Logo
|
Saturday 20th April 2024
Logo

epaper

अस्पतालजन्य संक्रमण चुनौति न्युनिकरण गर्नेबारे सचेतना



राजधानीलगायत मुलुकभर सञ्चालित अस्पताल एवम् स्वास्थ्य सेवा प्रदायक संस्थाहरुबाट निस्कने संक्रमणजन्य फोहर व्यवस्थापन दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको छ । जोखिमयुक्त फोहर व्यवस्थापन प्रभावकारी नहुँदा मानव स्वास्थ्यमा विभिन्न संक्रमण बढाउने खतरा पनि बढ्दो छ ।
यसैलाई दृष्टिगत गरी वेभ ट्रेडिङ कन्सर्न र डाइभर्सिटीले राजधानीमा बृहत हेल्थ केयर समिटको आयोजना गरेको छ । सो अवसरमा देशभरका २ सय ५ जना नर्सिङ सुपरभाइजर, माइक्रो बायोलोजिष्ट र अस्पतालका इन्फेक्सन कन्ट्रोल प्रमुखहरुलाई एकै ठाउँमा भेला गराएर अस्पतालको लबीदेखि आईसियूसम्मको संक्रमण चुनौति न्युनिकरण गर्नेबारे सचेत गराइयो । सो अवसरमा विश्व बजारमा भएका अत्याधुनिक प्रविधि नेपाल ल्याएर अस्पतालको संक्रमणजन्य फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेबारे व्यापक छलफल भएको वेभ ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक रामिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
अस्पतालको सरसफाइ र संक्रमणजन्य फोहर व्यवस्थापनमा ध्यान दिन सकेमा सम्भावित विभिन्न रोगको संक्रमणबाट बचाउन सकिने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
सो अवसरमा साइन्टिफक सेसनअन्तर्गत ह्याम्स हस्पिटलका डा. अनुप शर्मा, विरेन्द्र सैनिक अस्पतालका डा. लि बुढाथोकि, काठमाडौँ विश्वविद्यालयका माइक्रोवायोलोजिष्ट डा. सुरेन्द्र बधुक, पाटन हस्पिटलका इन्फेक्सन कन्ट्रोल माइक्रोवायोलोजिष्ट डा. पियुस राजभण्डारी, नेपाल मेडिसिटीका क्वालिटि कन्ट्रोल म्यानेजर नरेन्द्र तिमिल्सिनाको नेतृत्वमा प्यानल डिस्कसन गरिएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार, अस्पतालमा ५० प्रतिशत संक्रमण सर्जिकल तर्फबाट हुने गर्छ भने बिरामी हेरचाह गर्दा हुने संक्रमणको दर १० प्रतिशत छ । सेवा लिने क्रममा १० जना बिरामीमध्ये १ जनालाई संक्रमण हुने गरेको संगठनले उल्लेख गरेको छ ।
बिरामीलाई प्रयोग गरेका सुई, उपचारका क्रममा निस्कने पीप, रगत, शरीरका अङ्ग, चिकित्सकीय उपकरण, रासायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तु र रेडियो विकिरणको समुचित व्यवस्थापन हुनुपर्छ । अस्पतालबाट निस्कने तरल तथा ठोस फोहर छुट्याएर फोहर व्यवस्थापन गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकामा उल्लेख छ ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले पुनःप्रयोग हुने फोहर गाड्ने, खुला स्थानमा जलाउने र कवाडीलाई बेच्ने गरेका पाइएको छ तर संक्रमणयुक्त र जोखिमपूर्ण फोहरको उचित व्यवस्थापन गर्न सकेका छैनन् । त्यस्ता फोहर जलाउँदा निस्कने धुवाँमा हुने कार्बन मानव स्वास्थ्यका लागि उत्तिकै जोखिमपूर्ण मानिन्छ ।
महानगरपालिकालगायत स्थानीय निकायले फोहरमैला व्यवस्थापनका लागि सडक किनारमा राखेका फोहर सङ्कलन डब्बामा पनि अस्पतालजन्य फोहर भेटिने गरेको छ । केही स्वास्थ्य सेवा प्रदायकले त्यस्ता फोहर सोझै नदी र ढलमा पनि बगाउने गरेका छन् ।
जनसाधारणलाई जोखिममा पार्ने त्यस्ता फोहरको बेग्लै प्रबन्ध गर्नुपर्ने कानुनी प्रावधान भए पनि त्यसको अक्षरशः पालना नभएको पाइएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १६ ले पनि जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने गतिविधि गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, अस्पतालमा संक्रमण रोकथामका राम्रा कार्यहरु गर्न सकिएमा हालको संक्रमण हुने दरमा ३० प्रतिशत कमी ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्