Logo
|
Friday 29th March 2024
Logo

epaper

गर्भवतीलाई चल्ला



सुनौला हजार दिनका आमालाई लक्षित गर्दै उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाले गर्भवती महिला र शिशुको पोषण स्थितमा सुधार ल्याउन कुखुराका चल्ला वितरण गरेको हो ।

पहिलो चरणमा चन्दननाथ नगरपालिका ८ र ९ वडाका सुनौला हजार दिनका आमालाई कुखुराको चल्ला वितरण गरिएको छ । कुखुराका चल्ला धेरै अन्डा दिने उन्नत प्रजातिका भएकाले महिला र शिशुको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको नगरपालिकाका पशु शाखा प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए । ‘मातृ तथा बाल पोषण सुधारमा नियमित अन्डा सेवन अत्यन्त महत्त्वपूर्ण छ,’ उनले भने, ‘महिलाले गर्भवती अवस्थामै पोषणयुक्त खाना जान जरुरी छ ।’

नगरपालिकाका ३० घरधुरीलाई ‘ब्ल्याक अस्ट्रालोप्स’ र ‘न्यु ह्याम्पसायर’ जातका हजार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको नगरपालिकाकाले जनाएको छ । नगरपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा कुखुराको चल्ला वितरण गरिएको जनाएको छ । गरिब, विपन्न र दलित परिवारका सुनौला हजार दिनका ३० आमाले समूह गठन गरेपछि कुखुराका चल्ला अनुदानमा पाएका हुन् ।

आमा र बच्चाको पोषणमा सहयोग गर्ने उद्देश्यले प्रत्येक आमालाई १० चल्ला वितरण गरिएको नगरपालिकाले जनाएको छ । उनीहरूलाई १ सय ५० जोडी कुखुराका चल्ला वितरण गरिएको हो । पशु शाखा प्रमुख बुढथापाले २० सातामा अन्डा दिने चल्ला गर्भवतीलाई वितरण गरिएको जानकारी दिए । उनका अनुसार गर्भवतीको पोषणस्तर सुधार्न नगरपालिकामार्फत अन्य कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । बच्चालाई कुपोषणबाट बचाउन कुखुराका चल्ला उपयोगी हुने उनी बताउँछन् ।

यसैबीच नगरपालिकाले व्यवसायीलाई १० थान रेफ्रिजिरेटर, ३० सेट मासु काट्ने सामग्री र २० एप्रोन वितरण गरिएको जनाएको छ । पशु प्राविधिक धनबहादुर बाँनियाका अनुसार एक डेरी उद्योगलाई समेत नगरपालिकाले विभिन्न सामग्री सहयोग गरेको छ । ‘सबै सहयोग नगरभित्र उत्पादन हुने डेरी र मासुजन्य सामग्रीलाई गुणस्तरीय बनाउन वितरण गरिएका हुन्,’ उनले भने, ‘सहयोगपछि उपभोक्ताले स्वच्छ मासु र दूध उपभोग गर्न पाउने अपेक्षा छ ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्