Logo
|
Friday 19th April 2024
Logo

epaper

किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु   



Iron-Folic-Acid

तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो ।

उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ ।

उपहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख डा दाहालको भनाइ छ । उहाँले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताउनुभयो । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ ।

प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । दाङमा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो । किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगीले बताउनुभयो ।

उपमहानगरपालिकाले अहिले घर–घरमा गएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि जारी राखेको छ । साथै स्मार्ट आमा कार्यक्रम पनि उपमहानगरपालिकाले जारी राखेको छ । उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखिएको डा दाहालले बताउनुभयो ।    गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्