Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कान्तिमा आईसियू र जनशक्तिको अभावः बिरामीको बिचल्ली



काठमाण्डौको एक मात्र सरकारी कान्ति बाल अस्पताल आवश्यक उपकरण र जनशक्तिको अभावमा छट्पटाइरहेको छ । देशका कुनाकुनाबाट उपचारका लागि बालकालिकाहरु आउने कान्तिमा न पर्याप्त आईसियू वेड छन् न त नर्सिङ स्टाफ नै । दैनिक सयौं बिरामीको भिड लाग्ने यस अस्पतालमा २१ वटा आईसियू वेड प्रयोगबिहिन छन् । ५२ वटा आईसियू वेड भएपनि बल्ल तल्ल ३१ वटा मात्र सञ्चालनमा छन् । यति मात्र कहाँ हो र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार लेवन वनको आईसियूमा एक जना बिरामी बराबर एक जना नर्स हुनुपर्छ । तर यहाँ एक जना नर्सले ८ जना बिरामीसम्मलाई केयर दिनुपर्ने बाद्यता छ । उपचारका लागि अस्पतालमा आइपुगेका बालबालिकाका आफन्तहरु चिकित्सकहरुले समेत राम्रो व्यवहार नगरेको गुनासो गर्छन् ।

यसबारे कुरा गर्न खोज्दा अस्पताल प्रशासन १० वर्ष अघिको दरवन्दीमा काम गर्नुपरको भन्दै पन्छिन खोज्छ । विपन्न र गरिब जनताका बालबालिकाहरुको धेरै आस्था रहेको यस कान्ति बाल अस्पतालमा समय सापेक्ष दरबन्दी बढाउनका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्न अस्पतालका निर्देशक के हेरेर बसेका छन् ? किन ढिलाइ गरिरहेका छन् । यसबारे  कुरा गर्न खोज्दा अस्पतालका निर्देशक डाक्टर गणेशकुमार राई स्वास्थ्य मन्त्रालयका नयाँ स्वास्थ्य सचिवसँग कुरा राखेको भन्दै पन्छिन खोजे । यसरी कान्ति बाल अस्पतालजस्तो सरकारी अस्पताललाई व्यवस्थित गर्न नसक्दा धेरै बालबालिकाहरु महँगो खर्च तिरेर निजी अस्पतालहरुमा जान बाद्य छन् । सर्वसाधारणहरुको आर्थिक दोहन भइरहेको छ । यसप्रति सरकारको ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्