Logo
|
Friday 19th April 2024
Logo

epaper

सय शय्या थप्दै बीपी अस्पताल



धरानको छाताचोकस्थित पुरानो अस्पताल रहेको जग्गामा बसेका पाँच सुकुम्बासी घर र अन्य संस्थालाई अन्यत्रै व्यवस्थापन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरान उपमहानगरसँग आग्रह गरेको छ ।

प्रतिष्ठानले बिरामीको चाप अत्यधिक भएको भन्दै धरान–१ छाताचोकको आफ्नो स्वामित्वको जग्गामा तत्कालका लागि सय शय्याको अस्पताल संचालन गर्ने योजना बनाएको छ । तर उक्त जग्गामा विस १९९४ र ०४५ सालयता बस्दै आएका ५ घर सुकुम्बासीका घर, नगरपालिकाको परिवार स्वास्थ्यकेन्द्र (बर्थिङ सेन्टर), अपाङ्ग पुनःस्थापना केन्द्र र स्वास्थ्य चौकी छ ।

प्रतिष्ठानको स्वामित्वमा छाताचोकमा एक विघा तेह्र कट्ठा चौध धुर छ । उक्त जग्गामा हाल विरु बस्नेत, रजिया मरिक, मैया राई, अमृता मरिक र गंगा मरिकले घरटहरा बनाएर बसेका छन् । अपांग पुनःस्थापना केन्द्रले सानो टहरोमा १५ जना अपाङ्गता भएकालाई राखेको छ ।

वि.स. १९९४ मा उक्त ठाउमा जुद्धनगर अस्पतालको भवन थियो । उक्त अस्पताल भवन हुदै ०२८ सालमा जगान्नाथ डेढराज प्रसुती भवन निर्माण भएको थियो । ०४५ साल भदौमा आएको भूकम्पले जुद्धनगर अस्पतालको भवन भत्कियो भने जगन्नाथ डेढराज प्रसूति भवन जीर्ण अवस्थामा रहेको छ ।

प्रतिष्ठानले तत्कालका लागि हालको जगन्नाथ डेडराज प्रसूति भवनलाई मर्मत सम्भार, रंगरोगन गरेर ओपीडी, ल्याब, एक्सरेसहितको सय शय्याको अस्पताल संचालन गर्न चाहेपछि त्यहाँको सुकुम्बासी परिवार र अन्य संघसंस्था खाली गराउनु उपमहानरपालिकासँग समन्वय गर्न आग्रह गरेको छ । सोमबार दुई चरणमा बसेको दलका प्रतिनिधि, जनप्रतिनिधि बीचको छलफलले प्रतिष्ठानको उक्त जग्गा सदुपयोग गर्नुपर्नेमा अनौपचारिक सहमति भएको छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले प्रतिष्ठानले अस्पताल सेवा विस्तार गर्नु धरानबासीको लागि राम्रै भए पनि त्यसका लागि उपकुलपतिले औपचारिक रूपमा धरान उपमहानगरपालिकासँग छलफल गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘धरान उपमहानगरपालिका प्रतिष्ठानको सिनेट सदस्य पनि भएकाले छाताचोकको जग्गा सदुपयोग गर्ने विषयमा व्यापक गुरुयोजनासहितको प्रस्ताव आउनुपर्‍यो । उपमहानगरपालिकाले के के सहयोग गर्नुपर्ने हो खुलाएर भन्नुपर्‍यो । हामी सहयोग गर्न तयार छौं ।’

उनले त्यहाँ बस्दै आएका ५ सुकुम्बासी परिवार, अपांग पुनःस्थापना केन्द्र र उपमहानगरपालिकाको बर्थिङ सेन्टर, स्वास्थ्य चौकीको व्यवस्थापन गर्ने विषयमा प्रतिष्ठानले ठोस कार्ययोजना पनि ल्याउनुपर्ने बताइन् ।

उक्त जग्गाको स्वामित्वको बारेमा लामो समयसम्म प्रतिष्ठान र उपमहानगरबीच हानाथाप भएको थियो । अझै पनि उपमहानगरले छाताचोकको जग्गा आफ्नै भएको दाबी गर्दै आएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्