Logo
|
Friday 29th March 2024
Logo

epaper

टाउको दुख्ने समस्याबाट मुक्त हुने पाँच उपाय



 हरेक मानिस आफू स्वस्थ रहन चाहन्छन् । तर, वातावरणीय प्रभाव, बदलिदो मौसम र मानसिक तनावलगायत विभिन्न कारण मानिसमा अन्य शारीरिक समस्या जस्तै टाउँको दुख्नु पनि एक हो । टाउकोको दुखाइलाई अंग्रेजीमा ‘माइग्रेन’ भनिन्छ । तर, सामान्य टाउको दुखाइलाई भने माइग्रेन भन्न मिल्दैन । २ देखि ७२ घण्टासम्म लगातार टाउको दुखी रहनु र यो क्रम बारम्बार दोहोरिएको खण्डमा माइग्रेन भएको मान्नु पर्ने चिकित्सकको भनाइ छ । टाउकोमा हुने सामान्य दुखाइले हरेक मानिसलाई पीडा बोध गराउँछ भने चर्को दुखाइको पीडा सहन साच्चै नै गाह्रो हुन्छ ।

त्यसमा पनि उखरमाउलो गर्मी मौसममा बाहिर हिँड्डुल गर्नु पर्‍यो भने टाउको नै फुट्ला झै दुखाइको पीडा हुन्छ । धरै मानिसले टाउको दुख्नुलाई रोगको रुपमा पनि लिने गरेका छन् । तर, टाउको दुखाइ कुनै ठूलो रोग होइन, सामान्य मानिन्छ । यही सामान्य मानिने टाउको दुखाइले निकै कष्ट दिन्छ । शरीरमा पानीको कमी हुँदा पनि टाउको दुख्ने समस्या देखिन्छ । यद्यपि, टाउको दुखाइ वा माइग्रेनको सिकार भएका अधिकांश मानिसले यसबाट छुट्कारा पाउन सामान्य उपाय अवलम्बन गरे मात्रै पनि पर्याप्त हुनेछ ।

१) पानीः

टाउको दुखाइको समस्या भएका केही मानिसहरुमा गरिएको अध्ययनले पर्याप्त पानी पिउने व्यक्तिमा टाउको दुखाइमा कमी आएको देखाएको छ । महिनामा दुई पटक कडा र पाँच पटक सामान्य टाउको दुख्ने दुई समूहका मानिसमाथि गरिएको अध्ययनले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउने व्यक्तिमा माइग्रेनको समस्या उल्लेख्य सुधार भएको पाइएको थियो ।

त्यसैले तपाईंले नियमित रुपमा पिउने १–२ लिटर पानीमा थप डेढ लिटर पानी पिउने गर्नु भयो भने टाउको दुखाइको समस्याबाट मुक्ति पाउन सक्नु हुनेछ । बढी पानी पिउने समूहका ४७ प्रतिशत मानिसमा टाउको दुखाइको कमी भएको पाइएको थियो भने कम पानी पिउने समूहका २५ प्रतिशत मानिसमा मात्रै टाउको दुखाइमा सुधार भएको पाइएको थियो । तर, अलिकति बढी पानी पिउँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस् । पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् । र, खाली हुनासाथ नबिर्सी बोतलमा पानी भरिहाल्नोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस् ।

२) क्याफिनः

क्याफिनले दुखाइ कम गर्नसक्छ । ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो ।

सहभागीमध्ये सबै माइग्रेन वा तनावका कारण टाउको दुख्नेहरु थिए । कफी खाँदा क्याफिनको मात्रा सय मिलिग्राम वा बढी भएपछि र पेनकिलर वा प्यारासिटामोल सेवन गर्दा ३३ प्रतिशतलाई आराम भएको थियो भने पेनकिलर मात्र सेवन गर्ने समूहका २५ प्रतिशतलाई आराम भएको थियो । दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो । सहभागीमध्ये सबैभन्दा बढी क्याफिन ‘दैनिक ५४० मिलिग्राम’ सेवन गर्नेहरूलाई माइग्रेनलगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो । यसले के देखायो भने माइग्रेनको टाउको दुखाइमा क्याफिनयुक्त खाना जस्तैः कफी कम खानु उपयुक्त हुन्छ । तर तनाव तथा अन्य कारणको टाउको दुखाइमा भने क्याफिनले फाइदा गर्छ ।
अध्ययनमा जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन ‘दैनिक २४० मिलिग्राम’ सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो ।

यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो । अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन ‘दैनिक १२५ मिलिग्राम’ सेवन गर्नेहरूलाई भने महिनामा १४ पटकभन्दा बढी टाउको दुख्नसक्ने तथ्य पत्ता लगाए । ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुनसक्ने अनुसन्धानकर्ताले बताए । निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्नसक्छ र यो खासगरी बुढापाकालाई हुन्छ । हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ ।

३) उपवासः

केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्नेगर्छ । खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्नेगर्छ । डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो । दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन ‘लो एनर्जी डाइटिङ’ गर्दा टाउको दुख्नसक्छ ।

यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुनसक्छ । रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ । जस्तै चिया, कफी, पानी आदि ।

यस्तै, अर्को एउटा अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाई सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो । अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरिएको थियो । यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ ।

४) मध्यपानः

मध्यपानका कारण हुने ‘ह्याङओभर’ को पहिलो लक्षण नै टाउको दुख्नु हो । तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ । अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ । यसले रगतमासमेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ । कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु ‘मेटाबोलिज्म’ परेपछि ह्याङओभर हुनेगर्छ ।

अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेनसमेत निम्त्याउन सक्छ । अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, नपिउनु नै राम्रो हो । यदि पिउनु परेमा आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै उत्तम उपाय हुन् ।

५) फोलेटयुक्त भोजनको मात्राः

हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन हुने गरेको तथ्य पत्ता लगाएको थियो । त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्