Logo
|
Thursday 28th March 2024
Logo

epaper

थुक्पा खाएपछि अचानक आठजना बिरामी, दुई गम्भीर



थुक्पा खाएपछि अचानक आठजना बिरामी, दुई गम्भीर
 

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटस्थित आठजना स्थानीय थुक्पा खाएपछि अचानक बिरामी परेका छन् । दुई बालिका साहित आठजना बिरामी भएका हुन् ।

ढाका बुन्ने तालिममा सहभागी भएका ६ जना महिला र खाजा खुवाउने घरका दुई बालिका बिरामी परेका हुन् । आठमध्ये दुईजनाको अवस्था गम्भीर छ । मिलन केन्द्र पाँचथरले आयोजना गरेको तीनमहिने ढाका बुनाई तालिममा सहभागी भएका उनीहरुले सोमबार स्थानीय जस्मिता फियाकको घरमा थुक्पाको खाजा खाएका थिए ।

ढाका बुनाई तालिममा जस्मिता प्रशिक्षक समेत हुन् । नौ वर्षीया मुहाना शेर्मा र १३ वर्षीया मूना शेर्मा सहित लक्ष्मी फियाक, मनिषा नेपाली विष्णु बिक, मनकुमारी फियाक, सोना लिम्बू र मेनुका दास बिरामी परेका हुन् । जसमध्ये लक्ष्मी र मनिषाको अवस्था गम्भीर रहेको छ ।

बिरामीमध्ये ६ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । दुईजनाको सदरमुकाम फिदिमस्थित समर्पित अस्पतालमा उपचार भइरहेको छ । नुनमा सीसा मिसाएकाले खाजा खानेजति सबै बिरामी परेको पाँचथर अस्पतालमा उपचाररत बिरामी सोना लिम्बूकाे दाबी छ । ‘खाजामा नुन नलागेको भन्दै नुन थपेर खाजा खायौँ,’ सोनाले भनिन् ‘थुक्पा खाइसकेपछि बटुकाको पिँधमा सीसाको टुक्रा भेटिएको थियो ।’ खाजा खाइसकेपछि घाँटीमा केही अड्कीएजस्तो हुन थालेको र पेट दुख्न थालेको बीरामीहरुको भनाइ छ । खाजा खाएर बिरामी भएका उनीहरु तत्काल स्थानीय आरुबोट स्वास्थ्यचौकी गएका थिए । स्वाथ्यचौकीमा उपचार सम्भाव नभएपछि थप उपचारका लागि बिरामीहरुलाई बुधबार जिल्ला अस्पताल फिदिम ल्याइएको हो ।

खाजा खाइसकेपछि बटुकाको पीँधमा सीसाको टुक्राजस्तो देखिएपछि खोजी गर्दा नुनमा सीसा मिसाइएको पाइएको आयोजक मिलन केन्द्रका अध्यक्ष बहादुरसिंह नेम्बाङको दाबी छ । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्