Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रत्यारोपण केन्द्रका नर्सहरुको के हो चाला ? अनसन तोडिने र जोडिने क्रम जारी



 

भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नर्सहरुको आन्दोलन स्थगित भनिएपनि आमरण अनसनमा बसेकी केन्द्रकी नर्स डिकी शेर्पाले अनसन नतोड्ने बताएकी छन् । नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले जुस खुवाएर जेठ ५ गते बेलुका साँडे सात बजे आमरण अनसन तोडाएकी डिकी शेर्पाले निन्द्रा लगाउने औषधि खाएको बेला हस्ताक्षर गर्न लगाएको आरोप लगाउँदै पुन अनसन नतोडेको बताएकी छन् । उनी बैशाख २७ गतेबाट आमरण अनसनमा बसेकी थिइन् ।

आन्दोलनरत नर्स र केन्द्रबीच भएको १० बुँदे सहमतिसँगै गत वैशाखको पहिलो साताबाट आन्दोलित नर्सहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताइएको थियो ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी दिलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल र नेपाल शेर्पा महिला संघकी अध्यक्ष डिमी शेर्पाको रोहवरमा भएको सहमतिमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र स्वास्थ्यकर्मी एवं आन्दोलनरत नर्स रविता सितिखु, प्रविना कार्की र सजना देउलाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रशासन तर्फको लोकसेवा विज्ञापन तथा परीक्षाका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ति नपाएमा विस्तारित विभागहरुमा खाई पाई आएको करार नियुक्तीलाई निरन्तरता दिने, केन्द्रको नियमावली संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने, लिखित परीक्षापछि लोकसेवा आयोगबाटै मौखिक परीक्षा लिने, लोकसेवा परीक्षा आगामी कात्तिक महिनामा सञ्चालन गर्न पहल गर्ने, नर्सिङ डाइरेक्टरको काजमा व्यवस्था गरी स्थायी पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने, केन्द्रको भौतिक सेवा सुविधा एवं स्तरोन्नतिका लागि सबैले सम्बन्धित निकायमा पहल गर्ने, अनसन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सम्बन्धित अस्पतालबाट निःशुल्क उपचार गर्ने र गिरफ्तार भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तत्काल रिहा तथा मुद्धाहरु लगाएको भए फिर्ता गर्न सम्बन्धित निकायमा पहल गर्नेलगायतका १० बुँदे सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्