Logo
|
Thursday 25th April 2024
Logo

epaper

सहरी महिलाका समस्या



सहरिया (आधुनिक) जीवनशैलीका कारण महिलामा विभिन्न समस्या देखापर्ने गरेको छ । परिणामस्वरूप सहरका अधिकांश महिलाको स्वास्थ्यमा नकारात्मक असर देखापरिरहेको छ । अस्वस्थ जीवनशैली, गलत खानपान, कामको उच्च बोझ आदि यसका प्रमुख कारण हुन् । अब जानौँ, सहरिया जीवनले महिलाको स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे :

निःसन्तान समस्याको जोखिम
निःसन्तान समस्या बढ्नुको अप्रत्यक्ष कारण सहरीकरण पनि हो । आजको युवा सहरमै स्थापित हुन चाहन्छ । यद्यपि, बेरोजगारी, महँगी र उच्च आकांक्षाका कारण ऊ बिदेसिइरहेको छ । जसको प्रत्यक्ष असर प्रजनन स्वास्थ्यमा परेको छ । उनीहरूले ढिलो विवाह गर्नुले पनि निःसन्तान समस्या बढाइरहेको छ ।

कामको बोझ
सहरमा बस्ने महिलाले कामको दोहोरो बोझ झेलिरहेका छन् । सहर छिर्ने अधिकांशको दिनचर्या कडा परिश्रम गरेरै बितिरहेको हुन्छ । जसले गर्दा उनीहरूले आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन पाउँदैनन् । करिअर निर्माण गर्ने सुरले लामो समयसम्म काम गर्दा स्वास्थ्यमा गम्भीर असर पुगिरहेको हुन्छ ।

मानसिक समस्या
सहरमा जुन प्रतिस्पर्धा छ, जसले विशेषगरी महिलाको मानसिक स्वास्थ्यमा असर पु¥याइरहेको छ । खानपान, जीवनशैली र बच्चाको पढाइ आदि विषय लिएर सहरी समाजमा प्रतिष्ठा मापन हुन्छ । अन्ततः यसले प्रतिस्पर्धामा आउन नसक्नेलाई मानसिक समस्या सिर्जना गराउँछ ।

फेसनको ज्वरो
ड्रेसअप र मेकअपजस्ता विषयमा पुरुषभन्दा महिला बढी सौखिन हुन्छन्, जुन सहरमा झनै बढी देखिन्छ । आधुनिक हुने नाममा अधिकांश महिला टाइट लुगा तथा हाई हिल लगाउँछन् । त्यस्तै, जाडो मौसममा पनि पार्टीमा जाँदा पातलो लुगा पहिरिन्छन् । जसले उनीहरूको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । सामान्यतया, महिलाको शरीर बढी संवेदनशील हुन्छ । फेसनका नाममा अपनाइने यस्तो जीवनशैलीका कारण प्रदूषणले छिटो असर गर्ने, हड्डी तथा नसामा असर देखापर्ने र चिसोले चाँडै समात्ने गर्छ ।

प्रदूषण
सहरी वातावरण स्वास्थ्यका दृष्टिकोणले अनुकूल छैन । विशेषगरी, गर्भवती महिला यसबाट बढी प्रभावित हुन्छन् । धुवाँ–धुलो, फोहोर, ढल व्यवस्थापन नहुनु, दुषित पानी र रसायन प्रयोग गरिएका खाद्यन्न र सागसब्जी रोगको मुख्य कारण बनेको छ । यसले गर्भभित्र रहेको बच्चामा पनि असर गर्छ । जसले गर्दा, काठमाडौंमा जन्मने बच्चा जन्मजात नै स्वास्थ्यमा समस्या लिएर आउँछ । त्यस्तै, महिलामा श्वासप्रश्वास, फोक्सो, मुट र नसामा क्यान्सरका साथै बाँझोपनको समस्या हुने गर्छ ।

अस्वस्थ खानपान
आजभोलि विशेषगरी सहरी क्षेत्रमा दीर्घरोगी नभएको परिवार भेट्न मुस्किल छ । जसको मुख्य कारण खानपान हो । नियमित जंकफुड र फास्टफुड खाने बानीले स्वास्थ्यमा गम्भीर समस्या ल्याउँछ । उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलस्ट्रोलजस्ता समस्या सिर्जना गर्छ । जसका कारण कालान्तरमा दीर्घरोगको समस्या बल्झिँदै जाने गरेको छ । नियमित फास्टफुड, कोल्डड्रिंक्स, स्ट्रिडफुड खाने बानीले किशोरीहरूमा महिनावारीमा गडबडी हुने तथा डिस्मेनोरियाको समस्या देखिने जोखिम हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्