कोमापछि किताब

प्रकाश गुरागाईं,  काठमाडाैं || प्रकाशित मिति :2019-05-02 06:09:14

‘जेलभित्र बस्दा पनि कोही समयतालिका बनाउँछ ? लगेर थुनिदिएपछि आराम गर्नुपर्छ भनियो, बसियो । तर, नरहरि निस्किए फरक । तालिका बनाएर बिहान ३ बजे नै उठ्ने ।’डा. देवेन्द्रराज पाण्डेले यति बोलिसक्दा प्रज्ञा प्रतिष्ठानको डबलीमा ताली बज्यो । पाण्डेले ‘गणतन्त्रको यात्रा बन्दी वृत्तान्त’ पुस्तकबाट नरहरि आचार्यको समयतालिका नै देखाए । एउटा पेजमा जस्ताको त्यस्तै राखिएको समयतालिकामा उनी उठ्ने, मर्निङवाक गर्ने, खाना खाने, पढ्ने, लेख्नेलगायत कामको तालिका छ ।नरहरि जेलमा दैनिक डायरी लेख्थे । कांग्रेसभित्र गणतन्त्रको मुद्दा उठाउने नरहरि राजा ज्ञानेन्द्रको शासनमा दुईपटक जेल परे । पहिलोपटक तीन महिना र दोस्रोपटक पाँच महिना गरी आठ महिना पाँच दिन थुनिए । गणतन्त्रको आन्दोलनमा सबैभन्दा बढी जेल बस्ने उनी नै थिए । गणतन्त्र आएपछि नरहरि जेलमुक्त भए । मन्त्री पनि भए । तर, उनको डायरी १५ वर्षसम्म अप्रकाशित रह्यो । नरहरिले फेरि पल्टाएर पनि हेरेनन् ।
०००
२६ माघ ०७२, बिहान । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अचानक निधन भएको खबर फैलियो । कोइराला महाराजगन्ज बस्थे । कांग्रेस नेता नरहरि आचार्यको घर पनि त्यही क्षेत्रमा । कोइराला निधनको खबर पाउनेबित्तिकै नरहरि दौडिएर पुगे । केही समयपछि पत्रकारसँग कुरा गर्दागर्दै उनी ढल्न पुगे । त्यसपछि के भयो, नरहरि सम्झन सक्दैनन् ।

उनलाई नजिकैको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगियो । मस्तिष्कघात भएको रहेछ । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा केही समयको उपचारपछि न्युरो अस्पताल बाँसबारी सारियो । आचार्यको मस्तिष्कमा रगत जमेको थियो । चिकित्सकले शल्यक्रियाविना नै औषधिका माध्यमबाट रगत फटाएर निकाल्न सकिने बताए । झन्डै ६ महिना अस्पतालमै बसे ।

उनको दायाँ अंग प्यारालाइसिस भयो । तर, थेरापीबाट प्यारालाइसिस केही ठीक भयो । मस्तिष्कघात भएको झन्डै एक वर्षपछि १५ माघ ०७३ मा उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको २१औँ वार्षिकोत्सवमा सहभागी भए । उनले मन्तव्य पनि दिए । तर, उनलाई चिकित्सकले थप आरामको सल्लाह दिए ।

मस्तिष्कघात भएको २६ महिनापछि आचार्य पहिलोपटक पार्टी कार्यालय सानेपा पुगे । केन्द्रीय समितिको बैठकमा भाग लिन उनी त्यहाँ गएका थिए । त्यतिवेला उनी लठ्ठीको सहारामा हिँड्न सक्ने भएका थिए । सहयोगी पनि चाहिन्थ्यो । बैठक भने स्थगित भयो । त्यतिवेला उनले निराशा र नेताहरूमाथि आक्रोश पोखेका थिए । अब सक्रिय जीवनमा फर्कने घोषणा पनि गरेका थिए ।

कोमाबाट उठेको झन्डै तीन वर्षपछि नरहरि आचार्यको पुस्तक प्रकाशन भएको छ, गणतन्त्रको यात्रा बन्दी वृत्तान्त । यो उनको जेल डायरी हो । प्रज्ञा प्रतिष्ठानको डबलीमा बुधबार भएको पुस्तक विमोचन समारोहमा पनि उनी लठ्ठी र सहयोगीको सहारामा मञ्च उक्लिए । अझै पनि उनको शरीरको दायाँ पाटो राम्रोसँग चल्दैन । दायाँ हात र पाखुरामा पट्टी बाँधेका छन् । लठ्ठी पनि देब्रे हातले समात्नुपर्छ । उनले आफू बिस्तारै ठीक भइरहेको जानकारी दिए ।

