Logo
|
Friday 19th April 2024
Logo

epaper

बालबालिको क्यान्सर ८० प्रतिशत निको पार्न सकिने: सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प सो हुने



विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा जन्मेदेखि १९ वर्षसम्मका करिब ३ लाख बालबालिकाहरु, रक्त क्यान्सर, ल्युकिमिया, ब्रेन, लिम्फोमा, न्युरो ब्लास्टोमालगायत विभिन्न क्यान्सरबाट पीडित हुने गरेका छन् । शु्रुको अवस्थामा पहिचान भएमा ८० प्रतिशत बालबालिकाहरुको निको पार्न सकिने विज्ञहरुले बताएका छन् ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले आयोजना गरेको सातौं क्यान्सर सभाईभर मिटमा बालबालिकाहरुमा लाग्ने क्यान्सर अन्य उमेर समूहका व्यक्तिको तुलनामा चाँडो निको हुने जानकारी दिइएको छ । ‘चाइल्ड हुड क्यान्सर, क्युरेबल क्यान्सर’ भन्ने नाराका साथ क्यान्सर विजेताहरुलाई हौसला प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठले शुरुको अवस्थामा पहिचान गरेर भरपर्दो उपचार पाएमा बालबालिकाहरुलाई लाग्ने क्यान्सर चाँडै निको हुने बताउनुभयो । अब नेपालमा प्राय सबै प्रकारका क्यान्सर निको पार्न सकिने हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठको भनाइ छ ।

धेरैलाई क्यान्सर बारे  थाहा नभएको र यसले जसरी पनि ज्यान लिन्छ भन्ने भ्रम रहेको पाइन्छ । तर क्यान्सर विजेताहरु शुरुको अवस्थामा पहिचान भई सही उपचार पाएका कारण आफूहरुले क्यान्सर जितेर सहज जिवनयापन  गरिरहेको क्यान्सर विजेता सुनिता चापागाई बताउनुहुन्छ । अर्की क्यान्सर विजेता सितादेवी ढकाल समयमा नै सम्बन्धित क्यान्सर विशेषज्ञसँग सल्लाह लिएका कारण आफू क्यान्सरलाई जित्न सफल भएको बताउनुहुन्छ । क्यान्सर निको भइसकेपछि आत्मबल बलियो बनाउनुपर्ने र परिवारको पूर्ण साथ र सहयोग हुनुपर्ने क्यान्सर बिरामीका आफन्त कला खतिवडा बताउनुहुन्छ ।

हुन त सरकारले क्यान्सर बिरामीहरुको औषधोपचारका लागि १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । तर यो पर्याप्त छैन । क्यान्सरको उपचारका लागि राज्यले स्वास्थ्य बीमा लागू गर्न सकेको अवस्थामा क्यान्सर बिरामीहरुले उपचारमा ठूलो राहत पाउन सक्नेछन् । यसप्रति राज्यको ध्यान पुग्न जरुरी छ ।

सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प सो हुने
सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प सो को अपार सफलता पछि बच्चाहरुमा हुने क्यान्सरबारे जनचेतना अभिबृद्धि गर्ने उदेश्यले नेपालमा पहिलो पटक सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प सो हुने भएको छ ।
ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालले आयोजना गरेको सातौँ क्यान्सर सर्भाइभर मिट तथा अन्तक्रियात्मक कार्यक्रममा सो जानकारी दिइएको हो ।
नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको आयोजनामा आगामी जुलाई १३ (असार २८) का दिन सो कार्यक्रम हुने नेपाल क्यान्सर अस्पतालका निर्देशन एवं कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमबाट निम्न वर्गीय बिरामीका लागि उपचार खर्च उठाउने, बच्चामा हुने क्यान्सर बारे जनचेतना दिने, बच्चालाई हुने क्यान्सर निको हुन सक्छ र उनिहरुले सामान्य जीवनयापन गर्न सक्छन भन्ने सन्देश दिने  उदेश्यले  र्याम्प सो आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

क्यान्सर भएको बच्चामा नि:सन्तानको समस्या देखिन सक्छ
सोहि कार्यक्रममा बच्चाको क्यान्सरको उपचार गर्दा केमोथेरापीको असरले शरीरको अंगको बृद्धि विकासमा अवरोध आउन सक्ने बाल क्यान्सर विशेषज्ञ डा. प्रकाश निधि तिवारीले बताउनुभयो । क्यान्सरको उपचार गर्दा दिइने केमोथेरापिको असरले उनिहरुमा ठुलो भएपछि नि:सन्तानको समस्या देखिन सक्ने भन्दै उपचार सकिएपछि निरन्तर चिकित्सकहरुको सम्पर्कमा रहिरहनुपर्ने डा. तिवारीको भनाइ छ । उहाँ भन्नुहुन्छ – ‘नियमित चिकित्सको सम्पर्कमा रहिरहनुपर्छ । पुरुषले १४ वर्ष पछि शुक्रकिटको विकास कस्तो छ भनेर जाँच गर्नुपर्छ भने स्त्रीले स्तनको विकास र महिनावारी स्थितिबारे जाँच गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्