देशभरिमा ४२ उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।
देशका कतिपय स्थानमा अझै पनि १० घण्टा समय लगाएर खानेपानी लिन जानुपर्ने अवस्था रहेको छ भन्दै मन्त्री थापाले विगतमा खानेपानी विभागमार्फत काम हुँदै आएकोमा वर्तमान सरकारले खानेपानीलाई उच्च प्राथमिकतामा राखेर खानेपानी मन्त्रालय नै गठन गरेर काम भइरहेको छ भन्नुभयो ।
प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पानी ट्यांकी निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट उपलब्ध गराएको र आगामी आर्थिक वर्षमा पाइप विस्तारका लागि थप ५० लाख रुपियाँ उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गर्नुभयो । उहाँले पाँचमाने खानेपानी योजनाको विस्तृत कार्य विवरण (डिपीआर) तयार भएकाले नयाँ आर्थिक वर्षमा १० देखि १५ करोड रुपियाँ बजेट उपलब्ध गराउने विषयमा संघीय सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले पुरानो गुह्येश्वरी बोहराटार सडक खण्डको बाँकी खण्ड पिच गर्न यसै आर्थिक वर्षमा ५० लाख रुपियाँ प्राप्त भएको जानकारी दिनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले यस नगरमा पानीका स्रोत नबढे पनि जनसंख्या भने १० गुणाले वृद्धि भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यका खानेपानी आयोजना (केयुकेएल) ले नगरपालिकाहरुसँग समन्वय नगरी काम गरेको र खानेपानी व्यवस्थापन ज्यादै कमजोर भएकाले धेरै उपभोक्ताले पानीको महसुल मात्रै तिर्नुपरेको गुनासो गर्नुभयो ।
तारकेश्वर वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले आगामी असार १५ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पानी टंकी निर्माण हुने लागेको र यसको क्षमता दुई लाख २० हजार लिटर हुने र वडा नं. ४ र ५ का बासिन्दाले उपभोग गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार, वडा नं. ४ को दर्गुनेपानी, नयाँ गणेश, पुरानो गुह्येश्वरी क्षेत्र हुँदै शेषमती पुल, माछापुच्छ्रेटोल भएर मिलन बस्ती, लोलाड.को तल्लो भाग र वडा नं. ५ को घट्टेपाखा क्षेत्रमा पाइप विस्तार गरिने छ ।
यसैगरी, वडा ५ का वडा अध्यक्ष वासुदेव गौतमले वडा नं. ४ मा पानीका स्रोत कम भएकाले आफ्नो वडामा भएका पानीका स्रोत र थप पानी टंकी निर्माणका लागि आवश्यक पर्ने आठ रोपनी जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
गोलढुंगा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सीताराम रेग्मीले छ इन्चको खानेपानीको पाइप शिरबाट गए पनि उपभोक्ताले पानी खान नपाएकोप्रति रोष प्रकट गर्दै सो पानी यहाँका उपभोक्ताले प्रयोग गर्न पाउनुपर्छ भन्नुभयो । सो पानी नेपाली सेना र व्यारेक तथा बालाजु बाइसधारतर्फ ल्याइएको छ ।
सहलगानी बोर्डका प्रमुख प्रदीपकुमारीले मुडभरीले बोर्डले ७० प्रतिशत र उपभोक्ताले ३० प्रतिशत व्यहोर्ने गरी लगानी गर्न तयार रहेको जानकारी दिनुभयो ।
गोलढुंगा खानेपानी समितिले यसअघि नै ७६४ घरमा धारा वितरण गरिसकेको छ भने अब चार हजार पाँच घरका करिब ३७ हजार उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराइने जनाएको छ । काठमाडौं महानगरपालिकासँग जोडिएको वडा भए पनि घर घरमा पानीको धारा भन्ने योजना बल्ल अगाडि बढेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्