Logo
|
Wednesday 24th April 2024
Logo

epaper

जसले दाेस्राेपल्ट संसार देखे



 दुई साता अघिसम्म कुशे गाउँपालिका ७, समाकोटका ४८ वर्षीय बिजुली तिरुवाका लागि संसार अँध्यारो थियो । गत वर्षको असोजमा दुवै आँखाको ज्योति गुमेको थियो । २६ वर्ष हुँदा देब्रे आँखाको ज्योति गुमाएका उनले दोस्रोपटक संसार देख्ने मौका पाएका छन् । गाउँपालिकाको सहयोगमा आँखाको शल्यक्रिया भएपछि उनको आँखाको ज्योति फर्किएको हो ।

गत वर्ष बारेकोट गाउँपालिका ४, कोटे लेकमा सेतक चिनी संकलन गर्न गएका बेला उनको दायाँ आँखा बन्द भएको थियो । तिरुवालाई दोस्रोपटक आँखा देख्न अवसर जुरायो ‘नेपाल राष्ट्रिय आधारभूत विद्यालयको ५८औं वार्षिकोत्सवले ।’ उनी वैशाख अन्तिम साता गाउँलेको साहारामा विद्यालयमा पुगे ।

कार्यक्रममा प्रमुख अतिथि कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले उनलाई आँखाको समस्याबारे सोधे । सबै घटना थाहा पाएपछि अध्यक्ष बस्नेतले तत्काल तिरुवाको उपचार व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिए । दुई साताअघि तिरुवालाई गाउँपालिकाले ३५ हजार रुपैयाँ उपलब्ध गराएपछि उनको शल्यक्रियाको वातावरण बनेको हो ।

तिलगंगा अस्पतालमा दायाँ आँखाको मोतीविन्दुको शल्यक्रियापछि उनले दोस्रोपटक संसार देख्ने मौका पाए । आँखा देख्न नसक्ने भएपछि उनलाई ५ सन्तानको लालनपालनमा समस्या भएको थियो । यसअघि उनी पत्नी कौशिला र ७० वर्षीय आमा रातिकाको सहायतामा शौच गर्थे । ‘म आँखा नदेख्ने भएपछि घरपरिवार मात्र होइन, समाजकै हेला बनेको थिएँ,’ उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर थियो, त्यसैले कहिल्यै उज्यालो देख्न पाउँदिनँ जस्तो लागेको थियो ।’

दुई साताको उपचारपछि शनिबार खलंगा पुगेका उनले अब जीविकोपार्जनमा समेत सहज हुने बताए । कुशेले २ वर्षको अवधिमा राहत तथा उद्धार कोषबाट २ दर्जन दीर्घरोगीको उपचार व्यवस्था मिलाएको छ । अहिलेसम्म दीर्घरोगीको उपचारका लागि १७ लाख रुपैयाँ खर्च भएको अध्यक्ष बस्नेतले बताए ।

उनका अनुसार जटिल सुत्केरीको हेलिकप्टरबाट उद्धार, क्यान्सर, मुटु, मिर्गौलालगायत रोगीको उपचारमा विशेष जोड दिइएको छ । ‘दुर्गम गाउँमा चेतना तथा प्रचार अभावमा धेरै दीर्घरोगीले सास्ती पाइरहेका छन्,’ उनले भने, ‘उनीहरूको उपचारका लागि कोषको स्थापना गरिएको हो ।’ उनले विपन्न र पीडित व्यक्तिको जीवनरक्षाको जिम्मा गाउँपालिकाले लिने जनाए ।

६६ बिरामीको आँखाको शल्यक्रिया

सल्यान– राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा कपुरकोट गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा ६ सयले उपचार सेवा पाएका छन् । शिविरमा ६६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका बिरामी लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आँखा परीक्षणसहित निःशुल्क औषधि र चस्मा वितरण गरिएको थियो । आर्थिक समस्याले लामो समयदेखि उपचारबाट वञ्चित भएका बिरामीलाई सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताए । उनका अनुसार शिविरबाट सातवटै वडाका सर्वसाधारण लाभान्वित भएका छन् ।

उनका अनुसार मोतियाविन्दु भएका बिरामीलाई गाउँपालिकाको एम्बुलेन्समार्फत आँखा अस्पताल रक्षाचौर पुर्‍याइ शल्यक्रिया गरिएको हो । शिविरमा मोतियाविन्दु भएका, आँखामा मासु पलाएका, पाकेका, दृष्टिदोष भएका बिरामी बढी भेटिएको राप्ती आँखा अस्पतालका नेत्र सहायक रोहितकठायतले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्