Logo
|
Friday 29th March 2024
Logo

epaper

एक सय अङ्क नल्याए चिकित्सकको लाइसेन्स नवीकरण नहुने



 

अबदेखि चिकित्सकको अनुमतिपत्र(लाइसेन्स) नवीकरण गर्न पाँच वर्षभित्र एकसय अङ्क ल्याउनै पर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘निरन्तर पेशागत उन्नयन कार्यक्रम’ (सीपीडी) अनुसार पाँच वर्षभित्र चिकित्सकले एकसय अङ्क ल्याउन नसके चिकित्सकको लाइसेन्स नवीकरण हुने छैन ।
नेपाल मेडिकल काउन्सिलले सीपीडी लागू गरेसँगै लाइसेन्स नवीकरणका लागि चिकित्सकले पाँच वर्ष भित्र एक सय अङ्क ल्याउनै पर्ने अबस्था आएको हो । नेपाल मेडिकल काउन्सिलले कन्टिन्युइङ प्रोफेसनल डिभलप्मेन्ट (सीपीडी) लागू गरेसँगै डाक्टरले पाँच वर्षभित्रमा एक सय अङ्क ल्याउनुपर्छ । जसअन्र्तगत ३० अङ्क तोकिएको अनिवार्य विषयमा ल्याउनुपर्ने छ भने बाँकी ७० अङ्क आफ्नो व्यावसायिक रुचिको क्षेत्रबाटै आर्जन गर्न सकिनेछ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले नेपालमा चिकित्सा सेवा दिएका सम्पूर्ण चिकित्सकको ज्ञान र सीपलाई अझ परिष्कृत गर्न यस्तो ब्यबस्था ल्याइएको बताउनुभयो । उहाँले चिकित्सक र उपचाररत बिरामीबीच उत्पन्न हुने असमझदारीलाई न्यूनीकरण गर्न सिपिडीले मद्धत गर्ने भन्दै अस्वाभाविक रूपमा लेखिने औषधि तथा परीक्षणलाई व्यवस्थित गर्न सकिने बताउनुभयो ।
अनिवार्य विषयमा चिकित्सकले ३० अङ्क प्राप्त गर्नुपर्नेछ भने रुचि अनुसारको क्षेत्रमा शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेको लेख, रचना, सम्मेलन, सेमिनार, लगायतका आधारमा ७० अङ्क आर्जन गर्नुपर्नेछ ।
काउन्सिलका रजिष्टार डा. दीलिप शर्माले चिकित्सकको काउन्सिलले सिर्जना गरेको सफ्टवेयर प्रणालीमा रेकर्ड बन्दै जाने र त्यही आधारमा अनिवार्य विषयमा ३० र अन्य विषयबाट ७० अङ्क ल्याए पछि मात्र सिपिडी पास मानिने बताउनुभयो ।
उहाँले यो व्यवस्थाले चिकित्सकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा रूपमा अब्बल साबित गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार अनिवार्य मानिएका आचारसंहिता, सञ्चार सीप,संक्रमण रोकथाम र नियन्त्रण, औषधिको सही प्रयोगसँगै व्यावसायिक क्षेत्रमा शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेका लेखरचना, पुस्तक, सभा–सम्मेलन तथा कार्यशालामा सहभागिता समेत चिकित्सकलाई अङ्क प्रदान गरिनेछ ।
त्यसका लागि चिकित्सकले सुरुमा काउन्सिल वेभसाइटमा सीपीडी कार्यक्रममा लगइन गरेर आफूलाई दर्ता गर्ने र आफ्ना कार्यक्रमहरूलाई दर्ता गर्दै मूल्याङ्कन राख्दै जानुपर्नेछ ।
काउन्सिलका रजिस्ट्रार शर्माले नेपालमा चिकित्सा व्यवसायको उन्नति गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सीपीडी लागू गरिएको बताउनुभयो । सीपीडी कार्यक्रमले बिरामी र डाक्टरबीचको दूरी नजिक बन्ने उहाँको भनाइ छ । शर्माले कार्यक्रमको कार्यान्वयनले चिकित्सकलाई निरन्तर अद्यावधिक रहन मद्दत गर्ने जानकारी दिनुभयो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्