बर्ड फ्लुका कारण युवकको मृत्यु भएपछिको अनुसन्धान कहाँ पुग्यो?

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-05-21 04:50:56

नेपालमा सरकारले हालै बर्ड फ्लुका कारण एकजना युवकको मृत्यु भएको पुष्टि गरेपछि ती युवकलाई त्यो रोग कसरी सर्‍यो भनी अनुसन्धान थालिएकोमा उक्त सङ्क्रमणको कारणबारे अझै स्पष्ट नभैसकेको एक स्वास्थ्य अधिकारीले बताएका छन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको एपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती युवकलाई बर्ड फ्लु सर्नुको कारण पत्ता लगाउन केही साताअघि थालिएको अनुसन्धान अझै जारी छ।

परिचय गोप्य राखिएका काठमाण्डूको पूर्वी भेग बस्ने भनिएको ती युवकलाई चैत १० गते खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरी उपचार थालिएको थियो। तर पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

त्यसलाई बर्ड फ्लुका कारण नेपालमा मानिसको मृत्यु भएको पहिलो घटना भनिएको छ।

एपिडिमिओलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर प्रकाशप्रसाद शाह त्यो घटनाको अनुसन्धानमा सहभागी अधिकारीहरू मध्येका एक हुन्।

उनले सोमवार बीबीसी नेपाली सेवासँग भने, “उनलाई कसरी बर्ड फ्लुको किटाणु सर्‍यो भनेर केलाउने र अनुसन्धान गर्ने क्रम अझै पनि जारी छ। नतिजा अझै निस्किसकेको छैन।”

ती युवक विभिन्न ठाउँमा गएको र त्यसक्रममा उनले कहाँ कहाँ के के खाएको त्यो अझै प्रष्ट नभइसकेको बुझिएको छ। उनको खानपीन र गतिविधिबारे धेरै कुराको अध्ययन, विश्लेषण र अनुसन्धान गर्नुपर्ने भएकोले सङ्क्रमण हुनुको कारण अझै यकिन हुन नसकेको बताइएको छ।

डाक्टर शाहले भने, “हामीले सबै तथ्याङ्कहरू लिएका छौँ। त्यो केलाउने काम भइरहेको छ। त्यसैले अनुसन्धान अझै प्रारम्भिक चरणमै छ।”

‘स्वास्थ्यकर्मीहरू पनि डराएका’ विवरण

चैतको दोस्रो साता एकजना २१ वर्षीय युवकको बर्ड फ्लुका कारण मृत्यु भएको थियो।

त्यसपछि देशका बर्ड फ्लु प्रभावित विभिन्न स्थानका कुखुरा फार्ममा निसङ्क्रमण गर्ने काममा खटिन स्वास्थकर्मी तथा प्राविधिकहरू नै डराउन थालेका विवरण नेपाली सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन्।

तर डाक्टर शाह भन्छन् स्वास्थ्यकर्मी तथा अन्य प्राविधिकहरू डराउनु पर्दैन।

उनले भने, “सबै सुरक्षा उपायहरू अपनाइएपछि सङ्क्रमण हुने सम्भावना हुँदैन। बर्ड फ्लु मानिसबाट मानिसमा सरेको छैन। डराउनु पर्दैन।”

‘बर्ड फ्लुकै कारण मृत्यु’

फ्लु

बर्ड फ्लु गराउने H5N1 नामक भाइरसको सङ्क्रमणबाट प्राय: मानिसको मृत्यु नहुने भन्दै केही विज्ञहरूले हालै मृत्यु भएका ती युवकको अन्य कारणले ज्यान गएको हुन सक्ने भन्दै आशङ्का पनि व्यक्त गरेका छन्। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती बिरामीलाई बर्ड फ्लु नै भएको दाबी गरेको छ।

अस्पताल भर्ना भएपछि बिरामीमा इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको शङ्का लागि चिकित्सकहरूले घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए।

त्यसको अनुसन्धानमा ती बिरामीको घाँटीको र्‍याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन गर्न नेपालमा सम्भव नभएपछि त्यसको परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको जापानस्थित कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा पठाइएको मन्त्रालयले जनाएको छ।

सन् १९९६ मा पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनकै तथ्याङ्कअनुसार सन् २००३ देखि हालसम्म विश्वभरि जम्मा ८६० जना व्यक्तिहरूमा यो भाइरसको सङ्क्रमण भएको बताइन्छ।

तीमध्ये ४५४ अर्थात् आधाजति बिरामीहरूको मृत्यु भएको तथ्याङ्कले देखाउँछ। प्रायश: पक्षीमा सङ्क्रमण हुने यो भाइरसले कहिलेकाहीँ मानिसमा समेत आक्रमण गर्छ।

केही समयअघि त्यो भाइरसका कारण राजधानीमा काग र अन्य चराहरूको समेत ज्यान गएको पुष्टि भएको थियो।

अण्डा र मासु कति सुरक्षित?

कुखुरा

चिकित्सकहरूको भनाइमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्ररी पकाएको मासु वा अण्डाबाट बर्ड फ्लु भाइरस सर्ने सम्भावना हुँदैन।

तर डाक्टर शाह भन्छन्, “कुखुराको खोरमा बर्ड फ्लुको सङ्क्रमण भएको अवस्थामा अण्डामा लागेको सुली मानिसको हातमा लाग्न सक्छ। त्यसबाट मानिसमा सङ्क्रमण हुने सम्भावना रहन्छ।”

उनको भनाइमा काँचो र पोलेको मासुबाट बर्ड फ्लुको संक्रमण सर्ने सम्भावना हुन्छ। तर राम्ररी उसिनेको वा पकाएको अवस्थामा संक्रमण हुने सम्भावना टर्न जान्छ।

सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन्?

चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्। सङ्क्रमण भएपछि देखिने लक्षणहरू निम्न प्रकारका छन्:

  • खोकी लाग्छ, ज्वरो आउँछ
  • टाउको दुख्छ, जाडो लाग्छ
  • हाछ्युँ आउँछ
  • मांसपेशीमा पीडा हुन्छ
  • नाकबाट पानी बग्छ वा नाक थुनिन्छ

लक्षणहरू अचानक पनि देखिन सक्छन्। सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन्।

कसरी बच्न सकिन्छ?

खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्।

तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन। उनीहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्दछ:

कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन

काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ

ध्यान दिनु पर्ने अन्य कुराहरू:

  • पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
  • खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
  • काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
  • ‍चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
  • व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
  • बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
  • फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
  • मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
  • फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
  • सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ

बिबिसिनेपालीसेवाबाट 

    Comment Here!