Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौं-दिल्लीको हवाई भाडा ह्वात्तै बढेपछि बिरामीलाई मार



नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्ली–काठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए । हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् ।

६ महिना लामो उपचारपछि तगिंँदै गरेका उनमा काठमाडौं–दिल्ली बसबाट यात्रा गर्ने आँट छैन । ‘भाडा चर्को रहिरह्यो भने ट्रेनमा गोरखपुरसम्म जान्छु । त्यसपछि भैरहवाबाट जहाजमा जान्छु,’ उनले भने, ‘क्यान्सर रोगीहरूलाई भारतीय रेल्वेले पुरै भाडा छुट दिँदो रहेछ ।’

भक्तपुर कमलविनायकका पुण्य राम पनि त्यस्तै दोधारमा छन् । श्रीमती राधाको उपचारका लागि दिल्ली आएका उनले यही साता काठमाडौं जाने योजना बनाएका थिए । जब हवाई भाडा बढेर एकतर्फी नै १८ हजार भारुभन्दा बढी भएको थाहा पाए, उनी के गर्ने भनेर द्विविधामा छन् । ‘केही दिनका लागि भए पनि जानैपर्ने थियो । तर अहिलेको भाडामा कसरी जाने ?’ रामले भने । बसमा जान सकिन्छ कि भनेर सोधपुछ गरिरहेको उनले बताए । ‘म त बसमा जान सकूँला, बिरामीलाई त्यति लामो बाटो कसरी लाने !’ रामले चिन्ता व्यक्त गरे ।

हवाई भाडा महँगिएपछि भट्टराई र रामजस्ता उपचारका लागि दिल्ली आएका थुप्रै नेपाली समस्यामा परेका छन् । क्यान्सर, कलेजो र मिर्गौलासम्बन्धी रोगको उपचारका लागि बर्सेनि हजारौं नेपाली दिल्ली धाउने गर्छन् । हरियाणाको मेदान्त र दिल्लीका राजीव गान्धी, अपोलो, म्याक्स, गंगाराम, एम्स, बीएलके अस्पतालमा नेपाली बिरामीको भीड हुन्छ ।

हवाई टिकटमा भएको अत्यधिक वृद्धिले विशेषगरी काठमाडौं र आसपासका क्षेत्रबाट दिल्ली आउनेहरूलाई बढी समस्या परेको छ । पोखराका एक युवा विगत एक महिनादेखि आमाको पित्तथैलीको क्यान्सरको उपचारका लागि दिल्लीमा थिए । चिकित्सकले पन्ध्र दिनपछि आउन भनेकाले उनले दिल्लीमा बस्नुभन्दा घर पुग्ने निधो गरे । हवाई टिकट खोज्न थाले ।

‘हवाई भाडा सुन्दा सुरुमा पत्यारै लागेन,’ उनले भने, ‘दिल्ली आउँदा आमा र मेरा लागि २४ हजार रुपैयाँ मात्र तिरेको थिएँ । अहिले ३३ हजार भारु (करिब ५३ हजार) पर्ने रहेछ ।’ उनले आमाको स्वास्थ्यका कारण दोब्बर महँगो भए पनि प्लेनबाट जाने निधो गरेको सुनाए ।

हवाई भाडा एकाएक वृद्धि हुनुमा भारतीय निजी विमान सेवा कम्पनी जेट एयरवेजको उडान स्थगितलाई ठानिएको छ । वित्तीय संकटका कारण भारतको सबैभन्दा ठूलो निजी वायुसेवा कम्पनी जेट एयरवेजका सबै उडान गत सातादेखि स्थगित भएका छन् । त्यसअघि कम्पनीले दिल्ली–काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो ।

जेटको उडान स्थगितपछि हवाई टिकटको माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएकाले पर्यटकीय सिजनले महँगिँदै गएको दिल्ली–काठमाडौं हवाई भाडामाथि थप चाप परेको हो । एक महिनाअघिसम्म दिल्ली–काठमाडौं न्यूनतम हवाई भाडा करिब पाँच हजार भारु रहेकामा अहिले बढेर १८ हजार भारु नाघेको छ । कतिपय कम्पनीहरूको भाडा ३० हजारभन्दा बढी छ । अन्य विमानको तुलनामा नेपाल वायुसेवा निगमको भाडा कम छ । आगामी बुधबार निगमको दिल्ली–काडमाडौंको भाडा १८ हजार ७ सय रुपैयाँ रहेकोमा इन्डिगोको २५ हजार र एयर इन्डियाको ३२ हजार छ ।

मार्चदेखि जुन महिना नेपालमा पर्यटकीय सिजन मानिन्छ । यो समयमा पदयात्रादेखि पर्वतारोहणका लागि पश्चिमा मात्र होइन, भारतीय पर्यटकको समेत रोजाइमा नेपाल पर्ने गरेको छ । ‘विगतमा पनि यो अवधिमा हवाई भाडा चर्को हुने गर्थ्यो,’ नेपाल वायुसेवा निगमका दिल्ली प्रमुख टंक भण्डारीले भने, ‘त्यसमाथि जेटको दैनिक चारवटा उडान स्थगित भएपछि प्रभाव देखिनु स्वाभाविक हो ।’ राजीव गान्धी क्यान्सर अस्पताल छेउको सोमबजारस्थित एनबी टुर्स एन्ड सञ्चालक विष्णु शाहीले चर्को हवाई भाडाका कारण आफूले बिरामीको अवस्था हेरेर ट्रेनलगायतका विकल्प सुझाउन थालेको बताए ।

‘बिरामीको अवस्था ठीक छ भने काठमाडौं सिधा नगएर नजिकका सहरसम्म ट्रेन वा प्लेनबाट जान सुझाव दिने गरेको छु,’ शाहीले भने । निगमले हाल न्यारो र वाइडबडीबाट काठमाडौं–दिल्ली उडान गर्दै आएको छ । निगमले यो रुटमा बढदो चापकै कारण मे १ देखि दैनिक दुइटा उडान गर्ने निर्णय गरिसकेको छ । त्यसपछि हवाई भाडा केही कम हुने अपेक्षा गरिएको छ ।

त्यसो त भारतको नागरिक उड्डयन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) दुवैले अस्वाभाविक रूपमा हवाई भाडा नबढाउन चेतावनी दिइसकेका छन् । वायु सेवा कम्पनीहरूले त्यसको अटेर गर्दै आएका छन् ।कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्