पुस्तकमा डायरी मात्र नभएर जेलबाट नरहरिले लेखेका चिठी र उनलाई लेखिएको चिठी पनि राखिएको छ । त्यस्ता चिठी सयवटाभन्दा बढी भएको रामचन्द्र घिमिरे बताउँछन् । तर, पुस्तकमा भने छानिएका ५१ वटा चिठी राखिएको छ ।

उनले देब्रे हातले ल्यापटपको कि–बोर्ड चलाउन पनि सिकेका छन् । ‘अब देब्रे हातले ल्यापटपमा बिस्तारै लेख्न पनि सक्छु,’ उनले भने । ‘गणतन्त्रको यात्रा बन्दी वृत्तान्त’ भने उनी आफैँले टाइप गरेका होइनन् । रामचन्द्र घिमिरेले टाइप गरिदिएका हुन् । टाइप गरेपछि मात्र नरहरिले आफ्नो जेल डायरी दोहोर्‍याएर पढे ।
०००
राजा ज्ञानेन्द्रले १८ असोज ०५८ मा संकटकाल लगाए । सो दिन बिहान नरहरि आचार्य घरैमा थिए । संकटकाल लाग्नुअघि नै सादा पोसाकका प्रहरीले घर निगरानीमा राखिसकेका रहेछन् । बिहान ९ बजेतिर सोधपुछका लागि हेडक्वार्टर जान आग्रह गरे । यसरी उनी पक्राउ परेका थिए ।

उनलाई सशस्त्र प्रहरी मुख्यालय हलचोक लगियो । त्यहाँबाट ककनी पुर्‍याइयो । यता नरहरि बेपत्ता भएको खबर फैलियो । श्रीमती शारदा शर्मा दिल्लीस्थित परिवार नियोजन संघको क्षेत्रीय कार्यालयमा काम गर्थिन् । उनी श्रीमान् खोज्न काठमाडौं आइन् । नरहरिलाई खोज्न गरेको संघर्ष शारदाले अघिल्लो वर्ष प्रकाशित आफ्नो संस्मरणात्मक पुस्तक ‘त्यो समय’मा उल्लेख गरेकी छिन् ।

शारदा, नरहरिका सहयोगीसमेत रहेका कांग्रेस नेता रामचन्द्र घिमिरेलगायतले खोजी थाले पनि कहाँ छन् भन्ने पत्ता लागेन । सशस्त्रको हलचोक, मानवअधिकार आयोग, आइसिआरसीको कार्यालयमा धाए । हप्तादिनपछि नरहरिलाई ककनी राखिएको संकेत मिल्यो । उनीहरू त्यतै हानिए ।

रामचन्द्र घिमिरेका अनुसार ककनीमा नरहरि आचार्यलाई अर्का कांग्रेस नेता लक्ष्मण घिमिरेसँगै राखिएको रहेछ । प्रहरीले कापी–कलम दिएको थिएन । घिमिरेले सिसाकलम र कागजका साना टुक्रा भेटाएछन् । तिनै टुक्रामा दैनिकी लेख्दारहेछन् ।

नरहरिलाई राखेको ठाउँ पत्ता लागेपछि रामचन्द्र खानेकुरा लिएर जान थाले । खानेकुरामा राखेर उनले डायरी र कलम दिए । पहिलोपटक जाँदा भने आफूसँग भएको कापी र कलम दिएका थिए । कागजका टुक्रामा लेखिएको दैनिकी नरहरिले कापीमा सारेका थिए ।

दुईपटक गरेर आठ महिना पाँच दिन थुनिँदा उनले डायरीको ठेली नै तयार गरे । तर, प्रकाशन गरेनन् । बुधबार विमोचन समारोहमा उनले भने, ‘छाप्नुपर्छ भन्ने लागेन । पछि छापे पनि हुन्छ भन्ने पनि थियो । त्यसपछि बिरामी भइहालेँ । अनि घरमा आराम गर्दा डायरीको याद आयो । केही साथीहरूलाई सोधेँ । छाप्नैपर्छ भन्ने सल्लाह पाएर छापेको हुँ ।’

