Logo
|
Wednesday 24th April 2024
Logo

epaper

जसले अस्पताल बनाउन गरे तीन करोड दान



मेरुदण्डमा चोटपटक लागे पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरूले हृवीलचियरको साहरा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।

रुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षाघात भएकाहरूको पुनर्स्थापनाका लागि अस्पताल बनाउन नारायणगढमा एक दानवीरले तीन करोड रुपैयाँ दान दिने भएका छन् ।

नारायणगढ निवासी ९० वर्षीय उदयकुमार पिया सोमबार निकै खुसी देखिन्थे । उनले तीन करोड रुपैयाँ दिने पक्का भएपछि दिउँसो भरतपुर–३ बाह्रघरे सानो मझुवामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रको शिलान्यास भयो । भरतपुर महानगरले एक बिघा जग्गा उपलब्ध गराएपछि भवन बनाउने दाताको खोजीमा भौंतारिएका चितवन रोटरी क्लबलाई पियाले ठूलो साहरा दिए ।

चितवन रोटरी क्लबले ६ वर्षदेखि भरतपुर अस्पतालभित्र स्पाइनल इन्जुरी युनिट सुरु गरेको थियो । व्यवस्थित उपचार केन्द्र बनाउने योजनामा जुटेको रोटरीलाई महानगरले जग्गा र पियाले रुपैयाँ दिए । ‘हिजो सपनाजस्तै लाग्ने विषय अब साकार हुँदै छ,’ रोटरी क्लब चितवनका अध्यक्ष कपिलबाबु खनालले भने । क्लबका पूर्व अध्यक्ष चन्द्रमान श्रेष्ठको पहलमा पियाले तीन करोड दान गर्ने घोषणा गरेका हुन् ।

‘सुरुमा एक करोड रुपैयाँ दिन तयार हुनुभएको थियो । त्यस्तै चार/पाँच कट्ठा जग्गामा स–सानो उपचार केन्द्र बनाउने सोँच थियो । जग्गा खोज्दै जाँदा महानगरले एक बिघा दिने भयो । त्यसपछि अस्पताल पनि ठूलै बनाऊँ भन्ने लाग्यो । उदयकुमारजीले पैसा आवश्यक परेको हो भने भन है भन्नुभयो,’ पूर्व अध्यक्ष श्रेष्ठले भने । भवन बनाउन मात्रै पाँच करोड रुपैयाँ लाग्ने अनुमान छ ।

‘पियाजीले ल ल बनाउनहोस्, म अरू दुई करोड थपिदिन्छु भन्नुभयो,’ श्रेष्ठले भने । महत्त्वपूर्ण सहयोग गरेका कारण अस्पतालको नाम नै श्री उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी हस्पिटल तथा पुनर्स्थापना केन्द्र राखिने भएको छ । चमेली उदयकुमारकी श्रीमती हुन् । ९० वर्षको उमेरमा पनि तन्दुरुस्त देखिन्छन् उदयकुमार । तर श्रीमती चमेलीदेविको १५वर्षअघि निधन भयो ।

बन्दिपुरमा जन्मेका उदयकुमार विसं. २००५ सालमा चितवन आएका हुन् । ‘हामीले बन्दीपुरमा पनि कपडाको व्यापार गर्दथ्यौं । नारायणगढमा पनि व्यपारलाई नै निरन्तरता दियौं । व्यापारबाट राम्रै भयो,’ पियाले भने । सामान्य साक्षर पियाले आफ्ना सन्तान दुई भाइ छोरा र ६ जना छोरीलाई राम्रैसँग शिक्षादीक्षा दिए । जेठा छोरा मदन पिया क्यान्सर उपचारका क्षेत्रका नामी चिकित्सक हुन् ।

‘जेठो छोरोले डाक्टर पढ्दै गर्दा एउटा अस्पताल त बनाउनुपर्‍यो भन्ने लाग्दथ्यो । छोरो राम्रै डाक्टर पनि भयो । मनको धोको मनमै थियो । स्पाइनल इन्जुरीको अस्पताल बनाउन सहयोग चाहियो भन्दै आएपछि हुन्छ भनेँ,’ पियाले भने । उनी चितवन आएका बेलामा औलोको महामारी थियो । एक रात बसे ज्वरोले सताउँथ्यो । पियालाई भने केही भएन । व्यापार पनि मौलायो । ‘कमाइ राम्रो भएपछि दान दिन किन मन बाँध्ने । एक पटक मैले ट्रक बेचेर तीन लाख समातेको थिएँ । स्कुलले भवन बनाउनुपर्‍यो भन्दै आए । मैले सरक्कै दिएँ । मान्छे छक्क परे । स्कुललाई त बेलाबेलामा सानोतिनो सहयोग गरेको थिएँ । अस्पताललाई भने लौ न त राम्रै सहयोग गरौं भन्ने लाग्यो,’ पियाले भने । आफूले पढ्न नपाएको हुँदा उनले स्कुललाईसहयोग गरे ।

अक्षर मात्रै चिने पनि होमियोप्याथिक उपचारका किताबहरू पढेर सेवा गर्न सक्ने भएका थिए । अस्पताललाई दान दिन उनलाई यसले पनि उत्प्रेरित गर्‍यो । ‘बाबाको इच्छामा हामी खुसी छौं । सबै सन्तानले उहाँको चाहनालाई सम्मान गर्दै आएका थियौं । स्कुल बनाउन बेलाबेलामा सहयोग गर्दै आउनुभएको थियो । अस्पताललाई पनि दिनुभएको छ । उहाँको कमाइको राम्रो सदुपयोग भयो,’ जेठा छोरा डा. पियाले भने ।

चितवन रोटरी क्लबको अगुवाइमा नारायणगढ रोटरी, रत्ननगर रोटरी, नारायणी मिड टाउन रोटरी, भरतपुर रोटरी र जावलाखेल रोटरीले अस्पताल बनाउन हातेमालो गर्नेछन् । स्पाइनल इन्जुरी संघ नेपालसँग सबै क्लबहरूले सहकार्य गरेका छन् । ‘शिलान्यास भएको छ । अब दुई वर्षभित्र हामी अस्पताल सञ्चालन गर्नेछौं,’ परियोजना संयोजक उत्तमलाल चुकेले भने ।

निर्माणमा खर्च हुने तीन करोडबाहेकको थप दुई करोड रुपैयाँ रोटरी क्लबहरूले जुटाउनेछन् । उपकरणका लागि रोटरी क्लब अन्तर्राष्ट्रियको कोषले सघाउने पूर्व अध्यक्ष श्रेष्ठले बताए । उपचार र पुनर्स्थापनामा खट्ने चिकित्सक र प्राविधिकहरू स्पाइनल इन्जुरी संघसँग सहकार्य गरेर व्यवस्थापना गर्ने अध्यक्ष खनालले बताए ।

अध्यक्ष खनालका अनुसार तत्काल अस्पताल२५ शय्याको हुनेछ । त्यसपछि दोस्रोचरणमा ५० शय्याको हुने उनले बताए । ‘मेरुदण्डको चोटपटक लागेपछि उचित उपचार दिएर उनीहरूको जीवन सहज बनाउन हामी तालिमहरू दिनेछौं । आयआर्जनमूलक तालिमहरू पनि चलाउने योजना छ । उदयकुमारजीको सहयोगले धेरैको जीवन सहज हुने अवस्था बन्दै छ,’ अध्यक्ष खनालले भने
।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्