Logo
|
Friday 29th March 2024
Logo

epaper

छुटेकालाई वैशाखभरि खोप अभियान



 सरकारले नियमित उपलब्ध गराउँदै आएको खोप लिन छुटेका बालबालिकालाई समेट्ने गरी वैशाखभर खोप अभियान सञ्चालन गर्ने भएको छ। वैशाख १ गते सुरु भएको सो अभियान देशभर सञ्चालन भइरहेको परिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य शाखाले जनाएको छ। कुनै पनि खोप लगाउनबाट बालबालिका नछुटून् भन्ने उद्देश्यले अभियान चलाइएको शाखाले जनाएको छ। सरकारको यो अभियान विगत ९ वर्षदेखि सुरु भएको हो।

सरकारले दुई वर्ष मुनिका बालबालिकालाई दिँदै आएका कतिपय खोप छुट्ने गरेको कारण हरेक वर्ष यस्तो अभियान चलाउने गरेको जनाएको छ। परिवार महाशाखा बाल स्वास्थ्य शाखाका अनुुसार प्रत्येक वर्ष २२ प्रतिशत बालबालिका पूरा खोप लिन छुट्ने गरेका छन्। ७८ प्रतिशतले भने पूर्ण खोप लिएका छन्। नेपालमा प्रतिवर्ष ६ लाख २८ हजार बालबालिकाको जन्म हुने र ती सबै बालबालिकालाई खोप कार्यक्रमले समेट्नु पर्छ।

विभिन्न खोप मध्ये कुनै एउटा छुटे पनि खोप पूर्ण नभएको मानिन्छ। त्यस्ता बालबालिकालाई खोजीखोजी खोप लगाइने तयारी।
अभियानअन्तर्गत यो महिनाभरमा स्वास्थ्य स्वयंसेविकाले छुटेका शिशु तथा बालबालिकाहरु खोजेर स्थानीय स्वास्थ्य संस्थामा बुझाउनेछन्। छुटेका भनिएका बालबालिकालाई स्वास्थ्यकर्मीले खोप लगाउनेछन्। प्रत्येक वर्ष कुनै न कुनै खोप लगाउन छुटेका बालबालिका समुदायमा भेटिने गरेको कारण यो अभियानले सहयोग पु¥याउने परिवार महाशाखा बाल स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत दीपक झाले बताए। कतिपय बालबालिकाले कुनै पनि खोप लिन नपाएको समेत पाउने गरेको उनले जनाए। ‘विभिन्न खोप मध्ये कुनै एउटा छुटे पनि खोप पूर्ण नभएको मानिन्छ। त्यस्ता बालबालिकालाई खोजीखोजी खोप लगाउँछौ,’ अधिकृत झाले भने।

अधिकृत झाका अनुसार नेपालको प्रदेश नम्बर दुईको सीमाना क्षेत्र र कर्णाली जिल्लाका बालबालिकाहरु नियमित खोपबाट बढी मात्रामा छुट्ने गरेका छन्। सीमाना क्षेत्रमा बसोवास गर्ने मुस्लिम समुदायलगायत अन्य सांस्कृतिक समूहका बालबालिका छुट्ने गरेको पाइएको छ। मुस्लिम समुदायमा खोप लगाउनु हुन्न भन्ने पुरानो मान्यता र कतिपय समूहमा खोप पछि ज्वरो आएको बालबालिका देखेपछि खोप लिन नमानेको देखिन्छ। त्यसै गरी कर्णाली प्रदेशको हकमा भने भौगोलिक विकटताको कारणले तोकेको समयमा खोप लिन नसकेको देखिन्छ। कतिपय खोप भने अविभावकको व्यस्तता तथा बिर्सने स्वभावको कारण छुट्ने गरेको देखिन्छ। नेपालमा सरकारले बालबालिकाको लागि विभिन्न ११ वटा रोग विरुद्धको खोप लगाउँदै आएको छ। यी मध्येमा कुनै पनि खोप लिनबाट बालबालिका छुटेमा पछि गएर कुनै एक गम्भीर रोगले समात्न सक्छ। गत साउनदेखि सरकारले एफआइभी पोलियोविरुद्धको खोप थप गरेको हो। यसअघि पोलियो रोगको पोलियो थोपा खुवाउँदै आएको थियो। आगामी वर्ष सरकारले रोटाभाइरस विरुद्धको खोप पनि थप्ने तयारी गरिरहेको शाखाले जनाएको छ। नागरिक न्यूज

प्रतिक्रिया दिनुहोस्