Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिमा गर्नेले पाएनन् सहुलियत



महोत्तरी भंगहा-७ मेघरौलकी ३० वर्षीया सुजन गिरी १९ दिने छोराको उपचारका लागि जनकपुर अञ्चल अस्पताल आउँदा स्वास्थ्य बिमा गराएको कार्डसहित आएकी थिइन् । अस्पतालमा बिमा कार्ड देखाउँदै निःशुल्क सेवा लिन खोजिन । तर, नगद बुझने काउन्टरका कर्मचारीले अस्पतालमा लागू भएको स्वास्थ्य बिमाबारे जानकारी नभएको भन्दै पुरा शुल्क लिएर पुर्जा दिए ।

उपचारका क्रममा ३ हजार रुपैयाँ भन्दा बढीको औषधी खरिद गरेपनि सुविधा नपाएपछि गरीले सरकारको स्वास्थ्य बिमा देखावटी मात्र भएको गुनासो गरिन । ‘बिमा गराएर सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने भनिएको थियो, तर पाउन सकिएन’ अञ्चल अस्पतालको बालबालिका वार्डमा भेटिएकी गिरीले भनिन, ‘अस्पतालका कर्मचारीले बिमा गराएको भन्दा कुनै वास्ता नै गरेन । बाध्य भएर पैसा तिरेर औषधि खरिद गर्नु परेको छ ।’

सरकारी अस्पतालका कर्मचारीको गैर जिम्मेवारीपनका कारण स्वास्थ्य बिमाप्रति नकारात्मक प्रभाव परेको छ । जनकपुर अञ्चल अस्पतालको नगद असुली काउन्टर इमर्जेन्सी वार्डमा स्वास्थ्य बिमा गराएको कार्ड देखाउँदा पनि निजी क्लिनिकबाट औषधि खरिद गर्न लगाएको महोत्तरी बर्दिबासकी रेखा साहले बताइन् । अञ्चल अस्पतालको स्वास्थ्य बिमा फाँटमा आइतबार औषधी उपचारमा भएको खर्चको बिल लिएर बिमा वाफतको रकम लिन पर्खिरहेकी रेखाले अस्पतालमा बिमा सेवा लिन झन्झट व्यहोर्नुपरेको बताइन ।

रेखासँगै अञ्चल अस्पतालमा भेटिएका धनुषा सबैलाका भुवनेश्वर महतो आइतबार स्वास्थ्य बिमा लिन प्रक्रिया झन्झट भएकोमा आक्रोश पोखे । स्वास्थ्य बिमा गराएर अञ्चल अस्पतालमा पिसाब सम्बन्धी समस्याको उपचार गराउन बिमा सुविधानै नपाएको उनले बताए । जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य बिमा गराएर उपचार गराउन आउँने यी तीन जना त उदाहरण मात्रै हुन ।

स्वास्थ्य बिमा बोर्डले धनुषामा जेठ १ देखि लागु गरेको स्वस्थ्य बिमा सेवा प्रदेश २ को ५ जिल्लासहित ७ प्रदेशको ४४ जिल्लामा लागु भएको छ । परिवारमा ५ जना सदस्य भएकालाई ३ हजार ५ सयमा १ लाख रुपैयाँ बराबरको उपचार स्वास्थ्य बिमामा समेटिएको भएपनि सरकारी अस्पतालका कर्मचारी बिमा कार्ड भएकालाई झन्झट दिएपछि बिमा प्रति सेवाग्राहीको नकारात्मक प्रभाव परेको छ । ५ जनाभन्दा बढी भएका परिवारमा प्रतिव्यक्ति ७ सय थप र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रावधान छ ।

बिमा बोर्डले गर्भवती महिलाको बिमामा १ वर्षसम्म बच्चा समेत उपचार गर्ने व्यवस्था गरेको छ । जनकपुर अञ्चल अस्पतालमा बिमा कार्ड भएका बिरामीलाई आवश्यकता अनुसार औषधि दिन समस्या भएको सामाजिक सहजकर्ताजितेन्द्र यादवले बताए ।

‘अस्पतालका कर्मचारीले विरामीलाई बिमाबारे बुझ्न नसक्दा झन्झटिलो भएको छ,’ सहजकर्ता यादवले भने, ‘बिरामीलाई लेखिएको औषधि र जाँच अञ्चल अस्पतालमा उपलब्ध नहुँदा समस्या भएको छ । ‘ अञ्चल अस्पतालमा बिमा कार्ड लिएर दैनिक २० भन्दा बढी बिरामीले सेवा लिन आएको उनले बताए । करारमा तीन जना सहजकर्तामार्फत अञ्चल अस्पतालमा राति ८ बजेसम्म बिमा फाँट सञ्चालित छ । अस्पतालको फर्मेसी उपलब्ध नहुने औषधी बाहिरको फार्मेसीबाट खरिद गरी सेवा दिँंदै आएको बिमाका कर्मचारी अनिल यादवले बताए ।

कर्मचारी अभावमा रातिको सिफ्ट खाली भएको उनले बताए । कर्मचारी, भौतिक संरचना र बिमाको जानकारी अभावमा स्वस्थ्य बिमाको प्रारम्भिक अवस्थामा समस्या भए पनि स्वासथ्यम बिमा सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेड नागेन्द्रप्रसाद यादवले बताए ।

‘बिमाबारे पर्याप्त जानकारीको अभावमा अस्पतालले प्रभावकारी सेवा दिन नसके पनि अगामी दिनमा सुधार हँुदै जाने छ,’ उनले भने । स्वास्थ्य बिमा बोड प्रदेश २ का प्रमुख रमेन्द्र कुशवाहाका अनुसार आइतबारसम्म धनुषामा १३ सय ९७ सहित प्रदेश २ मा २४ हजार ३ सय ५२ जनाले स्वास्थ्य बिमा गराएका छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्