प्रा.डा. गोपाल रमण शर्माको नेतृत्वमा नेपालमा दुईदिने इन्डोभास्कुलर वर्कसप सम्पन्न

जनस्वास्थ्य सरोकार, ललितपुर || प्रकाशित मिति :2019-06-01 15:39:33

नेपालमा दुई दिने इन्डोभास्कुलर वर्कसप सम्पन्न भएको छ । वरिष्ठ न्युरो भास्कुलर सर्जन प्रा.डा. गोपाल रमण शर्माको नेतृत्वमा नेपाल मेडिसिटी हस्पिटलामा उक्त वर्कसप गरिएको थियो ।
वर्कसपमा एन्युरिजम र एभिएम समस्यामा नसाबाट तार छिराएर क्वाइलिङ राख्ने उपचार पद्धतिबारे प्रशिक्षण एवं सीप र क्षमताबारे जानकारी प्रदान गरिएको थियो । सो वर्क सपमा इन्डोभास्कुलरमा चासो राख्ने करिब ५० जना नेपाली न्युरो सर्जनहरुले सहभागिता जनाएका थिए ।
इन्डोभास्कुलरसम्बन्धि ज्ञान तथा न्युरो इन्डोभास्कुलर विकासका लागि जापानिज प्रोफेसर कोयोमाको नेतृत्वमा आएका ५ जना डाक्टर र ४ जना टेक्निकल सहयोगीले सिप र प्रविधिबारे सिकाएका थिए । सो वर्कसपमा नेपालका नयाँ पुस्ताका न्युरो सर्जनहरुलाई नमुना मेसिनको माध्यमबाट इन्डोभास्कुलर उपचार गर्ने विधि र सिप उपलब्ध गराइएको थियो ।
यसबाट नेपालका न्युरो सर्जनहरुलाई इन्डोभास्कुलर उपचार विधिबारे महत्वपूर्ण सिप हाँसिल गर्न सफल भएको र नेपालमा न्युरो सर्जरीको विकासमा महत्वपूर्ण भूमिका रहेको वरिष्ठ न्युरो भास्कुलर सर्जन प्रा.डा. गोपाल रमण शर्माले जानकारी गराउनुभयो । विगतमा शल्यक्रियाबाट एन्युरिजम र एभिएमको उपचार हुँदै आएकोमा इन्डोभास्कुलर पद्धतिबाट गरिने उपचारले सम्बन्धित बिरामीलाई निकै सहज हुने आशा गरिएको छ । यसका साथै वाइपास न्युरो सर्जरीको विकासका लागि प्रा.डा. शर्माले पहल गर्दै आउनुभएको छ ।
वास्तवमा न्यूरो भनेको नशा र भास्कुलर भनेको रगतको नशा हो । मस्तिष्क र मेरुदण्डलाई सिंचाई गर्ने रगतका नशाहरुको अनुसन्धान, निदान र शल्यक्रिया गर्ने पद्धतिलाई न्यूरो भास्कुलर भनिन्छ । मस्तिष्कभित्रको रगतको नशासम्बन्धि रोगको शल्यक्रियालाई न्यूरो भास्कुलर सर्जरी भनिन्छ । यसमा एन्युरिजम, एभिएमजस्ता सर्जरी पर्दछन् । मस्तिष्कमा रगत सिंचाई गर्ने दुईवटा क्यारोडिआर्टरी, दुई वटा भर्टेब्रलआर्टरी गरी चारवटा रगतका नसाहरु हुन्छन् । यी नसाले मस्तिष्कको अगाडि र पछाडिको भागमा रगत आपूर्ति गरिरहेका हुन्छन् । कुनै कारण यी रगतका नसाहरु बन्द भएमा वा फुटेर ब्रेनभित्र रगत बगेमा वा रगतको नशा बेलुन जस्तो फूट्दै गएमा वा रगतका नशाहरु गुजुल्टो (एभिएम) परेमा शल्यक्रिया एवं इन्डोभास्कुलर पद्धतिबाट क्वाइलिङ गरेर निको पार्नुपर्छ ।
मस्तिष्कको रगतको नलीमा कुनै कारणवश झिल्ली कमजोर भएर बनेको फोकालाई एन्युरिजम भनिन्छ । यो कमजोर हुने भएकाले खोक्दा पनि फुट्नसक्छ । सानोमा यो फुट्दैन । विस्तारै उमेर बढ्दै जाँदा उच्च रक्तचापलगायतका विभिन्न समस्याले फुट्नसक्छ । कतिपय अवस्थामा आफैं पनि फूट्नसक्छ । ब्रेन ह्याम्रेज हुनुको एउटा प्रमुख कारण मस्तिष्कभित्र एन्युरिजम फूटेर भएको पाइएको छ । नेपालमा प्रत्येक वर्ष ३ लाखलाई ब्रेन एन्युरिजम हुने र प्रत्येक वर्ष ६ हजारको एन्युरिजम फूटेर ब्रेन ह्यामोरोइज हुने अनुमान छ । तीमध्ये एक तिहाई अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मर्छन् । अर्को एक तिहाई बिरामीहरु अस्पतालमा भर्ना भएपछि उपचारको क्रममा मृत्यू हुन्छ र बाँकी एक तिहाई मात्र उपचार पाएर बाँचेर घर फर्किन्छन् ।
यसरी ब्रेनको एन्युरिजम बेलैमा पत्ता लगाएर उपचार एवं शल्यक्रिया गरेमा संभावित खतराबाट बिरामी बचाउन सकिन्छ । बिरामीलाई एन्युरिजम भएको थाहा हुने बित्तिकै शल्यक्रिया प्रक्रियामा लानुपर्छ । यो जटिल र संवेदनशील शल्यक्रिया हो । यस किसिमको समस्या भएका बिरामीहरुको शल्यक्रियाका लागि समयको कुनै सिमा हुँदैन । जतिबेला पनि तयार हुनुपर्छ । ५ मिनेट ढिला भएमा पनि बिरामीको ज्यान जानसक्छ । शुरुमा थोरै मात्र ब्लिडिङ हुने भएकाले शल्यक्रिया एवं इन्डोभास्कुलर पद्धतिबाट उपचार गरेर यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसो गर्न सकेमा अर्कोपटक मस्तिष्कमा ब्लिडिङ हुन पाउँदैन र बिरामी लामो समयसम्म बाँच्न सक्छ ।
प्रा.डा. गोपाल रमण शर्माको अध्यक्षतामा मे ३१ र जुन १ तारेखमा भएको सो वर्कसप नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सका वर्तमान एवं पूर्व अध्यक्ष तथा प्रमुख अतिथि र अन्य कार्यकारी समितिद्धारा दिप प्रज्वल गरेर संयुक्त रुपमा समुद्घाटन गरिएको थियो ।

    Comment Here!