Logo
|
Friday 29th March 2024
Logo

epaper

गर्भपतनसम्बन्धी कडा कानुन, डाक्टरलाई आजीवन कैदको व्यवस्था



अमेरिकाको अलबामा राज्यको सिनेटले गर्भपतन रोक्नेसम्बन्धी अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ ।

सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्णरुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ ।

रिपब्लिकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ ।

गभर्नरको हस्ताक्षरपछि सो विधेयकले कानुनको रुप लिनेछ । नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।

अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले सो कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ । विधेयकको पक्षमा रहेकाले आफूहरु सर्वोच्च अदालतमा जाने धम्की दिएका छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीश नियुक्त गरेकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ । सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो ।

बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्य सर्वोच्चको आदेश खारेज हुनुपर्ने पक्षमा छन् । सिनेट डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिङ्गलटनले अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको र यो राष्ट्रको लज्जा भएको प्रतिक्रिया दिए ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्