गणतन्त्रको आन्दोलनमा सबैभन्दा बढी जेल बस्ने नरहरि नै थिए । गणतन्त्र आएपछि उनी जेलमुक्त भए । मन्त्री पनि भए । तर, उनको डायरी १५ वर्षसम्म अप्रकाशित रह्यो । नरहरिले फेरि पल्टाएर पनि हेरेनन् ।

पुस्तकमा डायरी मात्र नभएर जेलबाट नरहरिले लेखेका चिठी र उनलाई लेखिएको चिठी पनि राखिएको छ । त्यस्ता चिठी सयवटाभन्दा बढी भएको रामचन्द्र बताउँछन् । तर, पुस्तकमा भने छानिएका ५१ वटा चिठी राखिएको छ ।

ती चिठी संकलन गर्ने काम पनि रामचन्द्रले नै गरेका हुन् । उनी नरहरिलाई चिठी लगिदिने र ल्याइदिने गर्थे । ‘मैले पठाएका र मलाई पठाइएका सबै चिठी उसले फोटोकपी गरेर राखेको रहेछ, त्यसो हुँदा सुरक्षित भयो,’ नरहरि भन्छन् ।

उनका डायरी पनि रामचन्द्रले टाइप गरेका हुन् । नरहरि लामो अस्पताल बसाइपछि घर फर्किएका थिए । उनलाई बल्ल डायरी प्रकाशनको विचार आयो । अनि रामचन्द्रले टाइप गरेका आफ्ना अक्षर पढ्न थाले । केही भाषा र वाक्यबाहेक उनले अन्य केही पनि सम्पादन गरेनन् । नरहरि भन्छन्, ‘जेलमा बस्दा लेखिएको कुरा बाहिर बसेर सम्पादन गर्दा त अर्कै भइहाल्छ नि । दुईपटक पढेँ, तर नमिलेका वाक्यभन्दा बढी सम्पादन गरिनँ ।’
०००
पुस्तक विमोचन कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी कृष्ण पहाडीले पनि पुस्तक सम्पादनको कुरा उठाए । ‘विश्वका चर्चित व्यक्तिका संस्मरण, डायरी र आत्मकथा निकै छरिता हुन्छन्, उहाँको पुस्तकका कतिपय सन्दर्भ दोहोरिएका छन् ।’ नरहरिले भने लेखक स्वयंलाई सम्पादन गर्न गाह्रो हुने बताए ।

प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन कार्यक्रमका लागि मञ्चमा थिए डा. देवेन्द्रराज पाण्डे, प्रा. कृष्ण खनाल, कृष्ण पहाडी र शारदा शर्मा । पाण्डे र पहाडी गणतन्त्रको आन्दोलनमा जेलजीवन बिताएका व्यक्ति हुन् । तीनैजना नागरिक समाजका तर्फबाट आन्दोलनमा थिए ।

पहाडीले पुस्तक पढ्दा आफैँले लेखेझैँ भएको बताए । नरहरि गणतन्त्रको आन्दोलनमा विजयी भए पनि पार्टीभित्र भने पटक–पटक पराजित भएको बताए । लडेर ल्याएको गणतन्त्रलाई अहिले कुरूप बनाउन खोजिएको उनको भनाइ छ । उनले भने, ‘हुलाक बदलियो, हुलाकी बदलिएन ।’

प्रा. कृष्ण खनालले जेलमा परेपछि व्यक्तिले आफैँलाई छाप्ने महसुस भएको बताए । नरहरिले लहडमा आएर कांग्रेसभित्र गणतन्त्रको बहस नउठाएको उनको कथन थियो । समयले नरहरिलाई पुष्टि गरेको खनालले बताए ।

डा. देवेन्द्रराज पाण्डेले मस्तिष्कघातपछि नरहरि आचार्यको शारीरिक अवस्था कमजोर भए पनि बौद्धिक क्षमता पहिलेझैँ रहेको बताए । पुस्तकले गणतन्त्रका लागि गरिएको संघर्षलाई उजागर गरेको पाण्डेको भनाइ छ ।  नयाँ पत्रीकाबाट

    Comment Here!