Logo
|
Friday 19th April 2024
Logo

epaper

अकुपञ्चर सेवाले दीर्घ रोग निदान हुँदै



कलङ्की निवासी शान्ति पौडेललाई चार वर्षदेखि हिँड्दा दाहिने गोडा छोटो भएको जस्तो हुन्थ्यो । दिनभर काम गरे पनि राति दुखाइका कारण सुत्न पनि सक्नुहुन्नथ्यो ।
रातभर निदाउन नसक्ने तथा दिनमा हिंड्न समस्या भएपछि नसासम्बन्धी उपचारको खोजीमा उहाँ धेरै अस्पताल धाउनुभयो । कतिपयले शल्यक्रिया गनुपर्ने तथा कतिले नसाको रोगलाई त अकुपञ्चर (सियोले घोचेर गर्ने उपचार) पो गर्नुपर्छ भन्ने सल्लाह दिए । शल्यक्रिया गर्दा खर्च धेरै लाग्ने र गोडाको अवस्था कस्तो हुने हो भन्ने चिन्ता गर्दै उहाँले चार वर्ष पीडामै बिताउनुभयो । त्रिपन्न वर्षीया पौडेलले अन्तमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य विभागद्वारा सञ्चालित टेकुस्थित अकुपञ्चर सेवा केन्द्रमा अकुपञ्चर गराउन थाल्नुभयो ।
‘चार वर्षदेखि उपचारका लागि विभिन्न ठाउँमा भौँतारिँदै सो केन्द्रमा उपचार थालेको केही दिनमै दुखाइ कम भएपछि अकुपञ्चर उपचार पद्धतिबाटै सन्चो हुन्छ भन्ने विश्वास मनमा पलायो, त्यो पनि एक पटकको उपचार खर्च २५ रूपियाँमा’, उहाँ खुसी हुँदै बताउनुहुन्छ । राति निदाउन दुखाइ कम गर्ने औषधि खानुपर्ने मेरो समस्यालाई एक महिनाको अकुपञ्चरले रातभर आरामले निदाउन सक्ने बनाएको अनुभव सुनाउँदै पौडेलले भन्नुभयो । सोही केन्द्रमा ढाड र गोडाकै उपचार गराइरहनुभएकी दुर्गा राईले आफ्नो पुरानो समस्यालाई पनि अकुपञ्चर उपचार पद्धतिले नै कम बनाएकोले जीवन सहज भएको बताउनुभयो ।
वि.सं. २०४५ को भूकम्पमा माथिल्लो तलाबाट हामफाल्दा राईलाई पनि गोडा छोटो भएको जस्तो अनुभूति हुने, हिंड्न गाह्रो हुने र अत्यधिक ढाड र कम्मर दुख्ने समस्या भयो । उपचारका लागि सारा अस्पताल चहार्दा पनि नभए पछि अकुपञ्चर सेवा लिन थालेको र यसले आफूलाई निक्कै फाइदा गरेको उहाँले बताउनुभयो ।
अकुपञ्चरले नै मेरो रोग निको भएको र चिसो मौसम, वर्षातको बेला दुख्न थालेपछि फेरि अकुपञ्चर गराउँछु । यसको केही बेफाइदा पनि छैन । यो उपचार पद्धति भरपर्दो छ र यहाँ ज्यादै न्युनतम् शुल्कमा उपचार सेवा पाइन्छ– राईले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित सो केन्द्रमा अकुपञ्चर एक पटक गरेको २५ रूपियाँ मात्र लिइन्छ । एलोपेथिक र आयुर्वेदिक उपचार पद्धतिभन्दा फरक वैकल्पिक चिकित्सा पद्धति अन्तर्गत पर्ने अकुपञ्चर सेवामा सियोले घोचेर उपचार गरिन्छ ।
अकुपञ्चर सेवालाई स्तरीय बनाउन यहाँ आवश्यक उपकरणहरू स्टीमलेटर(भाइवे्रसन) युवी रेजलगायत सियोलाई सफा स्वच्छ बनाउन स्तरीय विधि पनि उपलब्ध भएको जानकारी दिइएको छ । २० शैयाको यस केन्द्रमा हाल बिहान ८ देखि १२ बजेसम्म दैनिक २५ जनाले उपचार सेवा पाइरहेका छन् ।
केन्द्रमा कार्यरत अकुपञ्चरिष्ट हर्षमान महर्जनले अकुपञ्चरका लागि आवश्यक सबै उपकरण तथा शैया उपलब्ध भए पनि जनशक्ति अभावका कारण थोरै विरामीलाई मात्र उपचार सेवा प्रदान गर्न सकिएको जानकारी दिनुभयो ।
बीस वर्षदेखि टहरा जस्तै दुई कोठामा सेवा दिइरहेको र वर्षात्मा पानी चुहिने समस्याका कारण सियोले घोचिराखेको विरामीलाई पानीबाट जोगाउनै धौ–धौ परेको दुखेसो पनि उहाँले पोख्नुभयो ।
केन्द्रमा हाल उहाँ र एक कार्यालय सहयोगी मात्र कार्यरत हुनुहुन्छ । कम्तीमा चारजना अकुपञ्चरिष्ट भए दिनमा सय जना विरामीको उपचार गर्न सकिने उहाँको भनाइ छ ।
अकुपञ्चर विधिबाट प्यारालाइसिस, मुख बाङ्गिने, टाउको दुख्ने, पिनास, माइग्रेन, अनिद्रा, नसा, हाडजोर्नी, वाथ, ढाड, साइटिका दुख्ने, नपुंसकता, शीघ्र स्खलन, आँखासम्बन्धी समस्याको उपचार गर्न सकिने उहाँले जानकारी दिनुभयो । साथै कान कराउने, अपच, कब्जियत ग्याष्ट्रिकको पनि उपचार गरिन्छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्