Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ पुनः मनमोहनको कार्यकारी निर्देशक



नाम अनुसारको सफलता प्राप्त गरेका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ पुनः ४ वर्षका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । सेन्टरमा ४ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरिसक्नुभएका उहाँको कार्यकुशलताका आधारमा पुनः कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

सबैभन्दा धेरै समय कार्यकारीको जिम्मेवारी सम्हालेर पुनः जिम्मेवारी पाउने प्रा.डा. श्रेष्ठ मनमोहनमा पहिलो डाक्टर हुनुहुन्छ । सेन्टर स्थापनको ९ वर्षको अवधिमा शुरुका दिनमा प्रा.डा. प्रकाश सायमीले २ वर्ष र त्यसपछि प्रा.डा.रत्न पौडेलले २ वर्षजति कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सेन्टर स्वतन्त्र संस्था हो । त्रिभुवन विश्वविद्यालय र डीन कार्यालयको मातहतमा रहेको यो सेन्टरले गरेको उपलब्धिलाई डायमण्डको रुपमा हेर्ने गरिएको छ । स्वःआर्जन गरेर सेन्टरले निरन्तरता पाइरहेको छ । संस्थाले नाफा भन्दा पनि सहुलियत दरमा उपचार सेवा प्रदान गरिरहेको छ ।
प्रा.डा. श्रेष्ठ वरिष्ठ भास्कुलर एण्ड ट्रान्सप्लान्ट सर्जन हुनुहुन्छ । उहाँ भास्कुलर सोसाइटी अफ नेपालको संस्थापक अध्यक्ष पनि हो । सानैदेखि निकै तीक्ष्ण स्वभावका उत्तम अहिले आफ्नो विधामा पनि उत्तम हुनुहुन्छ । २०३५ सालको एसएलसी परीक्षामा बोर्ड टपर भएर उत्तम बनेका प्रा.डा. उत्तम कृष्ण कार्डियोभास्कुलर सर्जरीमा पनि उत्तम हुनुहुन्छ ।
प्रा.डा. उत्तम विगतमा सेन्टरको फार्मेसीबाट २ करोड ५० लाख जति फाइदा हुने गरेकोमा त्यो बढेर अहिले ६ करोड पु¥याउन सफल हुनुभएको छ । ८० वेडको यो सेन्टरले मात्र नभई आम सर्वसाधारण बिरामीले पनि फाइदा पाएका छन् ।
यहाँबाट औषधि खरीद गर्दा बिरामीले करोडौं फाइदा लिएका छन् । जनतालाई फाइदा दिएर अस्पताल नाफामा हुनुपर्छ भन्ने सिद्धान्त हो—उहाँले भन्नुभयो । त्यही अनुसार सफलता पनि मिलिरहेको छ । गत वर्ष सेन्टरले विपन्न नागरिकलाई मुटु, फोक्सो र रक्तनलीको उपचार र शल्यक्रियामा १८ करोडको निःशुल्क सेवा दिएको छ । मुटु रोग लागेका १५ वर्षमुनिका बालबालिका र ७५ वर्ष माथिका, बाथ मुटुरोग लागेका सबैलाई शल्यक्रिया उपचारमा निःशुल्क छ ।
सेन्टरमा मुटु, फोक्सो र रक्तनलीका बिरामीको चाप धेरै छ । गत वर्षमात्र मुटु फोक्सो र रगतको नसा गरी १ हजार ९ सय शल्यक्रिया गरेको छ । ओपिडीमा ६५ हजारले सेवा पाए ।
अहिले यहाँ पर्मानेन्ट फ्याकल्टी चिकित्सक २५ जना, पी.एच.डी., कार्डियोलोजी डी.एम., एम.सी.एच. रेजिडेन्ट १० जना, मेडिकल अफिसर २४ जना, २ सय जनाभन्दा बढी नर्स, केही पारामेडिक्स, अफिस कर्मचारीले सेवा प्रदान गरिरहेका छन् ।
प्रा.डा. श्रेष्ठको कार्यकालमा बिरामीको चाप न्युनिकरण गर्न अर्को ४१ वेड क्षमताको मनमोहन भवन एनेक्स विल्डिङ बन्दै छ । एक वर्षमा सञ्चालनमा आइसक्ने यो भवन अस्पतालको अवधारणामा बनेको छ । यसमा ‘सुइट’ सिस्टमको व्यवस्था हुन्छ जहाँ देशका राष्ट्रपति, प्रधानमन्त्रीस्तरका सम्म आउँदा अत्यधिक सुविधा उपलब्ध गराउने गरी बनाइएको सिस्टम एवं क्याथल्याब र शल्यक्रिया दुवै गर्नसक्ने हाइब्रिड अपरेशनको सुविधा हुन्छ । यसबाट कार्डियोभास्कुलरसम्बन्धि अझ जटिल शल्यक्रिया गर्न सकिन्छ । यहाँ २ वटा अपरेशन थियटर, ४ वटा आईसियू र ननइन्भेजिव ल्याबको व्यवस्था हुन्छ । सेन्टरले शल्यक्रियाका साथै मुटु रोग रोकथामलाई बढी जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्