Logo
|
Friday 29th March 2024
Logo

epaper

मिर्गौला पीडितहरुको सरकारसँग आग्रह



मिर्गौला रोग पीडितहरुले मृत्युपछि गरिने अंगदानलाई व्यापक बनाउन सरकारसँग आग्रह गरेका छन् । यसबाट डायलाईसिसबाट मुक्त भई प्रत्यारोपणका लागि अंग प्राप्त हुने उनीहरुले बताएका छन् । मिर्गौला पीडित सरोकार समाज नेपालको अगुवाइमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटी पीडितहरुले आफ्ना समस्या पहिचान गरी समाधान गरिदिन आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् ।


मिर्गौला पीडितहरुले पर्याप्त मात्रामा डायलाईसिस सेवा उपलब्ध गराइदिनुपर्ने, डायलाईसिसपछि प्रयोग गरिने रगत बढाउने औषधि तथा अन्य आवश्यक औषधिहरु निःशुल्क पाउनुपर्ने, प्रत्यारोपण गर्दा आवश्यक पर्ने एटिजी इन्जेक्सन लगायतका औषधि र प्रत्यारोपणपछि गर्नुपर्ने ट्याक्रोलिमस लेबल टेष्ट र अन्य प्रयोगशाला खर्च निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेका छन् । यसका साथै मिर्गौला रोगी तथा कुरुवाहरुका लागि आवासको व्यवस्था गरिदिनुपर्ने, सरकारीस्तरबाट मरणोपरान्त अंगदानलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने, नाताबाहेक अरुले पनि अंगदान गर्न पाउनुपर्नेलगायतका माग राखेका छन् । उनीहरुले शेरबहादुर देउवा सरकारको पालामा मिर्गौला पीडितहरुलाई दिन शुरु गरिएको मासिक ५ हजार भत्तालाई निरन्तरता दिनसमेत आग्रह गरेका छन् । मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले भन्नुभयो—‘राज्यस्तरबाट मिर्गौला पीडितहरुलाई दिइने सहयोगले निरन्तरता पाउनुपर्छ ।’
मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण अंग मिर्गौला हो । तर मिर्गौला पीडितहरु डायलाईसिस बिना बाँच्न सक्दैनन् । उनीहरुलाई सातामा तीन पटक चार घण्टाको दरले डायलाईसिस चाहिन्छ । साथै चिकित्सक प्रयोगशाला जस्ता अन्य सेवाबिना उनीहरु बाँच्न सक्दैनन् । उनीहरुले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत केही नर्सहरुले गैरकानुनी हड्ताल गरी डायलाईसिसमा रहेका बिरामीहरुको बाँच्न पाउने अधिकारमा प्रत्यक्ष खेलवाड गरेको बताएका छन् ।
नेपालको आवश्यक सेवा सञ्चालन ऐन २०१४ को तफा ३ मा अस्पताल तथा क्लिनिक सेवामा हड्ताल गर्न निषेध गरेको सुचना नेपाल राजपत्र भाग ५ को खण्ड ६८ मा उल्लेख छ । त्यस्तो हड्ताल गर्न निषेध गरेको प्रत्यक्ष मानवको जीवन र बाँच्न पाउने अधिकार विरुद्ध यस प्रत्यारोपण केन्द्रमा हड्ताल गरी आफू काम नगर्ने र काम गर्न जानेहरुलाई पनि धम्की दिइरहेको उनीहरुले बताए । हाल केन्द्रमा दैनिक १ सय ५० जना बिरामीको डायलाईसिस हुँदै हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्